नयाँ वर्षमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ शुभारम्भको तयारी | Khabarhub Khabarhub

नयाँ वर्षमा ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ शुभारम्भको तयारी


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ वर्ष विसं २०८२ वैशाख १ र २ गते ‘रेडपाण्डा तथा थार महोत्सव’ गर्ने तयारी गरेको छ । 

नगरपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ लाई सफल पार्दै विश्वमै लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा र थारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वडा नं २ सोल्मास्थित हुर्लुङमा दुईदिने महोत्सवको आयोजना गरेको हो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी खण्डको हुर्लुङमा आयोजना गरिने महोत्सवमा विभिन्न जातजातिको संस्कार–संस्कृतिअनुसारका खाना, वेशभूषा, रहनसहन, स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी खिचिएका तस्बिर तथा भिडियो स्टलका रूपमा प्रदर्शनी गर्ने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । 

‘महोत्सवका लागि वडा नं १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । यसले नगरपालिकाको पर्यटन प्रवर्द्धन तथा नगरवासीको आयस्रोत वृद्धिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ’, उनले भने, ‘महोत्सवको अवसर पारेर ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ पदमार्गको समेत शुभारम्भ गर्ने योजना बनाएका छौँ । यसको शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ का सद्भावनादूत एवं चर्चित अभिनेता दयाहाङ राईले गर्नुहुने छ ।’

किरात उद्गमस्थल तुवाचुङ–जायजुम हुँदै आएको मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङबाट रूपाकोट हुँदै बगरेभञ्ज्याङ, सिर्धन चौतारो, सिकुरीभञ्ज्याङ, लहरेमाने, बानियाँपाटी, साप्सुढाप, मेरूङ, तीनथुम्कीबाट मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ नामकरण गरिएको नगरपालिकाले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आगामी वैशाख १ गतेबाट औपचारिक रूपमा शुभारम्भ गर्न लागिएको ‘रेडपाण्डा–थार रूट’को स्तरोन्नतिसमेत सुरू गरिएको जनाइएको छ । 

छोटो समयमै विश्वको ध्यान खिचेको मुन्दुम ट्रेलसँग नगरपालिकालाई जोडेर पर्यटकीयस्थलहरूको प्रवर्द्धन गर्ने उद्देश्यले ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’को औपचारिक रूपमा शुभारम्भ गर्ने योजना बनाइएको नगरपालिकाका उपप्रमुख विशन राईले जानकारी दिए । 

‘तीन दिनको यात्रामा पूरा हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रूट’ शुभारम्भ कार्यक्रमको पहिलो दिन सद्भावनादूत अभिनेता दयाहाङ राईसँगै रूपाकोटमा बास बस्ने योजना बनाएका छौँ । रूपाकोट आफैँमा पर्यटकीय क्षेत्र हो’, उनले भने, ‘समुद्री सतहबाट दुई हजार छ सय मिटर उचाइमा पर्ने पर्यटकीयस्थल रूपाकोटबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला, सूर्योदयको दृश्य, तराईका फाँट प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । ती मनोरम दृश्य अभिनेता दयाहाङ राईसँगै जनप्रतिनिधि, राजनीतिक दलका नेता, स्थानीय प्रशासनका प्रमुख सहभागी भएर अवलोकन गर्ने तयारी गरिएको छ ।’

नगरपालिका क्षेत्रमा पाइने रेडपाण्डा तथा थारको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ । महोत्सवलाई प्रभावकारी बनाउन रेडपाण्डा खोजीका लागि वन क्षेत्रमा निस्किएका नगरपालिकाको टोलीले रेडपाण्डा फेला पारी फोटो तथा भिडियोसमेत खिचेर ल्याएका छन् । 

विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा नगरपालिका क्षेत्रभित्रको सामुदायिक वनमा फेला परेपछि नगरपालिकाले खुसीयालीसमेत साटासाट गरेको छ । स्थानीयवासीले रेडपाण्डा रहेको जानकारी दिएपछि वडा नं ६ नेर्पाका अध्यक्ष माधव राईको नेतृत्वमा गएको टोलीले वडा नं १० पाथेकास्थित पर्यटकीय क्षेत्रमा पर्ने मेरूङ सामुदायिक वनमा रेडपाण्डा फेला पारेको हो ।  

गत पुसमा औपचारिक रूपमा शुभारम्भ गरिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ मा आन्तरिक तथा बाह्य गरी एक लाख हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । किराती मिथक तथा संस्कार–संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत गरेको छ । 

मुन्दुम टे«लको परिकल्पनाकार तथा अभियन्ता रमेश राईका अनुसार पछिल्लो समय सरदर वार्षिक ३५ हजार आन्तरिक तथा बाह्य पर्यटकले मुन्दुम पदमार्गमा यात्रा गर्ने गरेका छन् । रेडपाण्डा–थार महोत्सवका साथै सुरू गरिने रेडपाण्डा–थार टे«लले मुन्दुम टे«लको प्रचारप्रसार तथा प्रवर्द्धनमा महत्त्वपूर्ण प्रभाव पार्ने अभियन्ता राईको भनाइ छ । 

मुन्दुम टे«ल भ्रमण वर्षको अवसर पारेर खोटाङ र भोजपुरका विभिन्न स्थानीय तह तथा सङ्घसंस्थाले विभिन्न महोत्सव आयोजना महोत्सव गर्ने तयारी गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगै केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव र साकेला गाउँपालिकाले उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने तयारी गरेको छ । 

यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रूद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायत कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ । दुई जिल्लाका स्थानीय तहले आ–आफ्नो क्षेत्रमा महोत्सवको आयोजना गरेसँगै मुन्दुम ट्रेलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । 

खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण गरिएको भर्जिन गन्तव्यका रूपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि १० दिन लाग्ने जनाइएको छ ।
 

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : ४० बजे

सुर्खेतको पञ्चपुरीमा पाँच वर्षपछि औद्योगिक ग्राम बनाउने बाटो खुल्यो

सुर्खेत– सुर्खेतको पञ्चपुरी नगरपालिकामा औद्योगिक ग्राम बन्ने बाटो खुलेको छ

गाजामा फेरि तनाव देखिनु ‘निराशाजनक’ : थाइल्याण्ड

बैंकक– गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

तनहुँ – भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब

कांग्रेस नेता माथवरसिंह बस्नेतको निधन

भक्तपुर– नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।