कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, साढे ६२ अर्ब बढीको निर्यात | Khabarhub Khabarhub

कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, साढे ६२ अर्ब बढीको निर्यात


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले निर्यात गर्ने वस्तुहरूमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ । यो अवधिमा भटमासको तेल मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाइ भटमास तेलको निर्यातबाट आइरहेको छ । 

त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल छ । नौ महिनामा नौ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । यसमा पनि अर्धप्रशोधित सूर्यमुखी तेल आयात गरेर त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्छ ।

भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीका अनुसार दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीहरूले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् ।

‘यसमा हाम्रा छिमेकी देशहरुले अरु मुलुककरुबाट आयात गर्दा कति भन्सार महशुल लाग्छ भन्ने कुराले अर्थ राख्छ । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेकोमा त्यसलाई नेपाली व्यवसायीले अवसरको रुपमा लिए’, उनले भने। 

भारतले तेस्रो मुलुकबाट आयात गर्ने तेलमा बढी भन्सार लाग्ने तर नेपालले साफ्टा सुविधाअन्तर्गत भन्सार छुट पाउने भएका कारण सस्तो मूल्यमा तेल निर्यात गर्न सम्भव भएको हो । विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको थियो । तर २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिन्छ ।

प्रशोधित तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अंकसमेत बढेको देखिएको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा मात्र निर्यात ६५ दशमलव १६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको कूल निर्यात एक खर्ब १३ अर्ब ९४ करोड बराबर थियो । जबकि चालु आर्थिक वर्षको सोहि अवधिमा रू एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख बराबर पुगेको छ ।

नेपालले निर्यात बढी गरेको अन्य वस्तुहरूमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट आठ अर्ब नौ करोड ७५ लाख ३५ हजार बराबरको निर्यात भएको छ भने अलैँची छ अर्ब २६ करोड नौ लाख बराबरको निर्यात भएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्ममा मुलुकले कुल रू १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाखको वैदेशिक व्यापारमा रू ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाखको घाटा व्यहोरेको छ । यो अवधिको कुल वस्तु निर्यात १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख बराबरको छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ । पछिल्लो नौ महिनामा ९१ अर्ब २६ करोड तीन लाख बराबरको डिजेल ४७ अर्ब ७७ करोड ६४ लाख बराबरको पेट्रोल र ४६ अर्ब ५८ करोड ७० लाख बराबरको एलपी ग्यास आयात गरेको छ ।

त्यस्तै, नेपालले बढी आयात गर्ने वस्तुहरूमा पनि कच्चा (क्रुड) भटमास तेल र कच्चा सूर्यमुखी तेल पनि पर्दछन् । गत साउन देखि चैत मसान्तसम्ममा ६६ अर्ब पाँच करोड बराबरको अर्धप्रशोधित सोयाबिन तेल र रू २२ अर्ब ६४ करोड बराबरको अर्धप्रशोधित सनफ्लावर तेल आयात भएको छ ।

नेपालले बढी आयात गर्ने अन्य वस्तुहरूमा फलाम तथा फलामजन्य वस्तु, स्मार्टफोन, सुन, विद्युतीय सवारी साधनलगायत छन् । नौ महिनामा ३७ अर्ब ८९ करोड बराबरको फलाम तथा फलामजन्य वस्तु, २५ अर्ब ३८ करोड बराबरको स्मार्टफोन र  १० अर्ब ९४ करोड ७९ लाख बराबरको विद्युतीय सवारीसाधन आयात भएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ६ : ०८ बजे

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ परिवारलाई मुआब्जा 

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित