‘डेडलाइन’ चैत मसान्त : कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको सम्भावना छैन | Khabarhub Khabarhub

‘डेडलाइन’ चैत मसान्त : कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको सम्भावना छैन


२५ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रदेखि वडासम्म विस्तारित नेपाली कांग्रेसका विभिन्न तहका कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । कांग्रेसले क्रियाशील सदस्यहरूबाटै महाधिवेशन प्रतिनिधि छनोट गर्दछ । तिनै महाधिवेशन प्रतिनिधिले मतदान गरेर पार्टीको नयाँ नेतृत्व चयन गर्छन् ।

क्रियाशील सदस्यता नवीकरण र वितरणका कारण हरेक महाधिवेशनअघि कांग्रेसको आन्तरिक विवाद चरमचुलीमा पुग्ने गरेको छ । १२औँ महाधिवेशनदेखि कांग्रेसमा सुरु क्रियाशील सदस्यता विवाद १५औँ महाधिवेशन नजिकिँदा पनि सुल्झिने छाँटकाँट छैन ।

कांग्रेसले आसन्न १५औँ महाधिवेशनलाई क्रियाशील सदस्यता विवादबाट मुक्त गराउने उद्देश्यसहित महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् ।

महामन्त्री थापा संयोजकत्वको समितिले पार्टीका विभिन्न तहका ६ वटा कार्यसमितिलाई समयसीमा तोकेर क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्न निर्देशन दिएको छ । तर, उक्त समयावधि भित्र ७७ वटै जिल्ला कार्यसमितिले सदस्यता नवीकरण सक्ने सम्भावना टरेको छ ।

सभापति शेरबहादुर देउवाकै गृह प्रदेश सुदूरपश्चिमका केही जिल्लाहरूमा केन्द्रको तालिकाअनुसार नवीकरण भइरहेको देखिएको छ भने केहीमा कार्यतालिका प्रभावित भएको पाइएको छ ।

‘कैलालीमा सदस्यता नवीकरणको जिम्मा मेरो हो । अहिलेसम्म कुनै क्षेत्रीय सभापतिले फोन गरेका छैनन्, कार्यालयमा बुझाएका पनि छैनन्,’ कांग्रेस कैलालीका सचिव केशव मिश्रले खबरहबसँग भने, ‘ताकेता गर्दा–गर्दा थाकियो । थाकेर म पनि शान्त बसेको छु । क्षेत्रीय सभापति कसैले पनि सदस्यता नवीकरण गरेर पार्टी कार्यालयमा बुझाएका छैनन् ।’

कैलालीको ठीकविपरित कञ्चनपुरमा भने केन्द्रको समय तालिकाअनुसार नै क्रियाशील सदस्यता नवीकरण भइरहेको देखिएको छ । कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले क्षेत्रीय कार्यसमितिले समयावधिभित्रै क्रियाशील सदस्यता नवीकरण गरेर जिल्ला कार्यसमितिलाई सिफारिस गरिसकेको जानकारी दिए ।



‘केन्द्रले चैत २९ गतेसम्म नवीकरण गरिसक्नुपर्ने भनेको छ । त्यहीअनुसार नवीकरणको सिफारिस जिल्ला कार्यालयमा पुगिसकेको छ,’ जिल्ला सचिव भट्टले खबरहबसँग भने, ‘हामी अपडेट गरेर, रेकर्डसहित २९ गतेभित्रै केन्द्रमा पठाउने तयारीमा छौँ ।’

समितिको गत पुस १९ मा बसेको बैठकले पार्टीका प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई नवीकरणका लागि समय तालिका निर्धारण गरेको थियो ।

बैठकपछि महामन्त्री थापाले गरेको परिपत्रमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कलगायत कागजातसहित जिल्लाको प्रतिवेदन चैत्र २९ गते ३ बजेभित्र अनिवार्य केन्द्रीय कार्यालयमा बुझाइसक्नु पर्ने भनिएको थियो ।

‘वडा, गाउँ–नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्लासम्मका सबै कार्यसमितिले नवीकरण कार्य निर्धारित मितिमा सम्पन्न गरी क्रियाशील सदस्यता नवीकरणसम्बन्धी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्क लगायतका कागजातसहित जिल्लाको प्रतिवेदन २०८१ चैत २९ गते शुक्रबार ३ बजेसम्म अनिवार्य पार्टी केन्द्रीय कार्यालयमा प्राप्त हुने गरी पठाउन हुन अनुरोध छ,’ परिपत्रमा भनिएको थियो ।

महामन्त्री थापा संयोजकत्वको समितिले निर्धारण गरेको समयावधिभित्र सदस्यता नवीकरण नगरे के हुन्छ ?, समिति सदस्य रसाइली भन्छन्, ‘त्यसपछि हामीले के गर्ने भन्नेबारे निर्णय लिइहाल्छौँ । तर, अहिलेसम्म चैत २९ गतेभित्र नगर्नेको सदस्यता नवीकरण नगर्ने कुरा छ ।’

कांग्रेसको गण्डकी प्रदेश कार्यसमितिले पुस २० गते पोखरामा गरेको ‘प्रदेशस्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम’मा महामन्त्री थापाले पनि चैत मसान्तभित्र नवीकरण नहुने क्रियाशील सदस्यता खारेज हुने बताएका थिए ।

‘चैत मसान्तभित्रमा नवीकरण सक्नुपर्नेछ । नवीकरण शुल्क २०० रुपैयाँ छ । चैतभित्र नवीकरण नहुने क्रियाशील सदस्यता अब कायम हुँदैन,’ महामन्त्री थापाले भनेका थिए, ‘यो क्यालेन्डर हो, जम्मा २०० रुपैयाँमात्रै हो । २०० रुपैयाँ दिने, चैत्र महिनाभित्र नवीकरण गर्ने !’

चैत २९ भित्र क्रियाशील सदस्यता नवीकरण नगर्ने सदस्यहरूका हकमा पार्टीले के गर्छ ?, समिति सदस्य रसाइली भन्छन्, ‘यसमा त विशेष गरी सभापति, उपसभापति, अनुशासन समिति र हामीहरू बसेर सहजीकरण गर्नुपर्ने अवस्था देखिन्छ ।’ पार्टीको केन्द्रीय अनुशासन समितिका कारण समयावधिभित्रै क्रियाशील सदस्यता नवीकरण हुन कठिनाइ देखिएको उनको भनाइ छ ।

‘धेरै जिल्लाहरूमा अनुशासन समितिका कारणले पनि नवीकरण प्रभावित भएको छ । कांग्रेसमा एउटा निर्वाचन क्षेत्र भएको जिल्लामा ५ तह र २ वा २ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा ६ तहमा नवीकरण हुने प्रक्रिया छ,’ रसाइली भन्छन्, ‘एउटामात्रै तहमा पनि कारबाहीको सिफारिसमा परेका, व्यक्तिगत र गुटगत इगो, प्रतिष्पर्धाका कारण फरक समूहको भए नदिने विगतदेखिकै चलनले प्रभावित गरेको छ ।’

यस्तो थियो समय तालिका

१) एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाका हकमा जिल्ला सभापतिले प्रतिनिधि सभा क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यता फारम र नामवाली माघ १२ गते ५ बजेसम्म अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।

२) एकमात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाका सभापति र एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाका हकमा प्रतिनिधि सभा क्षेत्रीय सभापतिले प्रदेश सभा क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यता नवीकरण फारम र नामावली माघ १३ गते ५ बजेसम्म अनिवार्य बुझाइसक्नु पर्नेछ ।

३) प्रदेश सभा क्षेत्रीय सभापतिले गाउँ–नगरपालिका सभापतिलाई क्रियाशील सदस्यता फारम र सम्बन्धित गाउँ–नगरपालिकाका कियाशील सदस्यहरूको नामावली २०८१ माघ १४ गते सोमबार दिनको ५ बजेसम्ममा अनिवार्य बुझाइ सक्नुपर्नेछ ।

४) गाउँ–नगरपालिका सभापतिले आफूले प्राप्त गरेको क्रियाशील सदस्यता नवीकरण फारम र सम्बन्धित वडाका क्रियाशील सदस्यको नामावली माघ १५ गते ५ बजेभित्रमा अनिवार्य रुपमा वडा कार्यसमितिका सभापतिलाई बुझाइ सक्नु पर्नेछ ।

वडामा नवीकरणको समयसीमा

१) सम्बन्धित वडा सभापतिले गाउँ–नगरपालिका सभापतिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र नामावलीअनुसार माघ १५ गते मंगलबारदेखि फागुन १ गतेसम्म वडा कार्यसमितिको बैठक राखी क्रियाशील सदस्यता नवीकरण कार्य र नवीकरण शुल्क दुई सय रुपैयाँ मात्र लिई सम्पन्न गर्ने ।

नवीकरण भएका क्रियाशील सदस्यहरूको फारम र सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यहरूको नामावली र सदस्य शुल्कसमेत अनिवार्य सम्बन्धित गाउँ–नगरपालिका कार्यसमितिमा बुझाइसक्नु पर्नेछ ।

२) वडाहरूबाट प्राप्त नवीकरण भइआएका क्रियाशील नवीकरण फारम आवश्यक निर्णय–सिफारिस गरी नवीकरण भएका क्रियाशील सदस्यता फारम र सदस्यता शुल्क रकमसमेत फागुन १० गतेभित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा बुझाइसक्नु पर्नेछ ।

३) गाउँ–नगरपालिका समितिबाट प्राप्त क्रियाशील सदस्यहरूको नवीकरण भएका फारम र सदस्यता शुल्क फागुन २० गतेभित्र अनिवार्य प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउनु पर्नेछ ।

४) प्रदेश सभा क्षेत्रबाट प्राप्त भएका क्रियाशील सदस्यता नवीकरण, फारम र सदस्यता शुल्क फागुन मसान्तभित्र अनिवार्य रुपमा सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाइसक्नु पर्नेछ ।

५) एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र सदस्यता शुल्क चैत १५ गतेभित्र अनिवार्य जिल्ला कार्यसमितिमा बुझाइसक्नु पर्नेछ ।

६) जिल्ला कार्यसमितिहरूले मातहतका समितिबाट तहगत रुपमा नवीकरण र आवश्यक सिफारिस भइआएका क्रियाशील सदस्यता नवीकरण फारम जिल्लामै सरक्षित राख्नु पर्नेछ ।

महामन्त्री थापाले नवीकरण भएका क्रियाशील सदस्यहरूको नामवाली र वडागत संख्यासहित सदस्यता शुल्क कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको टेकु शाखामा रहेको खातामा जम्मा गर्न भनेका थिए ।

उनले बैंकमा सदस्यता शुल्कवापतको रकम जम्मा गरेको भौचर चैत्र २९ गते ३ बजेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रुपमा प्राप्त हुने गरी पठाउन आग्रह गरेका थिए ।

महामन्त्री थापाका अनुसार नवीकरण रकम, नामावली र वडागतको संख्याको विवरण केन्द्रमा प्राप्त भएपछि मात्रै पार्टीको वेबसाइटमा नवीकरण ‘डाटा इन्ट्री’का लागि ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइने छ ।

परिपत्रमा वडा, पालिका, प्रदेश सभा क्षेत्रीय समिति, प्रतिनिधि सभा क्षेत्रीय समितिले आफूभन्दा माथिल्लो निकायमा नवीकरण फारम बुझाउँदा आफ्नो समितिले प्राप्त गर्ने प्रतिक्रियाशील सदस्यताबापत १० रुपैयाँका दरले हुने रकम कट्टा गरेर बाँकी रकम माथिल्लो तहमा बुझाउनु पर्ने उल्लेख छ ।

कांग्रेसले जिल्ला कार्यसमितिलाई मातहतका तहहरूबाट प्राप्त भएको क्रियाशील सदस्यहरूको नवीकरण फारम संख्याका आधारमा प्रतिफारम १० रुपैयाँ जिल्ला कार्यसमितिमा राखेर बाँकी १५० रुपैयाँ (प्रदेश कार्यसमितिले प्राप्त गर्ने प्रति फारम रु. १०।– समेत गरी) का दरले एकमुष्ट रकम केन्द्रीय कार्यालयमा पठाउने परिपत्र गरेको थियो ।


कांग्रेसका सदस्य दुई प्रकारका

कांग्रेसको विधानले पार्टीभित्र दुई किसिमका सदस्यता व्यवस्था गरेको छ । पहिलो – कांग्रेस सदस्य र दोस्रो– कांग्रेस क्रियाशील सदस्य ।

सामान्यतः कांग्रेसले १८ वर्ष पूरा भएको, पार्टीको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको र प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएकालाई पहिलो प्रकृतिको सदस्यता दिने गरेको छ ।

पहिलो प्रकृतिको सदस्यता अर्थात् ‘नेपाली कांग्रेसको सदस्य’का रूपमा सदस्यता लिएको एक वर्ष भइसकेपछि क्रियाशील सदस्यता लिन योग्य मानिन्छ ।

कांग्रेस विधानको धारा ४ मा लेखिएको छ, ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फारम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमिति कार्यालयमार्फत् तोकिएबमोजिमको शुल्कसहित आवेदन गर्न सक्नेछ ।’

विधानमा जेसुकै लेखे पनि कांग्रेसभित्रको गुट–उपगुटका कारण क्रियाशील सदस्य बन्न नपाएको गुनासो बढ्दै गएको छ । अर्कातिर क्रियाशील सदस्य नै बन्न नदिने प्रवृत्ति देखिँदै आएको छ ।

यस्तै; कांग्रेसमा क्रियाशील सदस्यता लिइसकेका सदस्यहरूको सदस्यता नवीकरणमा पनि विभन्न तहका कार्यसमितिहरूले ढिलाइ गर्ने प्रवृत्ति पनि रहीआएको छ ।

कसरी नवीकरण हुन्छ क्रियाशील सदस्यता ?

कांग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले प्रत्येक वर्ष आफू सदस्य रहेको वडा कार्यसमितिमा नवीकरणका लागि तोकिए बमोजिमको आवेदन दिनुपर्ने र वडा कार्यसमितिले सदस्यता नवीकरण गर्ने विधानको धारा ६ मा ‘नेपाली कांग्रेसको सदस्यता नवीकरण गर्ने कार्यविधि’ अन्तर्गत व्यवस्था छ ।

कांग्रेसको विधानको धारा ७ (क) अनुसार क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्छ । त्यसका लागि क्रियाशील सदस्यले वडा कार्यसमितिमा तोकिएबमोजिमको आवेदन दिनुपर्छ ।

क्रियाशील सदस्यता नवीकरण गर्न चाहने कांग्रेस कार्यकर्ताले नवीकरण गर्दा योग्यता पुगेको प्रमाणसहित आफैँ वडा कार्यसमितिको कार्यालयमा उपस्थित भएर आवेदन दिनुपर्ने विधानमा उल्लेख छ ।

वडा कार्यसमितिले योग्यता पुगेको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्न फारम प्राप्त भएको दुई हप्ताभित्र गाउँपालिका-नगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउनुपर्ने वैधानिक व्यवस्था छ ।

त्यसपछि गाउँपालिका-नगरपालिका कार्यसमितिले प्राप्त नवीकरणसम्बन्धी सबै आवेदनमा आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा, प्रदेश भा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्छ ।

जिल्ला कार्यसमितिले मातहत कार्यसमितिका सिफारिस र रायसमेतको आधारमा आवेदनमाथि बढीमा एक महिनाभित्र निर्णय गरेर आवेदक र मातहतका सिफारिस गर्ने सबै निकायलाई निर्णयको जानकारी गराउनुपर्ने कांग्रेसमा व्यवस्था छ ।

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाउने विधानमा भनिएको छ ।

विभिन्न तहका कार्यसमितिले राय व्यक्त गर्दा क्रियाशील सदस्यता नवीकरणका लागि विधानबमोजिम योग्यता पुगे-नपुगेको हेर्नुका साथै पछिल्लो स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा आवेदकको भूमिका र अन्य जिम्मेवारी पूरा गरे-नगरेको समेत हेर्ने गर्छन् ।

जसका लागि आवश्यक परे विभिन्न तहका निर्वाचनका उम्मेदवारको राय पनि लिनसक्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ ।

क्रियाशील सदस्यताको कार्यविधि

कांग्रेस विधानको धारा ५ (क) अनुसार वडा कार्यसमितिले नियमित रूपमा क्रियाशील सदस्यता सिफारिस गरी गाउँपालिका-नगरपालिका कार्यसमितिमा पठाउनुपर्छ ।

वडा कार्यसमितिले वडा कार्यसमितिको बैठक गरी वडा भित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गरेर क्रियाशील सदस्यता दिनुपर्ने व्यक्तिको नाम कार्यसमितिको बैठकबाट निर्णय गरी रायसाथ गाउँपालिका-नगरपालिका कार्यसमितिमा पठाउँछ ।

वडा कार्यसमितिले नियमित रूपमा योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरे गाउँपालिका-नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता दिनुपर्ने कांग्रेसका सदस्यको नामावली माग्ने अधिकार विधानले दिएको छ ।

गाउँपालिका-नगरपालिका कार्यसमितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिश भएर आएका व्यक्ति विधानबमोजिम क्रियाशील सदस्यता पाउनयोग्य भए वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउँछ ।
वडा कार्यसमितिले सम्बन्धित व्यक्तिलाई फारम प्राप्त भएको दुई हप्ताभित्र फारम भर्न लगाई सिफारिस साथ गाउँपालिका-नगरपालिका कार्यसमितिमा पठाउँछ ।

गाउँपालिका-नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यताको निर्णय गर्नुपर्ने विधानमा व्यवस्था छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सदस्यताको सम्पूर्ण विवरण राखी मातहतका निकायलाई राख्न लगाउने र जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउँछ ।

कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको सदस्यलाई केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको हस्ताक्षर भएको ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता’को प्रमाण पत्र दिने गरिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ४३ बजे

पाचँकन्या सामुदायिकमा एक महिलाको शव फेला

सुनसरी – धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र एक महिलाको शव

नेपाल र भारतका सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं – नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक

वायु प्रदूषण न्यूनीकरणमा सरकारले तत्काल कदम चाल्नुपर्ने

काठमाडौं – वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो

अर्कैको जग्गा बैना गराएर साढे ४५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – प्रहरीले अरुकै जग्गा बैना गरेर साढे ४५ लाख

प्रजातन्त्र प्राप्तिमा चन्द्रशेखरको योगदान महत्त्वपूर्ण : सभापति देउवा

काठमाडाैं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातन्त्र प्राप्तिमा