पूर्वराजालाई एमालेको सुझाव - पार्टी खोलेर संसदमा आउन् | Khabarhub Khabarhub

पूर्वराजालाई एमालेको सुझाव – पार्टी खोलेर संसदमा आउन्

गणतन्त्रवादी दलसँग सम्वाद थाल्न प्रधानमन्त्रीलाई एमालेको निर्देशन



काठमाडौं– सत्तारुढ नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाजस्तै दल खोलेर चुनावमा भाग लिन र जितेर संसदमा आउन सुझाव दिएको छ । पूर्वराजाले पार्टी खोलेर संसदमा आउने हो भने स्वागत गर्ने एमालेले जनाएको छ ।

साथै, राजावादी शक्तिले संविधानविपरीत ढंगबाट सक्रियता बढाएको भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रवादी शक्तिहरुसँग सम्वाद अगाडि बढाउने भएका छन् ।

सोमबार बसेको सत्तारुढ नेकपा एमालेको सचिवालय बैठकले सत्तापक्ष र प्रतिपक्ष सबै दलका नेताहरूसँग संवाद बढाएर उचित निकास खोज्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको थियो । बैठकले ज्ञानेन्द्र शाहलाई संविधानअनुसार राजनीतिमा आए स्वागत गरिने निष्कर्ष निकालेको थियो ।

सोामबारको सचिवालय बैठकमा सहभागी एमाले नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरु एक भएर अगाडि बढ्नुपर्ने परिस्थिति आएको निष्कर्षसहित सबैसँग संवाद गर्न अध्त्तयक्ष ओलीलाई सुझाव दिएको एमाले सचिवालयका एक नेताको भनाइ छ ।

राजावादीको गतिविधिबारे कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता पक्षका अन्य नेताहरूसँग पनि छलफल गर्न प्रधानमन्त्री ओलीलाई एमाले बैठकले सुझाव दिएको छ ।

बाह्य शक्तिका कारण गणतन्त्र संकटमा पर्ने खतरा बढेको ओलीले सचिवालय बैठकमा बताएपछि सबै दलका नेतासँग संवाद गरेर राजावादी शक्तिको प्रतिवाद गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘मैले बुझेअनुसार राजावादीहरुलाई अहिले सडक निस्कन सक्ने वातावरण तयार पार्न बाह्य शक्ति पनि खेलेको सूचना आएको छ । यसो हुँदा हामी यसको प्रतिवाद गर्न तयार हुनुपर्छ । म र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि कुरा भएको छ । ज्ञानेन्द्रले ठूलो रकम खर्च गरेर सडकमा मान्छे उतारेका हुन् । उनी राजा हुने प्रयास गरिरहेका छन् तर हामी सचेत हुनुपर्छ । राजा फर्काउने तर्क बेमौसमको फल भए पनि यसलाई बढावा दिन मिल्दैन ।’

सचिवालय बैठकमा सहभागी नेताहरूले सडकमा अराजक गतिविधि बढ्ने संकेत गर्दै गणतन्त्र पक्षधर शक्ति एक हुन तयार हुनुपर्ने सुझाव दिएका थिए । यसका लागि सोमबारदेखि नै प्रतिपक्षीसँग संवाद अगाडि बढाउन सचिवालयका नेताले प्रधानमन्त्री ओलीलाई सुझाए ।

नारा जुलुस गर्न र शान्तिपूर्ण आन्दोलन गर्न पाउनु सबै नागरिकको अधिकार भएको एमाले बैठकमा चर्चा चलेको थियो । तर, राज्यले दिएको सेवा सुविधाको दुरुपयोग पूर्वराजाले गर्न खोजे सरकारले सोच्नुपर्ने केही एमाले नेताहरुको भनाइ थियो ।
पूर्वराजाले आफ्नो ठेगानमा नबसेर अशान्ति फैलाउन खोजेको अवस्थामा कानुनी उपचारसमेत खोज्नुपर्ने केही नेताको भनाइ थियो ।

यसैबीच, प्रधानमन्त्री ओलीको सचिवालयले अहिलेसम्म विपक्षी दलका नेतासँग छलफल नभएको बताएको छ । ‘अहिलेसम्म विपक्षी दलका नेताहरूसँग छलफल गर्न पाउनुभएको छैन । तर, सचिवालय बैठकले पनि सुझाव दिएको छ । प्रधानमन्त्रीको पनि तयारी छ ।’ ओलीको सचिवालय स्रोतले भन्यो, ‘उहाँले सबै दलका नेतासँग छलफल गर्नुहुन्छ । सरकारको काम र सडक गतिविधिका विषयमा पनि छलफल हुन्छ । सत्ता पक्षका नेता देउवासँग र अन्य नेताहरू अरू अध्यक्षसँग छलफल भइरहेको छ ।’

सचिवालयका ती नेताले थपे, ‘लोकतन्त्रमा बोल्न र विरोध गर्न पाइन्छ । तर, व्यवस्था नै हटाउने कुरामा सहमत हुँदैन ।’

यो पनि पढ्नुहोस् :

एकैदिन सडकमा निस्किँदै राजावादी र कम्युनिस्ट, के गर्ला सरकार ?

राजावादीले मोर्चा कस्दा झस्किए गणतन्त्रवादी, नसुध्रिए अराजकता र संकटतिर जान सक्छ देश

राष्ट्रिय सहमतिको सरकारको सम्भावना छैन

प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गर्ने कुरा भए पनि राष्ट्रिय सहमतिको सम्भावना नभएको एमाले बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले पनि सरकारमा कुनै अप्ठ्यारो नभएकाले सहमतिको सरकार जरुरी नपरेको बताएका थिए । ‘मैले देउवाजीसँग पनि कुरा गरिरहेको छु । सहमतिको सरकारको सम्भावना उहाँले पनि महसुस गर्नुभएको छैन । मैले पनि त्यो सम्भावना देखेको छैन ।’ ओलीले भनेका थिए, ‘देशमा केही भएको छैन भनेर जसरी खेलिरहेका छन्, उनीहरूले नै सहमतिको सरकार बनाऊ भन्दै आए भने कुरा गम्भीर हुन्छ । पूर्वराजाले यति जुलुस गर्दा नै सहमति गर्नुपर्ने छैन । तर, उनले थप परिचालन गरे त हाम्रा जनता पनि निकाल्नुपर्ने हुन्छ ।’

बैठकमा एमालेले सञ्चालन गरिरहेको ‘जरा अभियान’लाई उपयोग गर्दै आवश्यक परे जनता सडकमा आउन तयार रहने सर्कुलर जारी गर्नुपर्ने नेताहरुले बताएका थिए । एमालेले सञ्चालन गरेको जरा अभियानमा टोल–टोलमा गएर गणतन्त्रलाई बचाउने गरी तयार रहन एमाले सचिवालयले सर्कुलरसमेत गरिसकेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गर्दै आवश्यक परे जनतालाई जागृत गराउने काम एमालेले गर्ने बताए । उनले राष्ट्रिय सहमतिको सरकारबारे कुनै छलफल र सम्भावना नभएको पनि प्रस्ट पारे । सरकार फेरबदको सम्भावना एक प्रतिशत पनि नभएको उनको तर्क छ ।

सरकारले पनि सच्चिनुपर्ने

एमाले बैठकमा सरकारले पनि आफ्ना गतिविधि र अभिव्यक्ति सच्चाउनुपर्ने बेला आएको नेताहरूले बताए । मन्त्रीहरूको काम राम्रो नभए फेर्नुपर्ने र तथ्यभन्दा बाहिर गएर बोल्ने विवादास्पद मन्त्रीलाई हटाएर जनमैत्री काम गर्नुपर्ने छलफल चलेको स्रोतले बतायो ।

नेताहरूले आफ्नो धारणा राखेपछि अध्यक्ष ओलीले आफ्नो धारणा राखेका थिए । बैठकमा जनताका समस्या सम्बोधन गर्ने र विषयवस्तुको छनोट पनि उसै गरी गर्नुपर्ने र विवादास्पद निर्णयहरू नगर्न नेताहरूले सुझाव दिए ।

‘सरकारका कमी कमजोरी छन् । तर, यसको तात्पर्य व्यवस्था पल्टाउने हैन । जनता आफैँ मालिक हुन्’ एमालेका एक शीर्ष नेताले खबरहबसँग भने, ‘सरकारप्रति जनताको असन्तुष्टि रहेछ, त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने पाठ दिएको छ । यो कुरा हिजो हामीले प्रधानमन्त्रीसँग पनि राखेका छौँ ।’

जवाफमा ओलीले सुझावलाई सत्ता गठबन्धनको बैठकमा राख्ने र आफ्ना कमी कमजोरी पनि सुधार गर्ने बचन दिएका थिए ।’
‘जे गरे पनि केही भएको छैन देशमा भनेर हल्ला फैलाइएको छ । गठबन्धन सरकारका कारण केही जनअपेक्षा पूरा गर्न सकिएन होला तर केही भएको छैन भनेर सामाजिक सञ्जाल र स्वार्थमा लागेका समूहले दिएको अभिव्यक्तिमा यहाँहरूले पनि प्रतिकार गर्नुपर्छ’, ओलीले भनेका थिए, ‘म देउवाजीसँग पनि बसेर छलफल गर्छु, अन्य सत्ताधारी साथीहरूको पनि प्रतिक्रिया लिन्छु । मन्त्रीलाई पनि यसबारे जानकारी गराउँछु । जनतालाई कुभलो र नोक्सान हुने कुरा गर्ने छैन ।’

बैठकमा सरकार अगाडि बढ्न कठिनाइ भएको भए सत्ता गठबन्धनमा छलफल गरेर गाँठो फुकाउनुपर्ने नेताहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिए । जवाफमा ओलीले सरकार सुविधाजनक स्थितिमै रहेको तर केही मन्त्रीहरू फेर्नुपर्ने कुरामा अरूले पनि सुझाव दिएको बताए ।

प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘मेरा पनि कमीकमजोरी भए सुधार हुन्छ नै, मलाई लागेको मन्त्रीहरूको पनि केही पर्फर्मेन्स पुगेन कि ? सत्ता गठबन्धनको बैठकमा पनि म यो कुरा राखौंला । तर, सरकारले केही गरेन भन्ने भाष्य चिर्न सक्नुपर्ने रहेछ । गर्न त गरिएकै हो । मैले मात्र चाहेर सबै हुँदैन । अर्कोले पनि मान्नुपर्छ ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि प्रधानमन्त्री ओलीले यसबारे कुरा गरेको एक मन्त्रीको भनाइ छ । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले जनताका समस्या सम्बोधन गर्न र सुरु भएका कामको पूर्णता दिन दिनुपर्ने बताएका थिए ।

‘पूर्वराजा ०८४ मा निर्वाचन लडेर आउन्’

विपक्षी दलका नेता प्रचण्डले पनि पूर्वराजालाई पार्टी खोलेर बस्न सुझाव दिएका थिए । एमाले बैठकले पनि पूर्वराजाले पार्टी खोलेर ०८४ को निर्वाचनपछि सदन आउन सुझाव दिएको छ ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचन जितेर पूर्वराजा सदन आए बाटो खुल्ला भएको तर अहिलेको सडकको डकराव बेमौसमको बाजा भएको बताउँछन् । ‘बैठकमा पनि यही कुरा भएको छ, पूर्वराजालाई पार्टी खोलेर राजनीतिमा आए स्वागत छ तर अराजक गतिविधि गरेर भीड मच्चाएर अशान्ति ल्याउन पाइँदैन । बेमौसमको बाजा बजाएर पदीय मर्यादाको धज्जी नउडाइयोस् ।’

राजसंस्थाको वकालत गर्ने राप्रपासमेत निर्वाचनमा भाग लिएर सदनमा उपस्थित भएको उदाहरण दिँदै ज्ञवालीले पूर्वराजा ज्ञानेन्द्रलाई पनि दल खोलेर जनतामा माझ जान कसैले नरोकेको एमाले बैठकको ठहर छ ।

यो पनि-
ज्ञानेन्द्र र नवराजको सम्बन्ध बिगार्ने ओमेगा घडीकाण्ड !

कमल थापा र राजेन्द्र लिङदेनको ‘कन्ट्रोभर्सी’

राप्रपा नेतालाई दुर्गा प्रसाईँको चुनौती– म तपाईहरुको गोठालो होइन

ज्ञानेन्द्रले पढाएको प्रजातन्त्रको पाठ – सोह्र दुना आठ !

ज्ञानेन्द्रको ‘भड्किलो’ प्रश्न, ओलीको ‘आक्रामक’ जवाफ !

ज्ञानेन्द्र र प्रचण्ड : हुन नसकेको त्यो भेट !

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ५ : ३७ बजे

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको

एकीकृत समाजवादीबाट सबै कमिटीका बैठक आह्वान

काठमाडौं– नेकपा एकीकृत समाजवादीले समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन

ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि जाने

काठमाडौं– पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा

कांग्रेस प्रमुख सचेतकको कस्तो सोच, के यौन बाहेक आम्दानीका सबै ढोका बन्द भएका हुन् ?

आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा पर्यटक भित्र्याउन

उपत्यकाका आङ्गिक क्याम्पसमा कसले कहाँ जिते ?

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको