विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास « Khabarhub

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास



काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ । सुरुवाती अवस्थामा जारी पदाधिकारीको मतगणनामा विशेष महाधिवेशन पक्षधर नेताहरुले अग्रता लिएका छन् । गत पुसमा विशेष महाधिवेशन गरेर सभापति बनेका गगन थापा पुनः सभापतिमा विजयी भए । उनलाई श्यामकृष्ण खड्कीले चुनौती दिएका थिए । खड्की कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट नेता मानिन्छन् ।

तर खड्की र गगनको मतान्तरको हिसाब गर्ने हो भने आकाश र पतालको फरक देखिन्छ । गगनले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्कीले जम्मा ३७५ मत मात्रै ल्याए । ७ हजार १३ मत खसेकोमा केबल ५४ वटा बदर भएको थियो । महाधिवेशन प्रतिनिधिले रूपान्तरित र पुस्तान्तरित भएको कांग्रेसलाई विश्वास गरेको तर पूर्वसभापति देउवा र डा. शेखर कोइराला निकट नेताहरुलाई विश्वास नगरेको देखियो ।

गत पुष अन्तिम साता विशेष महाधिवेशन गर्दा पनि प्रतिनिधिले थापालाई नै सर्वसम्मत सभापति बनाएका थिए । महाधिवेशनको मुखैमा विधान संशोधन गरेर विश्वप्रकाश शर्माकै लागि वरिष्ठ उपसभापति पद सिर्जना गरिएको आरोप पनि गगनमाथि लागेको छ ।

वरिष्ठ उपसभापतिमा कुनै पनि नेताको उम्मेदवारी नपरेपछि शर्मा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । यसबारे प्रश्न गर्दा पूर्वसभापति देउवा पक्षमा लामो समय काम गरेर गत असोज १ गते संस्थापन कांग्रेसमा मिसिएका मीन विश्वकर्मा खबरहबसँग खुल्न चाहेनन् । ‘त्यसो पनि अहिले नभनिहालौँ, यो कुरा निर्वाचनपछि गरौँला । अहिले हामीलाई यो सक्नदिनुस् । परिणाम आओस् ।’ उनले भने ।

महिला उपसभापतिमा पनि पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् । सुरुवातदेखि नै गगन-विश्वको बलियो गठजोडका कारण पुसमा भएको विशेष महाधिवेशनलाई अहिलेसम्म देउवा पक्षले साथ दिएका छैनन् । देउवा पक्षीय नेताहरु अहिले आफ्नै महाधिवेशन गर्ने तयारीमा लागेका छन् ।

विशेष महाधिवेशन पक्षधर बलिया

गत असोज १ गते देउवा पक्षका ५० भन्दा धेरै नेताहरु गगन थापा पक्षमा सामेल हुन पार्टी कार्यालय सानेपा पुगेका थिए । देउवा पक्षले मङ्सिरमा छुट्टै महाधिवेशन गर्न लाग्दा उनीहरु पार्टी एकताका लागि भन्दै गगन थापासँग समक्ष मिसिन गएका थिए । असोज ३ गतेबाट वडा अधिवेशन सुरु भएपछि कांग्रेसले १८ गतेबाट काठमाडौँमा महाधिवेशन गर्‍यो ।

महाधिवेशनको नतिजामा विशेष महाधिवेशन पक्षधर नेताहरु अगाडि छन् । यस्तो नतिजाको अपेक्षित नै रहेको नेताहरु बताउँछन् । यस्तै नतिजा आउने अपेक्षा रहेकाले पदाधिकारीमा सहमति जुटाउन कोसिस पनि भएको थियो । तर, सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियालाई साथ दिएको नेताहरू बताउँछन् ।

मतगणना जारी रहँदा समावेशी उपसभापतिमा जीवन परियार र अर्बपति उद्यमी विनोद चौधरीबीच प्रतिस्पर्धा छ । दुई नेताबीच कडा टक्कर चलिरहँदा अरु उम्मेदवार धेरै पछि देखिन्छन् । समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरिरहेकी एकमात्र महिला प्रतिस्पर्धी सीता गुरुङ तेस्रो स्थानमा छिन् । विनोद चौधरीले विशेष महाधिवेशन पछि नै गगनलाई साथ दिएका थिए ।

खुला उपसभापतिका लागि भइरहेको प्रतिस्पर्धामा सुरुवातदेखि नै चन्द्र भण्डारीको अग्रता छ । दोस्रो स्थानमा मधु आचार्य रहँदा तेस्रो स्थानमा सुरेन्द्रराज पाण्डे छन् । महिला महामन्त्रीमा डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’ बीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

दुई जना खुला महामन्त्रीका लागि भइरहेको प्रतिस्पर्धामा प्रदिप पौडेल निकै अगाडि देखिन्छन् । दोस्रो स्थानमा विशेष महाधिवेशन पक्षधर नेता उदयशमशेर राणा र लुम्बिनी प्रदेशका पूर्वकांग्रेस सभापति अमरसिंह पुनबीच प्रतिस्पर्धा छ । विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु घिमिरे भने निकै पछि देखिन्छन् । डा. सुनिल शर्मा चौथो स्थानमा छन् । डा. शेखर कोइराला निकट नेता मानिने शर्मा कांग्रेस एक बनाउनका लागि आफूले उम्मेदवारी दिएकाले हार-जितसँग कुनै समस्या नरहेको महामन्त्री पदका उम्मेदवार सुनिल शर्मा बताउँछन् ।

सुरुमै थियो जानकारी

महाधिवेशनमा मतदान हुनेबेला खबरहबसँगको कुराकानीमा असोज १ गते सानेपा पुगेका नेता मीन विश्वकर्माले पदाधिकारीमा सुरुमै सहमति भएपनि आकांक्षी बढेपछि बिथोलिएको जानकारी दिएका थिए । उनले विशेष महाधिवेशन पक्षधर नेताहरु बलियो भएका कारण पदाधिकारीमा मोटामोटी सहमति भएपनि केही नेता तयार नभएपछि निर्वाचनको प्रक्रियामा गएको जानकारी दिए ।

‘स्वभाविक हिसाबले विशेष महाधिवेशन पक्षधर साथीहरू भन्दा चुनदेवीबाट पछि सानेपा कांग्रेसमा आएका साथीहरु निर्वाचनबाट अलि असुरक्षित हुनुहुन्छ । किनभने उहाँहरु सदस्यता वितरणदेखि प्रतिनिधि छनोटमा पनि धेरै संलग्न हुनुहुन्थेन ।’ विश्वकर्माले भने, ‘तर कांग्रेसका आदरणीय सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सबैलाई मिलाएर लानुहुन्छ भन्नेमा हामी ढुक्क छौँ । हामी हार जित भन्दा पनि कांग्रेस एक बनाउने अभियानमा जोडिएका हौँ ।’

राजनीतिक विश्लेषक सञ्जीव हुमागाईं पनि प्रारम्भिक चरणमा विशेष महाधिवेशन पक्षधर नेताहरू बलियो देखिएको र नतिजा पनि उस्तै आउने विश्लेषण गर्छन् । उनी राजनीतिक र व्यक्तिको मनोवैज्ञानिक प्रभावका कारण ती नेताहरूलाई बढी प्रतिनिधिको विश्वास रहेको जानकारी दिन्छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : ०३ बजे

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको