मिथिलाञ्चलमा चैती छठ पर्व सुरु « Khabarhub

मिथिलाञ्चलमा चैती छठ पर्व सुरु


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो ।

चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धुमधामका साथ मनाइने गरिएको छ ।

सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । उनका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको पण्डित पाठकले जानकारी दिए । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन सोमबार व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका छन् ।

पर्वको दोस्रो दिन आज खर्ना मनाइँदै छ । खर्नाका दिन व्रतीहरूले दिनभर उपवास निराहार बसेर राति छठी देवीलाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन रहेको पण्डित पाठकले बताए ।

‘षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठेकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछन्’, उनले भने ।

षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको पण्डित पाठकले जानकारी दिए ।

उनका अनुसार त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दाेहाेर्‍याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ दिइ चैती छठ पर्व सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ८ : ५० बजे

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो