सुर्खेत– कर्णालीका पादुका, श्रीस्थान, भुर्तिका पञ्चदेवल र सिंजा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्ने गरी पुरातत्त्व विभागले तयारी थालेको छ । विभागको टोलीले दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा पञ्चदेवल र जुम्लाको सिंजा क्षेत्रको अध्ययन गरेर फर्किएपछि उक्त निर्णय गरेको हो ।
टोलीले जुम्लाको हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकाका स्थानीय तथा जनप्रतिनिधिसँग छलफल गरेको थियो । दैलेखको नारायण नगरपालिकामा पनि टोलीले अध्ययन गरेको थियो । त्यस्तै, कर्णालीका अन्य ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमणसमेत गरेको छ ।
कर्णाली प्रदेशलाई भाषा, सभ्यता र संस्कृतिका रूपमा नेपालकै पुरानो थलो मानिन्छ । खस साम्राज्यको विरासत भएकाले उनीहरूको जुम्लाको सिंजा गृष्मकालिन र दैलेखको दुल्लुमा शीतकालीन राज्य रहेको थियो । त्यसै आधारमा यहाँ रहेका सम्पदाहरूलाई पुरातत्त्वले विश्व सम्पदाको सूचीमा राख्ने तयारी थालेको हो ।
दैलेखको दुल्लु र सिंजामा खस राज्यका बेलाका पञ्चकोशी धामहरू, ऐतिहासिक गुम्बाहरू, कीर्तिखम्ब र पञ्चदेवल रहेका छन् । यिनको निर्माण पनि खस राज्यको पालामा नै निर्माण भएको विश्वास गरिन्छ ।
दैलेखको नारायण नगरपालिकाको भुर्तीमा रहेका २५ देवल संरक्षणको लागि पर्खाल निर्माण गरेपनि अन्य काम हुन सकेको छैन । विभागले विश्व सम्पदा सूचीमा राखेर त्यसको अध्ययन गर्ने तयारी थालेको छ । ऐतिहासिक क्षेत्र भएकाले विभागले अध्ययन सूचीमा राखेको अहिले त्यसका विषयमा डमुमेन्टसनको काम भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए ।
‘महानिर्देशकज्यूको नेतृत्वमा अध्यायनका लागि कर्णालीमा भ्रमण गएको थियो,’ उनले भने, ‘त्यहाँका ऐतिहासिक ठाउँ सिंजा र भूर्तीमा पुगेर टोली आएको छ ।’
तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका विभागले सिंजा पुगेर विश्व सम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन र स्थानीयसँग छलफल गरेको प्रवक्ता कुँवरले जानकारी दिए ।
‘सिंजा सभ्यताको विगत, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्त्व विभागको टोलीले स्थानीयसँग छलफल गरेको थियो,’ उनले भने, ‘सिंजालाई विश्व सम्पदा सूचीमा राख्ने विषयमा सबै एक भएको देखिन्छ । तर आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्न जरुरी छ ।’
विभागले सिंजालाई विश्व सम्पदा सूचीमा समेट्न काम अघि बढाइसकेको छ, तर विकासका नाममा धमाधम सम्पदा मासिने कामले परम्परागत संस्कृतिको चिन्ह नै भेट्टाउन मुस्किल परिरहेको प्रवक्ता कुँवरले बताए ।
भुर्तीका पञ्चदेवलको इतिहास
दैलेखको नारायण नगरपालिका–३ भुर्तिमा रहेका देवलहरू चौधौँ-पन्ध्रौँ शताब्दीतिर सिंजाका खस मल्ल राज्यकालका समयमा निर्माण भएको अनुमान गर्ने गरिएको छ । देवलहरुमध्ये एक देवलमा अभिलेख रहेको भनिन्छ । स्थानीयका अनुसार केही वर्ष पहिलेसम्म पनि यस ठाउँमा २५ वटा देवलहरू रहेकोमा हाल २२ वटा देवल रहेका छन् ।
मोहनप्रसाद खनालले प्रकाशन गरेको अभिलेख खस सिंजा साम्राज्यका अभिलेखहरूमा देखिने ‘ॐ मणि पद्मे हुँ’ जस्ता शब्दहरू यी देवलमा रहेको अभिलेखमा कोरिएको भनेका छन् । उनकै अनुसार यी देवलको निर्माण विसं.१४६५ मा भएको बताएका छन् ।
उत्साहित स्थानीय
सिंजालाई विश्व सम्पदा सूचीमा राख्न पटक–पटक विभागमा पहल भएको जुम्ला सिंजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालले बताए ।
‘सबै नेपालीको पहिचानको क्षेत्र सिंजा सभ्यता हो,’ उनले भने,‘विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न छिटो अघि बढाउन आग्रह गरिएको छ ।’
सिंजाका सम्पदा संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको बेला पुरातत्त्व विभागले देखाएको चासोप्रति सिंजाबासी उत्साहित भएको धितालले बताए ।
प्रतिक्रिया