राजावादी आन्दोलनको छायामा समाजवादी मोर्चा | Khabarhub Khabarhub

राजावादी आन्दोलनको छायामा समाजवादी मोर्चा



काठमाडौं– गत शुक्रबार नेकपा माओवादी केन्द्रसहितका गणतन्त्र पक्षधर चार दलले भृकुटीमण्डपमा करिब ३५ हजारको सहभागितामा जनसभा गरे । गृहमन्त्रालयको रिपोर्टमै उक्त जनसभामा करिब ३५ हजार सहभागी भएको उल्लेख थियो ।

जनसभा प्रमुख प्रतिपक्षी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेका थिए । सभामा ४ दलका चार शीर्ष नेताले सम्बोधन गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेसपा अध्यक्ष महेन्द्रराय यादव र नेकपा महासचिव विप्लवले गणतन्त्र रक्षाका लागि एकजुट हुने वाचा गरे ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले सभामा ७० हजार मानिसको उपस्थिति भएको दाबी गरे । मन्त्रालयका सहसचिव छवि रिजालले ३५ हजार मानिसको हिसाब दिए ।

‘हामी ७० हजारभन्दा बढी सहभागी थियौं । सडकको जोड्दा अझै बढी हुन सक्छ’, गुरुङले खबरहबलाई भने, ‘हामीले कार्यक्रम सफल बनाएका छौं ।’ गुरुङका अनुसार त्यही दिन तीनकुनेमा विरोध सभा गरेका राजावादीले गणतन्त्रवादीको कार्यक्रम बिथोल्न खोजेका थिए । ‘तर, हामीले इमान गुमाएनौँ’, उनले भने, ‘हाम्रो सभा छायामा पार्न खोजियो, तर सफल भएनन् ।’

उत्तेजक गतिविधि भएन

मोर्चाले काठमाडौंका ८ रुटबाट र्‍याली निकालेको थियो । सुनधाराबाट र्‍याली निकालेको विप्लव नेतृत्वको नेकपा पनि संयमित थियो ।

न्यूरोड गेटबाट निस्किएका नेसपाका नेता पनि संयमित थिए । भृकुटीमण्डको सभामा मिसिए । यस्तै, शान्ति वाटिका र मैतीदेवीबट निस्किएका एकीकृत समाजवादीका नेता–कार्यकर्ता पनि भृकुटीमण्डपमा मिसिए । चार दलको सभामा पनि कुनै उत्तेजक गतिविधि नभएको गृह मन्त्रालयले जनाएको छ ।

एकजना प्रहरी अधिकृतका अनुसार समाजवादी मोर्चाको सभामा आएका कुनै व्यक्ति सार्वजनिक सम्पत्तिमा आक्रमण भएन । न त कुनै घर र पसलमा क्षति नै भयो । सबै स्थानको र्‍यालीमा अगुवा–पछुवा प्रहरी परिचालन गरे पनि प्रहरीलाई दुःख दिएनन् । यति मात्रै होइन, भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति पाएको मोर्चाले त्यहीँ कार्यक्रम अन्त्य गरेको गृहमन्त्रालयले जनाएको छ ।

संविधानले नै दिएको अधिकार उपयोग गर्दै सभा गरिएको नेपाल समाजवादी पार्टी नेसपाका नेता गंगालाल श्रेष्ठ बताउँछन् । ‘हामीले संविधानको परिधिभित्र रहेर सभा गरेका हौँ । हाम्रो मनसाय गलत थिएन । जनता र नागरिकलाई संयमित बनाउने हो,’ श्रेष्ठले खबरहबलाई भने, ‘राजनीतिक दलले आफ्ना गतिविधि शान्तिपूर्ण गर्छन् । यो कुरा जनतालाई थाहा छ । तर केही अराजकले शुक्रबार नै सडकलाई अशान्त बनाए । यसमा हाम्रो आपत्ति छ ।’

उनी शुक्रबार तीनकुनेमा भएको दुई व्यक्तिको हत्याले देशमा पूर्वराजाको नाममा अराजकता बढ्न गएकाले यसबारे सरकारले गम्भीर निर्णय गर्ने बेला भएको बताउँछन् ।

कार्यक्रम सकिनेबित्तिकै युवा नेता र विद्यार्थी नेता मिलेर सडकको फोहोर टिपेका थिए । यसबारे छलफल सुरुमै भएको एकीकृत समाजवादीका युवा नेता कृष्ण विके बताउँछन् । उनका अनुसार सफाइका लागि चारवटा पार्टीबाट १ सय ५० जनाका दरले युवा र ५० जनाका दरले विद्यार्थी परिचालन भए । ‘हामीले गरेको फोहोर आफैं सफा गर्ने भनिएको थियो’, विकेले खबरहबलाई भने, ‘कार्यक्रम सकिनेबित्तिकै खटिएका थियौँ । हो–हल्ला र अराजकता पनि हुन दिएनौँ ।’

नेताहरू पनि नरम

चार नेताले सम्बोधन गर्दा नेकपा नेता खड्काबहादुर विश्वकर्मा प्रकाण्डले कार्यक्रम सञ्चालन गरे । चार नेतामध्ये प्रचण्डले पहिले बोल्दै अहिलेको व्यवस्थाको विकल्प यसमै खोज्नुपर्ने बताए ।

उनले सडकमा भएको राजावादीका गतिविधिलाई अराजकको संज्ञा दिए । नेपालीले सङ्घीय गणतन्त्रको भन्दा दायाँबायाँ गर्न नसक्ने उनको तर्क थियो । उनले पूर्वराजालाई ठेगानमा बस्न आग्रह गरे ।

गणतन्त्रबाट आएका उपलब्धिबारे पनि उनले जनतालाई सुसूचित गराए । प्रचण्डले राजावादीको गतिविधिलाई मण्डले अराजकताको संज्ञा दिए । सभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरूले, पुलिसलाई आक्रमण गरेका छन् ।’

‘एक दुईजना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीको चरित्र हो । जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले देशभरका जनतालाई भन्न चाहन्छु, केही त्रुटि भएका छन्’, उनले अगाडि भने, ‘गणतन्त्रवादीले कमजोरी गरेकैले दलाल, नोकरशाहीले पनि लाभ लिने अवसर पाए । अब त्यसलाई सँच्याइनेछ ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डले जस्तै देशमा अराजक क्रियाकलाप हुन नदिन जनता जाग्ने बोला आएको बताए । उनले सरकारले कार्यशैली सुधार्नुपर्ने बताए । अध्यक्ष नेपालले समाजवादी मोर्चाको सभा र लहर कास्टिङमात्रै भएको बताए । उनले प्रतिगामीलाई होसियार रहन आग्रह गर्दै मुलुक शाहीवंशतर्फ फर्किन नसक्ने बताए ।

‘आजको कार्यक्रम नेपालको राजनीतिमा कास्टिङमात्रै हो । प्रतिगामी शक्तिहरू होसियार, अब यो मुलुक शाहीबंशतर्फ फर्किन सक्दैन,’ अध्यक्ष नेपालले भने, ‘अब यो मुलुक राणातन्त्रतर्फ फर्किन सक्दैन । अब यो मुलुक वंश र परिवारको शासनतर्फ फर्किन सक्दैन ।’

विप्लवले पनि नेपाली जनताले ठूलो त्याग र बलिदान गरेर ल्याएको गणतन्त्रमा पूर्वराजा र राजावादी झुन्डले आँखा गाडेको बताउँदै यो व्यवस्थालाई धमिलो नबनाउन आग्रह गरे । उनले नेपालमा प्रभुहरूको खाँचो नभएको बताएका थिए । पैतलामुनि जनतालाई धुलोसरी गर्न नहुने, सामन्तवादी हैकम चलाउने प्रवृत्ति र शासकहरू खाँचो नभएको उनले बताए ।

‘हामी यो मैदानबाट चुनौती दिन चाहन्छौँ, भन्न चाहन्छौँ हामीलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामन्तको खाँचो छैन । हामीलाई सामन्ती तत्वहरूको खाँचो छैन,’ विप्लवले भने, ‘हामीलाई पैतलामुनि जनतालाई धुलोसरी पनि नटेर्ने, सामन्तवादी हैकम चलाउने प्रवृत्तिहरूको हामीलाई खाँचो छैन । शासकहरूको हामीलाई खाँचो छैन ।’

यता नेसपाका अध्यक्ष यादवले पनि अन्य नेताजस्तै सबैको साझा भावना समेट्ने गणतन्त्रलाई धावा नबोल्न राजावादीलाई आग्रह गरे । उनले सबै वर्ग, जाति भाषा र समुदायलाई समेट्ने एक मात्रै व्यवस्था गणतन्त्र भएकाले यसको विकल्प कुनै पनि व्यवस्थामा खोज्न नसकिने तर्क गरे ।

चार जना नेताहरुले आपत्तिजनक र अश्लील शब्द प्रयोग गरेनन् । उनीहरूले राजनीतिक चरित्र देखाउँदै कार्यकर्तालाई त्यही ढङ्गले प्रस्तुत गराएका थिए ।

सभा छायामा परेकै हो ?

संयमित र शान्त भएको समाजवादी मोर्चाको सभा राजावादीको उग्र प्रदर्शनका कारण सञ्चारमाध्यममा पनि चर्चामा आएन । तर, तीनकुनेमा भएको राजवादी आन्दोलनमा हिंसा सुरु भएपछि सबैको ध्यान उतातिर तानिएको देखिन्छ । शान्तिपूर्ण प्रदर्शन गर्ने नाममा केही राजावादीहरूले तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । क्षति विवरण सरकारले सार्वजनिक गरेको छैन । दुई व्यक्तिको ज्यान गएको छ ।

यस्तै व्यापारिक कम्प्लेक्समा आगजनी, तोडफोड र लुटपाट पनि भएको छ । एकीकृत समाजवादीको कार्यालयमा अगजनी भयो । कान्तिपुर र अन्नपूर्ण पोस्टको कार्यालयमा आक्रमण भयो ।

यस्तै सरकारी तथा निजी गाडीमा आगजनी गरियो । राजावादी आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंले नै प्रहरीको तीनवटा घेरा तोडेर उकासेपछि भीड अराजकतातिर गयो । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणाले पनि सभास्थलबाट भीडलाई उतेजित बनाए ।

राजनीतिक विश्लेषहरू तीनकुनेमा शुक्रबार भएको गतिविधि राजनीतिक दलको नभएर अराजकहरूको भएको बताउँछन् । विश्लेषक श्याम श्रेष्ठ समाजवादी मोर्चाको कार्यक्रम शालीन भएकाले राजावादीसामु छायामा परेको दाबी गर्छन् । उनी तीनकुने घटनाका मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह, नवराज सुवेदी, प्रसाईं, मिश्र र राणा भएकाले उनीहरूलाई सरकारले कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ४ : ५० बजे

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा