मिथिलाञ्चलमा चैती छठ पर्व सुरु « Khabarhub

मिथिलाञ्चलमा चैती छठ पर्व सुरु


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिलाञ्चलसहित तराई–मधेशका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो ।

चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धुमधामका साथ मनाइने गरिएको छ ।

सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । उनका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको पण्डित पाठकले जानकारी दिए । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन सोमबार व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गरेका छन् ।

पर्वको दोस्रो दिन आज खर्ना मनाइँदै छ । खर्नाका दिन व्रतीहरूले दिनभर उपवास निराहार बसेर राति छठी देवीलाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन रहेको पण्डित पाठकले बताए ।

‘षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठेकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछन्’, उनले भने ।

षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको पण्डित पाठकले जानकारी दिए ।

उनका अनुसार त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दाेहाेर्‍याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ दिइ चैती छठ पर्व सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ८ : ५० बजे

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ

दुई हजार बढी सहकारीलाई दर्ता अभिलेखीकरण

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले करिब दुई हजार ३०० सहकारीलाई

प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट १६ हजार बढीले लिए सेवा

तनहुँ– प्रदेश आयुर्वेद चिकित्सालय दमौलीबाट छ महिनाको अवधिमा १६ हजार

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र पत्रकारबारे

क्षेत्रीय सहयोग आवश्यक होइन अनिवार्य छ : परराष्ट्र सचिव राई

काठमाडौं– नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई