सेकार्कु तातोपानी कुण्ड व्यवस्थित बनाउन पूर्वाधार निर्माण | Khabarhub Khabarhub

सेकार्कु तातोपानी कुण्ड व्यवस्थित बनाउन पूर्वाधार निर्माण


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कुस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ । 

पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले एक करोड १७ लाखको लागतमा पूर्वाधार निर्माण थालेको हो । 

अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीप गर्बुजाले तातोपानी पानी सङेकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुराँका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिए। 

‘कालीगण्डकी किनारको तातोपानी व्यवस्थित नहुँदा हाल हिउँद याममा मात्र खुला ठाउँमा स्नान गर्न सकिन्छ’, उनले भने, ‘बेनी–जोमसोम सडकको नजिकै निर्माण हुन लागेको पोखरी सञ्चालन गरेर आम्दानीको स्रोत बनाउने लक्ष्य छ ।’

सेकार्कुमा ५० डिग्री सेल्सियस प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी संकलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । 

मुहानदेखि छ सय मिटर तल दुई इञ्चको युपिभिसी पाइपबाट ल्याइने तातोपानी संकलन गरेर स्नानका लागि ११ दशमलव २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ भएको पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको विशेष अनुदानमा सेकार्कु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि २०८१ असार ३ गते कालीगण्डकी निर्माण सेवा प्रालिसँग रू एक करोड १७ लाख ६० हजार छ सय ८५ मा ठेक्का सम्झौता भएको थियो । 

विसं २०८२ जेठ ३० गतेसम्म म्याद रहेको ठेक्कामार्फत पोखरी र परिसरमा भौतिक संरचना निर्माण गर्ने काम ७० प्रतिशत सकिएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर करिम मुल्लाह मियाले बताए। 

ठेकेदारले तातोपानी संकलनका लागि मुहानमा तीन वटा इन्टेक र पाइपलाइन जडानको तयारी गरेको छ । तातोपानीको मुहानसम्म पुग्ने सडक बनाउन धेरै खर्च लाग्ने र बर्खामा बाढीले असर पुर्‍याउने भएकाले केही तल संरचना बनाउन लागिएको हो । 

बेनी–जोमसोम सडकको तिप्ल्याङ–महभिर जोड्ने मोटरेबल पुलदेखि पाँच सय मिटर नजिकै बनाउन लागिएको तातोपानी कुण्डले मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ४ : ३६ बजे

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको

आईपीएल : मुम्बई इन्डियन्सकाे पहिलो जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान सुरु

कास्की – सञ्चालनमा आएको दुई वर्ष पछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा

अष्ट्रेलिया नेपाली कम्युनिटीको ‘अर्बन’ अध्यक्षमा श्रेष्ठ निर्वाचित

काठमाडौं – अष्ट्रेलिया नेपाली कम्युनिटी (अर्बन) को अध्यक्षमा अरूणचन्द्र श्रेष्ठ

राजसंस्था र राजनीतिक दल एकै ठाउँमा अटाउने मिलन बिन्दु पहिल्याउनुपर्छ : पूर्वप्रधानमन्त्री चन्द

काठमाडौं – पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले राजसंस्था, राजनीतिक दलहरु र