पुल्चोकका स्ववियु सभापति भन्छन्– राजनीतिकरण तोडेँ, कुनै दलमा जान्नँ | Khabarhub Khabarhub

पुल्चोकका स्ववियु सभापति भन्छन्– राजनीतिकरण तोडेँ, कुनै दलमा जान्नँ



काठमाडौं– ठूला दललाई पछार्दै २१ वर्षीय स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापति बनेका छन् ।

सिनामंगलका उनले देशका उत्कृष्ट इन्जिनियर उत्पादन गर्ने क्याम्पसमा स्वतन्त्र उम्मेदवारका रुपमा पहिलो पटक जित निकालेका हुन् । यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले) निकट र प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनलाई उनले पाखा लगाउन सफल भए । यस जितले धेरै सदस्य भएका विद्यार्थी संगठनको नाराले मात्रै होइन, एउटा व्यक्तिको एजेन्डा पनि स्थापित हुन्छ भन्ने पुष्टि भएको छ ।

मंगलबार सम्पन्न निर्वाचनबाट श्रेष्ठ उनी १ हजार १०२ मतसहित विजयी भए । उनले ०७९ मा पनि स्वतन्त्रबाटै सदस्य जितेका थिए । श्रेष्ठ सिभिल इन्जिनियरिङतर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् ।

उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा एक हजार ६४ मतसहित विजयी भए । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल एक हजार ४२ मतसहित निर्वाचित भए । सभापतितर्फ एमालेनिकट अनेरास्ववियुका विराज अर्यालले ६३९ मत पाउँदा, नेविसंघका ऋषभ गिरीले ४८१ मत ल्याए । तीन हजार ८ सय ७ मतदाता रहेको यहाँ २ हजार ९ सय ७९ मत खस्यो ।

यो क्यापसम्ममा स्नातक बीई, स्नातकोत्तर एमएस्सी र पीएचडीसम्मका विभिन्न कार्यक्रमअन्तगर्त पठनपाठन हुन्छ ।

२०६० सालमा जन्मिएका श्रेष्ठका बुवाआमा दुवै जनस्वास्थ्यकर्मी हुन् । उनका बुवाले भर्खरै सरकारी जागिरबाट अवकाश पाए । श्रेष्ठको परिवारमा चार सदस्य छन् । उनका दाजु विदेशमा पढिरहेका छन् । हालसम्म कोही राजनीतिमा लागेका छैनन् । श्रेष्ठ पनि राजनीतिमै होमिने या लोकसेवा भिड्ने दोधारमा छन् । अध्ययन सकेर सरकारी जागिरे हुने योजना बनाएका उनी विद्यार्थी नेता भए ।

यही सन्दर्भमा स्ववियु सभापतिमा निर्वाचित श्रेष्ठसँग नयाँ जिम्मेवारी, विद्यार्थीको समस्या, भावी योजना र जितको पृष्ठभूमिबारे छोटो कुराकानी गरेका छौँ ।

बधाई छ यहाँलाई, इन्जिनियर हुनुपर्ने मान्छे कसरी राजनीतिमा आउनुभयो ?

धन्यवाद, खास राजनीति गर्ने मन थिएन । तर विद्यार्थी सङ्गठनमा राजनीतिकरण गर्नु हुँदैन भन्ने सन्देश दिन खोजेको हो । सिभिल इन्जिनियर पढिरहेको हुनाले स्वतन्त्र रूपमा एउटा सन्देश पनि दिएको हो । राजनीतिकरण तोडेको छु । यसमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको माया, विश्वास, आशा र साथ छ ।

कलेजमा स्ववियु चाहिने रहेछ होइन ?

चाहिन्छ, तर दलको झण्डा बोक्ने होइन । विद्यार्थीको समस्या बोक्नेस्ववियु चाहिन्छ ।

यहाँले विद्यालय शिक्षा कहाँबाट लिनुभएको हो ?

सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा पढेँ । ४ कक्षाबाटै होस्टल बसेँ। १० पास भएपछि ११, १२ मा विज्ञान पढेँ । अहिले पुल्चोक क्यापसको औसत विद्यार्थीका रुपमा छु ।

यसअघि पनि स्वतन्त्रबाट सदस्य भएको मान्छे, यो पटक त सभापति नै हुनुभयो । राजनीतिमा पहिलैबाटै चासो थियो ?

म पहिलो वर्ष पढ्दै गर्दा राजनीतिमा आउँछु भन्ने सोचमा थिइनँ । त्यसकारण राजनीतिक दल र भ्रातृ सङ्गठनमा आबद्ध भएको थिइनँ । तर, राजनीतिक संगठन काम नजिकबाट नियालिरहेको थिएँ । ०७९ मा जति पनि आए, उनीहरूले विद्यार्थीका लागि बोल्ने भेटिनँ । पार्टीको मात्रै कुरा गर्ने भेटिए । म जस्ता स्वतन्त्र प्रतिनिधिलाई काम लाग्ने उम्मेदवार भेटिएनन् । त्यसपछि साथीहरूसँग सल्लाह गरेर उठेँ । भाग्यवश, साथ पाएर सदस्य जितेँ । अहिले चौथो वर्षमा आउँदै गर्दा प्रभाव पारेछु भन्ने भयो । त्यसपछि भ्रातृ संगठनको कुरा आयो । बहसमा निष्कर्ष जे आए पनि मेरो प्रश्न जोडदार रुपमा विद्यार्थीको उठाउने स्ववियु चाहिन्छ भन्ने कुराले उम्मेदवारी दिएँ । साथीहरूले विश्वास गर्नुभयो ।

उसोभए विद्यार्थीले दलको झोला बोकेर हिँड्नेभन्दा स्वतन्त्र हुनुपर्छ भन्ने यहाँको धारणा ?

स्वतन्त्र मात्रै हुनुपर्छ भन्ने होइन । तर दलको हस्तक्षेप हुनुहुँदैन भन्ने हो । केन्द्रबाट टिकट र नेतानिकटलाई आए उनीहरूकै स्वर्थमा काम हुन्छ । त्यसले विद्यार्थीको आवाज बोक्दैन । नेताको आवाज बोक्छ । पर्दा निष्पक्ष ढंगले नेताविरुद्धसमेत उभिँदै विद्यार्थीको हक र हितमा बोल्नुपर्छ भन्ने मान्यतामा छु ।

यहाँले यसो भन्दै गर्दा दलका उम्मेदवार पनि बलिया थिए होला । स्वतन्त्र उठ्दै गर्दा चुनौती धेरै थियो होला होइन ?

मैले सदस्य लड्दा स्वतन्त्र संस्था नवलपरासी युवा समाजसँग आबद्ध भएर कार्यक्रम गरेको थिएँ । आफ्नो कक्षा र अन्य कक्षाका साथीहरूसँग पनि नजिक भएर काम गरेँ । यो निर्वाचनमा त्यही कामले धेरै विद्यार्थी चिन्ने अवसर मिल्यो । मेरो उद्देश्य उम्मेदवारी दिने मात्रै थियो । जित्ने–नजित्ने विद्यार्थीको हातमा थियो । तर समस्या भएन । मलाई कसैको धम्की आएन । उम्मेदवारी फिर्ता गर पनि भनेनन् । मलाई सबै विद्यार्थीको साथ मिल्यो ।

जित्नुभएको छ, क्यापसमा के–के समस्या देख्नुभयो ? कसरी समाधान गर्न गर्नुहुन्छ ?

कुनै पनि राजनीतिक व्यक्तिले आफ्ना उद्देश्यलाई पूरा गर्ने विधि छन् । मैले चाहिँ मेरो घोषणापत्रका आधारमा काम गर्छु । घोषणापत्रलाई तीन भागमा विभाजन गरेर १६ बुँदे माग राखेको छु ।

स्व : स्वच्छ शैक्षिकता
वि : विश्वसनीयता
यु : युग निर्माण भनेर राखेको छु

स्वच्छ शैक्षिकतामा एकेडेमीलाई कसरी राम्रो बनाउने भन्ने कुरा यसमा पर्छ । क्याम्पसमा मैले विभिन्न कार्यक्रम गर्दै आएको छु ।

अर्को कुरा विश्वसनीयता हो । यसमा हामीले विद्यार्थी र विद्यार्थी प्रतिनिधिबीच ग्याप देखिन्छ । विद्यार्थीले आफ्ना आवाज प्रतिनिधिसँग राम्रोसँग राख्नेगरी छलफल गर्न आवश्यक छ ।

युग निर्माणमा यो क्यापसले ठूलो आशा राखेको छ । त्यो हुँदै गर्दा पुल्चोक क्यापसमा मात्रै होइन, सबैतिर युग निमार्णमा युवाको भूमिका कस्तो हुन्छ भन्ने कुराहरू राखेका छौँ । युग निमार्णका लागि देखेका कुरा घोषणापत्रमा राखिएको छ ।

पुल्चोक इन्जिनियरिङ क्यापसमा पढ्नकै लागि विद्यार्थीले पार्टीको पावर र नेता लगाउनुपर्ने अवस्था छ कि छैन ?

विद्यार्थीले पुल्चोक क्यापसमा पढ्न राजनीतिक दल लगाउनुपर्छ जस्तो लाग्दैन । केही हल्ला आएका छन् । तर, परिस्थिति त्यस्तो होइन । त्यो कुराविरुद्ध लाग्नुपर्छ । मैले आफ्नो नाम निकाल्दा र अन्य विद्यार्थीको नाम निकाल्दा पनि भोगेको छैन । र, यो कुराविरुद्ध निरन्तर लागिएको छ । मैले यस्तो केही पाए, पुष्टि भए प्रतिवाद गर्छु ।

उसोभए पुल्चोक क्यापसमा बिना सोर्सफोर्स जनताका छोराछोरीले पढ्न पाएका छन् ?

हामो क्यापसमा कुनै विद्यार्थी आउँदा प्रतिस्पर्धा गरेको बुझेको छु । नाम निस्किँदा निस्कँदै नाम काटिएर दोस्रो व्यक्ति आएको पाएको छैन । यो संस्कार बस्न दिने छैन । यदि यस्तो भए कानुनअनुसार नै उपचार खोज्ने बाटो बनाउँछु । जेहेनदार र आर्थिक अभाव भएका विद्यार्थीका लागि राज्य र स्ववायुका तर्फबाट हुने सहयोगमा कमी आउन दिने छैन । कलेजमा राजनीतिकरण हुन दिने छैन । निष्पक्ष र स्वच्छ वातावरण बनाइने छ ।

यहाँले यसो भनिरहँदा बाहिर तपाईं रास्वपातिर लागेर नेविसंघको असन्तुष्ट पक्षको मतबाट विजयी हुनुभयो भन्छन् नि ?

हो, मैले पनि सुनेको थिएँ । हाँस उठ्यो मलाई, कसैले नेविसंघ भन्छन् । कसैले अनेरास्ववियु, कसैले अखिल क्रान्तिकारी, कसैले रास्वपा पनि । तर म कसैको होइन । मलाई पुष्टि गरेर दियुन् । म कुनै दलसँग छैन । विश्वास पनि गर्दिनँ । बाहिर आएका सबै हल्ला हुन् । म कसैनिकट छैन । कतैतिर जाने सोच पनि छैन ।

तर रास्वपा नेताले तपाईंलाई सहयोग गरेका थियौँ भन्छन् नि ?

त्यो, दाबी मात्र हो । पुष्टि गरेर देखाउन अनुरोध गर्छु । मैले पुल्चोक क्यापसमा दुई वर्ष काम गरेँ । त्यहाँका विद्यार्थीलाई सोधे हुन्छ । कसैले माननीय सुमना श्रेष्ठसँग पनि जोडेर हेर्छन् । उहाँप्रति मेरो सम्मान छ । सुमना मान्यसँग भेट पनि भएको छैन । तर उहाँको मान्छे हो भनेर हावा फैलाइयो ।

भावी दिनमा राजनीतिमा जाने, दलसँग जोडिने सम्भावना छ ?

म दललाई रोज्ने भए स्ववियु सदस्य हुँदा जाने थिएँ । मैले कहिले त्यो गरिनँ । अब अहिलेलाई कुनै दलसँग आबद्ध हुन्न । यदि भएमा आस्था राखेर हुन्छु, अरू कारणले हुन्न । सभापति रहुञ्जेल कुनै हालतमा दल रोज्दिनँ । यहाँका विद्याथीले मलाई स्वतन्त्र भएर मत दिएका हुन् । म त्यसको अपमान गर्दिनँ । पुल्चोक इन्जिनियरिङ क्यापसको गतिविधिमा राजनीतिक हस्तक्षेप नहुने बनाउन चाहन्छु । यसो भए विद्यार्थी आत्मनिर्भर हुन्छन् भन्ने विश्वास छ । स्ववियु निर्वाचनमा स्वतन्त्रले जितेको छ । मेरो जितले यही कुरा पुष्टि गर्छ ।

यहाँजस्तै निर्वाचन जितेर आउनुभएका स्ववियु प्रतिनिधिलाई के सन्देश छ ?

म विजेता सबै विद्यार्थी साथीहरूलाई अब यहाँहरूले कुनै दलको नभएर सबै विद्यार्थीका लागि काम गर्नुपर्छ, तपाईंहरू साझा भइसक्नुभएको छ । काम गर्दा जाति, वर्ग र समुदायभन्दा माथि उठ्नु पर्छ । नातावाद–कृपावाद अन्त्य हुनुपर्छ । सम्पूर्ण विद्यार्थीलाई समान मान्नुपर्छ । सबै

अन्तिममा सरकारी जागिरतिर जाने कि राजनीतिमै रहने ?

पुल्चोक क्याम्पसमा पढिसकेपछि लोकसेवा दिएर इन्जिनियर हुन्छु भनेर आएको हो । अझै पनि त्यो सपना मेटिएको छैन । क्यापसमा राजनीतिक परिवर्तन गरेको छु । अब एउटा संस्कार स्थापना भएको छ । अबको दुई वर्षपछि लोकसेवामै जान सक्छु । दुई वर्ष कलेजमा काम गर्छु, त्यसपछि लोकसेवा नै रोज्नुपर्ला । राजनीतिमा जाने सोच छैन । तर जान्न भनेर निर्णय गरेको छैन । अहिले म यसबारे प्रष्ट छैन । लोकसेवा या राजनीतिमध्ये एकको टुंगो छैन ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ४३ बजे

एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई)धैर्यताका

एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह

काठमाडाैं – बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९

पर्यटनमन्त्री पाण्डे चारदेशको भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी,

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलत हो : प्रचण्ड

निजगढ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

आगलागीबाट ७७ लाख बढीको क्षति

खोटाङ – यहाँको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित सामुदायिक वनमा लागेको