०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए | Khabarhub Khabarhub

०८४ मा एक्लै भिड्ने घोषणा गरेका तीन दलले स्ववियुमै खुट्टा कमाए

सत्ता पक्ष र प्रतिपक्ष दुवैको छासमिसे गठजोड


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा भ्रातृ संगठनहरू धमाधम तालमेल गरिरहेका छन् ।

‘मिनी निर्वाचन’का रुपमा लिइने त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । त्यसका लागि सत्तारुढ दुई ठूला दल र प्रतिपक्षीहरूले पनि आफूअनुकूल चुनावी तालमेल गरेका छन् ।

स्ववियुको परिणाम आ–आफ्नो पक्षमा पार्न सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) विभिन्न क्याम्पसहरूमा तालमेल गरेर चुनावी मैदानमा होमिएका छन् ।

स्ववियु निर्वाचनमा कतै सत्तारूढ दुई ठूला दलहरू तेस्रो ठूलो दल माओवादीलाई ‘साइज’मा राख्न मिलेका छन् भने कतै कम्युनिस्ट विचार बोकेका एमाले र माओवादी पहिलो ठूलो दललाई हराउन तालमेलमा उत्रिएका छन् ।

स्ववियु चुनाव आफूअनुकूल बनाउन कतै संसदीय निर्वाचनमा जस्तै गरी कांग्रेस र माओवादी तालमेलमा छन् भने कतै एमाले आफैँसँग छुट्टिएको नेकपा (एकीकृत समाजवादी)सँग मिलेको छ ।

सत्ता साझेदार कांग्रेस र एमालेका विद्यार्थी संगठनहरूले सिन्धुपाल्चोकका क्याम्पसनै भाग लगाएका छन् । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले सिन्धुपाल्चोकमा तालमेल गरेर ६–६ क्याम्पस भाग लगाएका हुन् ।

नेविसंघका जिल्ला अध्यक्ष पवन घोरासैनी र अनेरास्ववियु अध्यक्ष रविन वाईबा तामाङबीच सिन्धुपाल्चोकका १२ वटामध्ये ६–६ क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ । उनीहरूबीच सभापति लिने संगठनले सचिव र कोषाध्यक्ष नलिने तथा सदस्यहरू बराबरी बाँडफाँड गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा संगठनको समानुपातिक मतभार नरही निर्वाचनमा सभापति लिइएको संगठनबाट सह–सचिव पदमा र सचिव, कोषाध्यक्ष लिएको संगठनबाट उपाध्यक्ष पदमा मनोनीत गरिने उल्लेख छ ।

सत्ता साझेदार कांग्रेस र एमालेले स्ववियु निर्वाचनका लागि भोजपुरमा पनि चुनावी गठबन्धन गरेका छन् । उनीहरूले भोजपुर बहुमुखी क्याम्पसमा चुनावी गठबन्धन गर्दै अशोककुमार कार्कीलाई अध्यक्षमा अघि सारेका छन् ।

उदयपुरमा एमालेलाई एक्ल्याउन कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेका छन् । उनीहरूले उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा रहेको नारद आदर्श क्याम्पसमा एमालेविरुद्ध चुनावी तालमेल गरेका हुन् ।

नारद आदर्श क्याम्पसमा एमालेनिकट अनेरास्ववियु प्यानलसहित एक्लै चुनावी मैदानमा उत्रिएको छ । अनेरास्ववियुले स्ववियु अध्यक्षमा केवल तामाङलाई उम्मेदवार बनाउँदा तीन दलीय गठबन्धनले अध्यक्षमा अखिल क्रान्तिकारीका ज्ञान्दीप थुलुङलाई अघि सारेको छ । गठबन्धन बनाएर नेविसंघले सचिव र समाजवादी विद्यार्थी युनियनले कोषाध्यक्ष लिएको छ ।

सत्तारूढ एमालेलाई एक्ल्याउन पाँचथरमा सत्ता साझेदार कांग्रेस प्रमुख प्रतिपक्षी माओवादीसँग तालमेल गरेको छ । पाँचथर क्याम्पसका लागि भएको कांग्रेस–माओवादीको गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र संघीय लिम्बूवान राष्ट्रिय मञ्चले सघाएका छन् ।

उता, रोल्पामा सत्तारूढ एमाले र प्रतिपक्षी माओवादीबीचमा चुनावी तालमेल भएको छ । उनीहरूले कांग्रेसलाई स्ववियु निर्वाचनमा पराजित गर्न रोल्पाका चार क्याम्पसमा तालमेल गरेका हुन् ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सनिदेवल बुढामगरले हस्ताक्षर गरेको सहमति पत्रमा एक क्याम्पसमा अनेरास्ववियुले र बाँकी तीनमा अखिल क्रान्तिकारीले नेतृत्व गर्ने उल्लेख छ ।

सहमतिअनुसार रोल्पाको नव नेपाल क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिएको छ । अखिल क्रान्तिकारीले जलजला, रोल्पा नमुना र सहिद स्मृति क्याम्पसको नेतृत्व पाएको छ ।

दलहरूले स्ववियु निर्वाचनका लागि काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसहरूमा पनि चुनावी तालमेल गरेका छन् । उनीहरूले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), भक्तपुर बहुमुखी क्याम्पस, त्रिचन्द्र क्याम्पस र जनप्रशासन क्याम्पसमा आफूअनुकूल तालमेल गरेका हुन् ।

आरआरमा स्ववियु निर्वाचनका लागि सत्ता साझेदार एमालेले आफैँसँग छुट्टिएर गएको समूहले खोलेको दल एकीकृत समाजवादीसँग तालमेल गरेको छ । यहाँ कांग्रेस र माओवादीले एक्लाएक्लै विद्यार्थीहरूलाई चुनावी मैदानमा उतारेका छन् ।

भक्तपुर र जनप्रशासनमा कांग्रेस र माओवादी मिलेका छन् । सानोठिमीस्थित भक्तपुर बहुमुखी क्याम्पस र काठमाडौंको बल्खुस्थित जनप्रशासन क्याम्पसमा कांग्रेसले सचिव आफूसँग राखेर माओवादीलाई अध्यक्ष दिएर चुनावी तालमेल गरेको हो ।

कांग्रेसनिकट नेविसंघको दबदबा रहेको त्रिचन्द्रमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिँदा विभिन्न ७ दलहरूले गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् । यहाँ नेविसंघले श्रीधर श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

तर, नेविसंघकै असन्तुष्ट पक्षले त्रिचन्द्रमा ‘बागी’ उम्मेदबारी दिएका छन् । नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टका अनुसार त्रिचन्द्रमा गोविन्द कोइराला, विवेक बानियाँ र सागर न्यौपानेले ‘बागी’ उम्मेदवारी दिएका हुन् ।

सत्तारूढ र प्रतिपक्षमा रहेका दलनिकट विद्यार्थी संगठनले आफूअनुकूल चुनावी तालमेल गरे पनि केन्द्रबाट कुनै निर्देशन नदिइएको प्रतिक्रिया दिएका छन् । एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्ववियु निर्वाचनका लागि केन्द्रले कुनै गठबन्धन नगरेको बताए ।

‘विद्यार्थी र क्यापसहरूले स्वविवेक प्रयोग गरेका हुन् । हामीले माथिबाट कुनै हस्तक्षेप गरेनौँ,’ अध्यक्ष बडालले खबरहबसँग भने, ‘कहीँ एमाले–कांग्रेस गठबन्धन छ । कहीँ माओवादीसँग पनि भएको छ । कहीँ एमाले र एकीकृत समाजवादीको पनि भएको छ । तल अधिकार दिएको थियो । नेता चुन्ने विद्यार्थीको अधिकार हो नि ।’

कांग्रेसको भ्रातृ संगठन नेविसंघका प्रवक्ता सुरज सेजुवालले विद्यार्थी संगठनहरूका बीचमा चुनावी तालमेल नगर्ने सहमति भए पनि क्याम्पसहरूमा गठबन्धन बनेको बताए ।

‘हामी सबै विद्यार्थी संगठनहरूले कतै पनि गठबन्धन नगर्ने भनेर सहमति गरेको हो । ग्राउन्डमा त्यो लागु भएन,’ उनले खबरहबसँग भने, ‘क्याम्पस–क्याम्पसमा संगठनहरूले आफूअनुकूल गठबन्धन गरेका छन् ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ३९ बजे

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन आवश्यक : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम

नेता र नेतृत्वमाथि सामाजिक सञ्जालमा गाली : नियत कि नियति !

मान्छे हुनुको अर्थ, ऊ जीवित हुनुमात्र होइन । मान्छे हुनु

तीनकुने घटनामा पक्राउ परेकाहरूको बयान : लहैलहैमा आन्दोलनमा लागियो

काठमाडौं – राजावादीको आन्दोलनमा समातिएका अधिकांशले लहैलहैमा आन्दोलनमा लागेको बयान

पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे

पाटन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

दमास्कस- संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार