काठमाडौं – करिब तीन सातादेखि उच्च रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण केही कम भएको छ । उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएपछि प्रदूषण घटेको हो ।
बुधबार दिउँसोसम्म उपत्यकाका विभिन्न स्थानको एक्यूआई अधिकतम १५० देखि १८० सम्म रहेकोमा बिहीबार बिहान ११ः३० मा उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १४० भन्दा कम रहेको छ । तर अझै पनि प्रदूषित सहरको सूचीमा काठमाडौं कायमै छ । शनिबार भने काठमाडौंको एक्यूआई ९२ रहेको छ ।
एक्युआईका अनुसार काठमाडौं शुक्रबार ८ औं स्थानमा थियो भने आज शनिबार १९३औं स्थानमा छ ।
वायु प्रदूषण र यसको कारण
वायु मण्डलमा बाह्य तत्वहरू मिसिन गई हावाको अवस्था बिग्रनुलाई वायु प्रदूषण भन्ने गरिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिसको स्वास्थ्य, खाना, सम्पत्ति तथा मनोरञ्जनलाई नकारात्मक प्रभाव पार्ने गरी मानवीय क्रियाकलापबाट वातावरणमा उत्पन्न विकारहरू वायुमण्डमा थुप्रिंदा हुने प्रदूषणलाई वायु प्रदूषण भनिन्छ । जसको असर अहिले नेपालमा मात्रै होइन विश्व जगतमै परिरहेको विज्ञहरू बताउँछन् ।
डब्ल्यूएचओको मापदण्डअनुसार एक्यूआईको मान १०० भन्दा कम भएको वायु सास फेर्न सुरक्षित हुन्छ । तर ४००–५०० पुग्दा त्यसलाई गम्भीर मानिन्छ ।
सवारी साधनबाट निस्कने धुवाँ तथा धुलो, उद्योगधन्दाबाट निस्कने धुलो, धुवाँ, फोहोरमैला खुला रुपले वायुमा छोडिनु, ज्वालामुखी विस्फोट, आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट, खाना पकाउन दाउरा, गुइँठा, कृषिजन्य अवशेषको प्रयोग, दूषित ग्याँस हावामा मिसिनुलगायतका कारणले वायु प्रदूषण हुने गर्दछ ।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी) का अनुसार वायुको गुणस्तर मापन गर्ने उपकरणहरूमा निश्चित खालका प्रदूषक तत्वको पहिचान गर्न सक्ने सेन्सर जडान गरिएको हुन्छ ।
केहीले लेजर प्रयोग गर्दै ‘पार्टिक्युलेट म्याटर’ भनिने सूक्ष्म तत्वको घनत्व मापन गर्छन् भने अन्यले भूउपग्रहबाट खिचिएका तस्बिरमा निर्भर हुँदै पृथ्वीले परावर्तन वा उत्सर्जन गरेको ऊर्जाको विश्लेषण गर्छन् ।
अहिलेको परिप्रेक्ष्यमा हेर्यौं भने हाम्रो नियमित वायु प्रदूषणका स्रोतहरू भनेको सवारी साधनबाट निस्किने धुवाँ त छँदैछ त्यसैमाथि अहिलेको मौसममा लागेको वन डढेलो छिमेकी देशमा भएका कलकारखानाका प्रदूषित हावा नेपाल आउने र बाहिर जाने ठाउँ नभएकाले यहाँ थुप्रिएका कारण वायु प्रदूषण भएको विज्ञहरू बताउँछन् ।
जसको असर अहिले मानव स्वास्थ्यसँगै नेपालको पर्यटन क्षेत्रमा पनि परेको विज्ञको भनाइ छ । वातावरणविद् उत्तमबाबु श्रेष्ठ भन्छन्– ‘बाह्य तथा आन्तरिक पर्यटकहरू हिमाल चढ्ने समय हो । तर जताततै वायु प्रदूषणले ढाकेर केही नदेखिने अवस्था रहेकाले पर्यटकहरू निराश भएर फर्किने गरेका छन् ।’
वायु प्रदूषण र स्वास्थ्य
वायु प्रदूषणले मानव शरीरका करिब सबै अङ्गलाई असर गर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले बताए ।
उनका अनुसार यसबारेमा धेरै अध्ययनहरू भएका छन् । ती अध्ययन अनुसार नेपालमा २० देखि २१ प्रतिशतको मृत्यु वायु प्रदूषणकै कारण हुने गरेको पाइएको छ ।
विशेष गरेर श्वासप्रश्वाससम्बन्धी रोगहरूलाई बढाउने, मुटुमा असर गर्ने, मधुमेह बढाउने, गर्भमा रहेको बच्चा समयअगावै जन्मने, कम तौलको जन्मने, गर्भ खेर जानेलगायत प्रजनन स्वास्थ्यमा पनि यसले असर गर्ने अनुसन्धान अधिकृत डा. धिमालको भनाइ छ ।
त्यस्तै बालबालिका तथा ज्येष्ठ नागरिक, दीर्घ रोगीहरू, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई धेरै असर गर्ने भएकाले जोखिम अवस्थामा रहेकाहरूले प्रदूषण भएका बेला सकेसम्म बाहिर ननिस्कने र निस्कनै परे पनि प्रदूषण कम गर्ने ‘एन–९५’ मास्कहरू लगाउनुपर्ने उनको सुझाव छ ।
वायु प्रदूषण मानव स्वास्थ्यका लागि गम्भीर जोखिमयुक्त भइसकेको र यसका कारण अत्यधिक श्वासप्रश्वाससम्बन्धी समस्या, दम, मुटु रोग तथा अन्य दीर्घरोगीका लागि खतरा बढेको स्वास्थ्य विज्ञहरू बताउँछन् । मौसम परिवर्तनसँगै अहिले बढिरहेको प्रदूषणका कारण विभिन्न अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेको छ ।
बालबालिकादेखि ज्येष्ठ नागरिक सबैमा यसको असरले स्वास्थ्य समस्या बढेको चिकित्सक बताउँछन् । छाती रोग विशेषज्ञ डा. सुरजकुमार गुप्ता भन्छन्,– ‘मौसमी फ्लुका बिरामी सामान्य रुपमा देखिए पनि श्वासप्रश्वासका बिरामी यतिबेला घट्नुपर्ने हो तर घट्न सकेको छैनन् । दम, निमोनिया, रुघाखोकीका बिरामी धेरै आउने गरेको उनले बताए ।
वायु प्रदूषण नियन्त्रण गर्ने उपाय
वातावरणविद् उत्तमबाबु श्रेष्ठ भन्छन्– ‘वायु प्रदूषण आजको विषय होइन यो २० औं वर्ष अगाडिदेखिको समस्या हो । जसको नियन्त्रणका लागि केही राम्रा काम पनि गरेका थियौं । तर ती कार्यान्वयन नहुँदा समस्या आएको हो ।’
उनका अनुसार काठमाडौं उपत्यकामा रहेका इट्टाभट्टाहरूलाई बाहिर सार्ने अथवा सुधारिएका चिम्नीहरू जडान गर्ने, २० वर्ष पुराना सवारी साधन तथा टेम्पोहरू हटाउनेलगायत थुप्रै राम्रा नीतिहरू बनेका थिए ।
साथै पेट्रोललगायत पेट्रोलियम पदार्थमा शुल्क लिने प्रदूषण कर लिएर एउटा कोषमा राख्ने र त्यो कोषले वातावरण प्रदूषण र वायु प्रदूषणलाई नियन्त्रण र रोकथाम गर्न विभिन्न कार्यक्रम चलाउने भनेर हालसम्म सरकारले १९ अर्ब रकम उठाएको वातावरणविद् श्रेष्ठलेको भनाइ छ ।
वायु प्रदूषण न्यूनीकरणका लागि भनेर वातावरण विभाग गठन गरिएको थियो । यो केन्द्रमा गरिएको काम भयो भने स्थानीय रुपमा पनि वातावरण परीक्षकदेखि लिएर स्थानीय तहमा वातावरण शाखा बनाउने काम हुँदै आएको छ ।
‘यो भनेको अर्थ मन्त्रालयले जनताबाट उठाएको कर हो । तपाईं हामी सबैले तेल हाल्दा तिरेको पैसाबाट उठेको हो । जुन सार्वजनिक सवारी साधन चढ्ने मान्छेले तिरिरहेका हुन्छन् । तर जुन कामका लागि पैसा उठाइएको हो त्यो मान्यता अर्थ मन्त्रालयले कुल्चिरहेको छ,’ वाताववरणविद् श्रेष्ठ भन्छन्, ‘जसको लागि महालेखा परीक्षकको कार्यालयले यो रकम कहाँ र कसरी खर्च गरेको ? भनेर हरेक वर्ष प्रश्न उठाइरहेको छ । तर सरकारले यसलाई लत्याउँदै आइरहेको छ ।’
प्रदूषण नियन्त्रणका लागि सबैभन्दा पहिले यसको स्रोत पहिचान गर्नुपर्ने उनको भनाइ छ । ‘पहिलो स्रोत हो, धुवाँ–धुलो । त्यस्तै वन डढेलो । यी समस्याका रोकथामका उपाय अपनाउनुपर्छ,’ वातावरणविद् श्रेष्ठ भन्छन्, ‘त्यस्तै अर्को भनेको भेहिकल अर्थात् गाडीबाट आउने धुवाँ–धुलोको नियन्त्रण गर्नुपर्यो । जसको लागि हामीसँग नीति नियम पनि छ त्यसलाई कार्यान्वयन गर्नुपर्यो ।
वातावरणविद् श्रेष्ठ भन्छन्– अर्को उपाय हो बाटो बनाउने, घरहरू बनाउने, वा कुनै पनि भौतिक संरचनाहरू बनाउने जुन नेपालको चलन छ त्यो संसारमै सबैभन्दा गएगुज्रेको छ । जस्तै बाटो खनेर महिनौंसम्म नपुर्ने, माटो निकालेर त्यत्तिकै छोड्ने, काम गरिन्छ । यो अभ्यासलाई फेर्नुपर्छ । यस्ता वायु प्रदूषण हुने खालका अभ्यासलाई फेर्नुपर्छ ।
अलिकति जनचेतनाको पनि अभाव छ । विशेष गरेर मानिसहरू आफैंले जानेर वा नजानेर आगो लगाउने गर्दछन् । अहिलेकै अवस्थामा पनि फोहोरहरू जलाएको देख्न सकिन्छ । जसले प्रदूषणलाई बढाउने काम गर्ने भएकाले यस्ता काम तत्काल रोक्नका लागि केन्द्रदेखि स्थानीय तहहरूले जनचेतना जगाउने आवश्यक परे कारबाही पनि गर्नुपर्यो ।
कुन अवस्थामा के गर्ने ?
वायु प्रदूषणको कुनै तहको प्रदूषण त्यस्तो धेरै असर गर्ने खालको हुँदैन । कुनैले चाहिँ दमका रोगीहरू बालबालिका तथा ज्येष्ठ नागरिकलाई असर गर्ने हुन्छ । कुनैले सबैलाई असर गर्छ । असर पनि यति गर्छ कि एक दिनमा १० वटा चुरोट खाए बराबरको असर गर्छ । त्यसैले वायु प्रदूषणको कस्तो अवस्थामा के गर्ने भन्ने तयारी गर्नु पर्ने डा.श्रेष्ठ बताउँछन् ।
‘जस्तै वायु प्रदूषण एकदमै चरम अवस्थामा पुग्यो भने गाडीहरू जोरबिजोर चलाउने हो कि विद्यालय बन्द गर्ने हो कि,’ वातावरणविद् श्रेष्ठ भन्छन्, ‘अस्पतालहरूमा चिकित्सकलाई सिकाएजस्तै यस्तो अवस्थामा यो–यो काम गर्छौं भनेर पोलिसी बनाउने र त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’
यसरी काम गर्दा धेरै जोखिम भएको अवस्थामा तत्काललाई राहत दिन्छ । तर दीर्घकालका लागि काम गर्ने हो भने त नीति नियम अनुसार चल्नुपर्ने डा. श्रेष्ठको भनाइ छ ।
के गर्दैछ वातावरण विभाग ?
वातावरण विभागका सूचना अधिकारी दिपक ज्ञवाली भन्छन्, ‘वायु प्रदूषण घटाउने कुरा हाम्रो मौसम र भूगोलमा पनि भर पर्छ । जस्तै पानी पर्यो भने प्रदूषण केही घट्छ भने सुख्खा हुँदा बढ्छ । भूगोलको कुरा गर्ने हो भने काठमाडौंको भूवनावट कचौरा आकारको छ । जसका कारण प्रदूषण बाहिरबाट पनि भित्रै उत्सर्जन हुन्छ । बाहिर निस्किने ठाउँ छैन । यो प्रदूषण बाहिर निस्कनका लागि कि त ठूलो हावा चल्नुपर्छ या त पानी पर्नुपर्छ ।’ अहिले परेको पानीले तत्कालका लागि केही राहत भए पनि यत्तिले प्रदूषण नघट्ने उनको भनाइ छ ।
वायु प्रदूषण न्युनीकरणका लागि बनेका नीति नियमहरू कार्यान्वयन नभएको गुनासोका विषयमा भने सबै नति नियमहरू कार्यान्वयन भएरै अहिलेको अवस्था आएको र यदि नभएको भए अझै भयानक स्थिति हुने उनको दाबी छ । ‘कार्यान्वयनको पाटोलाई अझ बलियो बनाउनुपर्छ, यत्तिले पुग्दैन भन्ने ठाउँ चाहिँ छ तर कार्यान्वयन नै भएन भन्न मिल्दैन ।’ उनले भने ।
सवारी साधनकको चेकजाँचका क्रममा एक तिहाई गाडीले नियमको पालना गरेका छैनन् । ती दुई तिहाई गाडीले नियमहरूको पालना गर्दा थोरै मात्रामा भएपनि प्रदूषण नियन्त्रण भएको उनको भनाइ छ ।
सबैलाई आ–आफ्नो काम व्यवस्थित गर्नका लागि नीति नियम सरकारले बनाउने हो । पालना गर्ने जिम्मेवारी स्वयम् व्यक्ति, संस्थाको पनि दायित्व हो । कसैले पालना गरेन भने अनुगमन तथा कारबाही गर्ने अलग पाटो भयो । ‘नियम बनेको पालना गर्न बनेको हो कारबाही गर्न होइन ।’ सूचना अधिकारी ज्ञवालीले भने ।
प्रतिक्रिया