बीपीको आत्मवृतान्त : राजालाई महिलाबाट जोगाउन भारतको चिठी ! | Khabarhub Khabarhub

इतिहास

बीपीको आत्मवृतान्त : राजालाई महिलाबाट जोगाउन भारतको चिठी !


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कुनै अंग्रेजी सिनेमा थियो, सानो थियो। कुनै चाखलाग्दो थिएन। दुईजना बडामहारानी र त्यहीँका कर्मचारी थिए, अरू धेरैलाई बोलाएको थिएन। महावीरशमशेर थियो क्यारे। राजाका तीनै छोरा थिए। पछि मैले महेन्द्रलाई भन्दा म थिइनँ भन्थे। मलाई लाग्छ, महेन्द्र पनि थिए। त्यसपछि, त्यो सिद्धिएपछि, जब हामी बाहिर आयौ, त्यहाँ ठूल-ठूला खम्भा भएको फ्वायल थियो।

दुवै बडामहारानी त बढो विनम्र किसिमबाट पछि उभ्भिए। सुशीला र म राजासँग बिदा हुन भनेर गयौँ भन्यौँ। राजाले सुशीलातिर फर्केर के भने भने, ‘आज गृहमन्त्रीसँग खानु छ मलाई, त्यसो हुनाले नपर्खिनु होला।’

मैले अरू कुरा राम्ररी सुनिन, तर बडामहारानीलाई पनि उनले रहन दिएनन्। नरशमशेर थिए त्यहाँ। शिक्षामन्त्री नृपजंग राणा थिए। उनलाई बोलाएर त्यही ठाउँमा लिएर आऊ भनेर योगविक्रम हो कि नर शमशेरलाई अ-हाए तर ठाउँको नाम बताएनन्।

अनि एउटै कारमा राजा, म र राजाका तीनैजना छोरालाई लिएर, साँझ परिसकेको थियो, साम्राज्य शमशेर कहाँ लिए गए। साम्राज्य शमशेर तिनताका खुब शानदार पार्टीहरू दिन्थे। त्यसताका एउटा भारतीय दूतावासमा पार्टी हुन्थ्यो र अर्को तिनैकहाँ हुन्थ्यो।
एकदम तडक-भडक भएको पार्टी दिन्थे उनी। रक्सी पानीजस्तो बग्थ्यो। त्यस दिन उनले राजालाई बोलाएका थिए जन्मदिनको पार्टीमा। त्यस दिन त झन कुरै भएन। त्यहाँ अलिकति सैनिक अफिसरलाई पनि बोलाएको थियो। जनरल थिए।

ठिटीहरू पनि थिए, राम्रा राम्रा केटी बोलाएका थिए। अनि ड्रिंक चल्यो, डान्स पनि हुन थाल्यो। मैले के देखें भने त्यहाँ अश्लीलता बेसी भइरहेको छ। राजा गएको ठाउँमा त केही संयम राख्नुपर्छ, ड्रिकंमा पनि संयम राख्नुपर्छ। फेरि, म गएको थिएँ।

आर्मी अफिसरमात्रै भएको भए त आर्मीको अलि लजनजस्तो पनि हुन्थ्यो। तर, एउटा सिभिलिएन गएको छ, राजा गएका छन् र राजाका नातेदार गएका छन्। मलाई उति मन परेन।

के रहेछ भने एउटी केटी थिइन्, त्यो राजाको मन परेकी, त्यहीँ भेट्थे। तिनले त्यहाँ उसलाई केटी पारेर राखेको थियो। साम्राज्य शमशेरले त्यहाँ सबैको लागि केटीको व्यवस्था गरेका थिए। राजाको केही अलि नखरमाउली। मलाई किन याद छ भने जब नेपाल राज्यलक्ष्मीसँग मैले त्यो कुरा गरे, राजा मर्नासाथ त उनले त्यो केटी आफूकहाँ राखिन्।

एकदिन मलाई बोलाएर, ‘यही होइन तपाईंले भनेकी केटी’ भन्न थालिन्। ‘ल, ल, नाच त, राजाको अघिल्तिर नाचेजस्तो नाच त’ भनेर उसलाई भनेकी थिइन्। त्यसबखत म गृहमन्त्रीबाट हटिसकेको थिएँ। ‘ल उहाँसँग नाच त’ भनेर त्यसलाई भनेकी थिइन्। तर मैले भने, ‘मलाई नाच्न त आउँदैन।’

त्यहाँ खण्डहरू बनेका थिए साम्राज्यको दरवारमा। केटीहरूलाई लिएर को कता गए, अँध्यारोमा कता को गयो, कता बिलायो थाहा भएन। मलाई डान्स गर्न जाउँदैनथ्यो र त्यस किसिमको उत्ताउलो डान्स त म गर्ने नै थिइनँ। मलाई के अनुभव भइरहेको थियो भने दुवै अधिराजकुमारका दुलहीलाई पनि अलिकति अप्ठ्यारो परिरहेको थियो। म र यी दुबैजना सोफामा बसिरहेका थियौँ। मैले भने, ‘यस्तो ठाउँमा तपाईंहरू किन आउनुभएको ?’

उनका दुलहा कोसँग डान्स गरिरहेका थिए, यिनीहरू पनि कुनै-कुनै बेला गएर डान्स गर्थे। मलाई उनीहरूले भने, ‘के गर्ने ? ससुराज्यूको हुकूम। कसरी नआउने ?’

मैले उनीहरूलाई भनेँ, ‘जाऊँ’। मलाई पनि अप्ठ्यारो परिरहेको थियो। उनैको गाडीमा आएको थिएँ, फर्कनलाई आफ्नो गाडी थिएन। उनीहरू पनि रमाइलो मानिरहेका थिएनन्।

डान्स सकिएपछि, अब एउटा ड्रामा छ भनेर ड्रामामा लिएर गए। राति १ बज्न थालिसक्यो। ९-१० बजे नै खाना खाएर सुत्ने मेरो बानी, रातिको १ बज्न थालिसक्यो। गृहमन्त्रीलाई कसैले गाडी नदिनू भनी दिएका छन् राजाले। त्यो ड्रामा पनि उत्ताउलो किसिमको छ। राजालाई तानेर स्टेजमा लगी दिएको छ, त्यहाँ डान्स गराई दिएको छ। राजा पनि पूरा नशामा छन्।

अनि त्यहाँ पाल्पा कामण्डर-इन-चिफकी एउटी छोरी थिइन्। उनले के भनिन् भने, ‘तपाईंले कुनै स्वास्नी मानिसलाई बडाहाकिम बनाउनु भएको छैन, मलाई बनाउनुस्।’ बडो चल्तापूर्जा स्वास्नी मान्छे। त्यसबेलाको जनताको समयमा पनि बडाहाकिम चलाउन सक्ने खालकी स्वास्नी मान्छे थिइन्। मसँग बडी नगिचै भएकी थिइन्। ‘अहिलेको क्रान्तिकारी स्थितिमा, शान्ति-सुरक्षा खलबलिएको बेलामा स्वास्नी मानिसलाई प्रशासन चलाउन गाह्रो पर्छ’ भनेर मैले भनेँ।

मैले त्यसो भन्दा ‘ए तपाईंलाई क्रान्तिमा हामीले साथ दिनुहुने र अहिले प्रशासनमा हामी नहुने ?’ मसँग उनी बहस गर्न थालिन्। ‘म महाराजाधिराजबाट हकूम गराउँछु’ भनेर त महाराजाधिराजलाई लिएर आइन्।

महाराजाधिराजले आएर भने, ‘होइन, विश्वेश्वर बाबु, एउटा स्वास्नी मानिसलाई त बडाहाकिम बनाउनु पर्ने।’ मैले भनेँ- ‘बनाउँला। तर, यो त मौका होइन बडाहाकिम बनाउने।’ ‘होइन, उनले चलाउन त सकिहाल्छिन्, उनलाई बडाहाकिम बनाउनु प-यो’ भनेर उनले मलाई भने। मैले भनँे, ‘महाराजाधिराज, अहिले सरकारको यस्तो अवस्था छ, र यस्तो अवस्थामा सरकारको हुकुम हामीले यहाँ मान्ने होइन। भोलि-पर्सि सरकारसँग कुरा गरौँला।’

त्यसपछि खान भनेर हामी आयौँ। त्यो सिद्धिएपछि २ बजेतिर हुँदो हो। राजाले पठाइरहेका छन्, एकपछि अर्को स्वास्नी मानिसलाई मसँग हात समातेर डान्स गर्नको लागि। म नगएपछि, राजा मनेर आए, ‘थुइक्क, नामर्द, स्वास्नी मान्छेलाई भन्न जान्छन् तर स्वास्नी मानिस आएर भन्दा पनि तिमी ननाच्ने’ भनेर मलाई भने।

अनि राजाले महसुस गरेछन् र नर शमशेरलाई भने, ‘ल, गृहमन्त्रीलाई पु-याइदेऊ र बुहारीलाई पनि पु-याइदेऊ।’

अनि नर शमशेरले पहिले मलाई रंगमहलमा पु-याई दिए र त्यसपछि उनीहरूलाई ताहाचलमा पु-याई दिए। त्यो पार्टी बिहान ७ बजेसम्म चल्यो। मैले त्यसको २-३ दिनपछि महाराजाधिराजलाई भने, ‘यो त राम्रो भएन।’

अनि त्यस्तै घटना २-४ दिनमा घटिरहन्थे।

एकदिन जवाहरलालजीले म दिल्ली गएको बखतमा मलाई भने, ‘यी राजा, तिम्रा राजा, कलकत्ता आउँछन्, बम्बई जान्छन् स्वास्नी मानिससँग, हलुका व्यापारीसँग, सिन्धीहरूसँग मेलजोल गर्छन्, त्यो राम्रो भएन। त्यसो हुनाले तिमीले त्यस सम्बन्धमा राजालाई सम्झाउनु प-यो।’

मैले भने, ‘राजाले मैले भनेको मान्छन् ? ऊ मित्र हुन् तपाईंका, तपाईंले भनिदिनु भए राम्रो हुन्छ नि।’

उनले भने, ‘उनी जे भए पनि राष्ट्राध्यक्ष हुन्। कसरी म तिनलाई भनुँ ? तर, कुनै मौका प-यो भने म तिनलाई भनुँला।’
उनले त्यो भनेका थिए र यो पनि भनेका थिए, ‘राजाको निम्ति यो राम्रो भएन।’

भारतीय राजदूत सी.पी.एन. सिन्हा मलाई के भन्छ भने, ‘दरबारभित्र राम्रा-राम्रा ठिटी लगेर राखिदेऊ न।’
उनीहरूलाई फिकिर के थियो भने राजालाई अरुहरूले सम्पर्क गर्लान् बाहिर गएको बखतमा। सायद त्यो फिकिर थियो उनीहरूलाई या हुनसक्छ उनको इज्जतको पनि फिकिर थियो। जवाहरलालजीलाई त उनको इज्जतकै फिकिर थियो।

त्यहीताका विजु पटनायक आएको थियो। बडो राम्रो सम्बन्ध थियो उसको मसँग पहिलेदेखि नै। त्यसले पनि भन्यो, ‘मलाई पनि अर्ति उपदेश दियो- ‘आप भी बहुत छोकरीबाजी करता मालूम होता है।’

जवाहरलालजीले चिठी लेखेछन, मलाई त लेख्दिनँ भनेका थिए, लामो चिठी लेखेछन् महाराजधिराजलाई। अलि-अलि हरियो, लामो फुलस्केप साइजको कागतमा चिठी लेखेका थिए, डेढ पेजको चिठी लेखेका थिए। त्यो राजदूतले लिएर आएका रहेछन्।

चिठी पढेपछि त आगो भए राजा। अनि उसले के भनेछ राजालाई भने अस्ति गृहमन्त्री गएर कुरा लगाएर लेखन लगाएको हो जवाहरलालजीलाई। मलाई त्यो भनेका छन् राजाले। त्यस चिठीको एउटा कपी त भारतीय राजदूतले हेरेकै थियो, भारतीय राजदूतले आफैँ दिनू भनेर जवाहरलालजीले त्यो चिठी दिएका थिए।

आफँै दिन जाँदा उसले राजालाई के भनेछ भने गृहमन्त्री गएको बेलामा तपाईंको बारेमा कुरा लगाई दिएकोले त्यो लेखे। पूरा पेज राम्रो लेखेको छ त्यस चिठीमा, अन्तिम प्रकरण छ अर्को पेजमा, त्यसमा के लेखेछन् भने, ‘एउटा बडो अप्ठ्यारो कुरो पनि लेख्न मन लागेको छ तर मित्रले लेख्न सक्छ भनेर म लेखिरहेको छु, कि तपाईं एउटा देशको राजामात्र होइन, तपाईं एउटा क्रान्तिको नेता पनि हुनु भएकोले संसारको आँखा तपाईं माथि छ। त्यसो हुनाले, तपार्इं के गर्नुहुन्छ भन्ने कुरा तपाईंको जनताले पनि हेर्दैछन्, तपाईंलाई संसारले पनि हेर्छ। तपाईंले बीच-बीचमा, हिन्दुस्तानका यी ठूल-ठूला शहरमा आउन भएन र अलिकति तपाईंले संयमसँग बस्नुभयो भने राम्रो हुन्छ कि ?’

बडो राम्रो भाषामा लेखेका थिए, अप्ठयारो कुरो भएकोले एउटा मित्रको हैसियतमा मात्र लेखेको हुँ भनेका रहेछन्। अनि त्यसमा राजाले मसँग रिसाउनुपर्ने कारण किन प-यो भने, त्यो कुरा मैले लगाएर लेख्न लगाएँ भनेर। मलाई बोलाए, म गएँ।
‘होइन, तपाईंले विदेशको प्राइममिनिस्टरलाई किन कुरा लगाउनु पर्‍यो ? मलाई नै भनेको भए भइहाल्थ्यो नि’ भनेर उनले सोधे।
उनले मलाई चिठी दिए, ‘हेर्नुस् यो चिठी’ भनेर। त्यो पढिसकेर मैले भने, ‘अनि मैले कसरी कुरा लगाएको भयो त ?’
उनले भने, ‘भारतीय राजदूतले भन्थ्यो।’

त्यसमा आधा सत्य पनि हो, कुरा भएको थियो। मैले भनेको थिएँ, ‘तपाईंले मैले भनेको कुरा भनिदिनु भएन।’
अब मलाई अप्ठ्यारो प-यो। मैले भनेँ, ‘यस्तो कुरा भएको थिएन। उनले यो आफैँले लेखेका होलान्।’ मैले उनलाई शान्त पार्दै भनेँ। मसँग उनी आगो भएका थिए। मैले भने, ‘मसँग रिसाउनुपर्ने कारण म देख्तिनँ।’

तर, मसँग त्यस कुरामा राजाको मन सफा भएन। राजाका दरबारिया राजालाई उकासिरहन्थे- पहिलाको प्रधानमन्त्री कति बलिया थिए, राजालाई त अहिले टेर्दै टेर्दैनन, गृहमन्त्रीले खुट्टा चढाएर बस्यो, यसो ग-यो-उसो ग-यो भनेर। एक-दुईचोटि उनले मलाई भने पनि- ‘होइन, तपाईंको र मेरो स्वभाव मिल्छ, मातृका बाबुसँग मिल्दैन। तर, के भइरहेको छ- तपाईंसँग मेरो ठ्याक मिल्न लागेको छैन।’
उनी डान्स गर्न जाने मलाई पनि त्यो मन पर्ने, ड्रिकं गर्दथे। ठूल्दाजु त त्यसताका लुगा फेरिकन भात खान जानुहुन्थ्यो। एउटी बाहुनी बजैले पकाउनुपर्ने र पिर्कामा बसेर खानुहुन्थ्यो। म खान गएँ भने तल बसेर खानुपथ्र्यो। त्यस्तो थियो उहाँको नियम।

‘मातृका बाबुसँग मेरो अरू कुरा मिल्दैन। वहाँसँग मेरो विचार मिल्दछ, तपाईंसँग त्यो मिल्दैन’ भनेर पनि भन्दथे। तिनी मसँग सन्तुष्ट थिएनन्।

(विश्वेश्वर प्रसाद कोइरालाको आत्मवृतान्तबाट)

यो पनि-
ज्ञानेन्द्र र नवराजको सम्बन्ध बिगार्ने ओमेगा घडीकाण्ड !

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १० : ४१ बजे

भाटभटेनीबाट स्याउ र सुन्तला बोकेर हिँडेका व्यक्ति पनि पक्राउ

काठमाडौं – नेपाल प्रहरीले यही शुक्रबार भएको राजावादी आन्दोलनको क्रममा

गणतन्त्र पक्षधरको निष्कर्ष : तीनकुने घटनाको मुख्य जिम्मेवार ज्ञानेन्द्र शाह

काठमाडौं – गणतन्त्र पक्षधर दलहरुले गणतन्त्र र संविधानको रक्षाका लागि

गाउँ पसेको पाटेबाघ नियन्त्रणमा

कञ्चनपुर – बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई

लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको निधन

काठमाडौं – लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ

डडेल्धुरामा जिपबाट खसेर एकको मृत्यु

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको