जेडी भान्स भारतमा, अमेरिका र भारतबीच कृषि र प्रविधिमा अझै कुरा मिलेन | Khabarhub Khabarhub

जेडी भान्स भारतमा, अमेरिका र भारतबीच कृषि र प्रविधिमा अझै कुरा मिलेन



काठमाडौं- अमेरिकी उपराष्ट्रपति जेडी भान्स यतिखेर भारतमा छन् । भारतीय मूलकी महिलासँग विवाह गरेका भान्स परिवारसहित भारत पुगेका हुन् । उनको भ्रमण दलमा श्रीमती उषा भान्स र भान्स दम्पत्तिका दुई छोरा र एक छोरी पनि छन् । चारदिने भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेका भान्स दम्पत्ति आगरा र जयपुर पनि जाने कार्यक्रम छ ।

उपराष्ट्रपति भान्सले भारतमा रहँदा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा दुई नेताबीच आपसी चासो हितका विषयमा छलफल भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि आफ्नो अमेरिका भ्रमणका क्रममा पनि प्रधानमन्त्री मोदीले उपराष्ट्रपति भान्ससँग भेटवार्ता गरेका थिए ।

भारत र अमेरिकाबीच कायम द्विपक्षीय सम्बन्धको भविष्य अनिश्चयतर्फ धकेलिएका बेला भान्स अमेरिका भ्रमणमा पुगेका हुन् । अहिले अमेरिकाले विश्वभरका देशमाथि व्यापार युद्ध छेडेको छ । अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगै निर्यात साझेदार पनि हो । आयातित सामान नरुचाउने र अमेरिकामै उत्पादित सामानलाई प्राथमिकता दिन चाहने ट्रम्प प्रशासन भारतीय निर्यातकर्ताका लागि टाउको दुखाइ बनेको छ ।

हाल अमेरिकामा भारतीय मूलका आप्रवासी तथा विद्यार्थीको बसोबासका विषयमा पनि बहस चलिरहेको छ । ट्रम्प प्रशासनले भारतीय विद्यार्थीलाई दिइने भिसामा कडाइ गर्ने नीति लिएको छ । त्यसअघि ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिका पुगेका भारतीय आप्रवासीलाई जञ्जीरले बाँधेर हवाइजहाजबाट भारत फर्काइदिएको थियो ।

द्विपक्षीय सम्बन्ध परिवारका साथ भारत आएका भान्सलाई सोमबार दिल्लीस्थित पालम एअर बेसमा उच्च सम्मान दिइयो । विमानस्थलमा ओर्लिने बेला भान्सका छोराछोरीले भारतीय शैलीको पहिरन लगाएका थिए । उनलाई विमानस्थलमा भारतको केन्द्रीय मन्त्रिपरिषदमा सूचना तथा प्रसारण, रेलवे एवम् सूचना प्रविधिमन्त्रीको जिम्मेवारी पाएका अश्विनी वैष्णवले स्वागत गरेका थिए । भान्सका लागि रातो कार्पेट विच्छ्याइएको थियो भने उनलाई ‘गार्ड अफ अनर’ पनि दिइएको थियो ।

यसअघि सन् २०२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति राष्ट्रपति जो बाइडेन भारत भ्रमणमा आएका थिए । सन् २०२३ को सेप्टेम्बर महिनामा भारतमा आयोजित जी २० को शिखर सम्मेलनमा सहभागी हुने राष्ट्रपति बाइडेन भारत आएका थिए । उनलाई विमानस्थलमा तुलनात्मक रुपमा कनिष्ठ मानिने तत्कालीन नागरिक उड्डयन राज्यमन्त्री भीके सिंहले स्वागत गरेका थिए ।

भारत भ्रमणका क्रममा विमानस्थलमा द्वितीय महिला उषा भान्सले पनि खुबै चर्चा बटुलिन् । उनले लगाएको रातो पहिरनले धेरैको ध्यान तान्यो । डेली मेलका अनुसार उषाले सलोनी नामक डिजाइनर गाउन पहिरिएकी हुन् । उक्त गाउनको डिजाइन बेलायतमा आधारित भारतीय मूलकी सलोनी लोधाले गरेको डेली मेलले जनाएको छ । उनले लगाएको रातो गाउनको मूल्य ८ सय ५० डलर छ ।

भारतमा पाएको आतिथ्यताबाट द्वितीय महिला उषा भान्स र केटाकेटी पनि दंग देखिन्छन् । सोमबार नै भान्स परिवारले दिल्लीस्थित अक्षराधामको भ्रमण गरेका थिए । उषा हिन्दू धर्ममा आस्था राख्छिन् । जेडी भने इसाई हुन् । उनी सन् २०१९ मा क्याथोलिक बनेका थिए । अक्षराधामसँगै उनीहरु भारतमा रहँदा विभिन्न साँस्कृतिक एवम् धार्मिक कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ । उनीहरु जयपुरमा आयोजना हुने विवाह समारोहमा सहभागी हुनेछन् भने उनीहरुले आगरामा रहेको ताजमहल पनि घुम्नेछन् ।

भान्सले प्रधानमन्त्री निवासमा पनि उच्च सम्मान पाए । भान्स सोमबार बेलुका नै नयाँ दिल्लीस्थित लोकल्याण मार्गमा रहेको प्रधानमन्त्री निवास पुगेका थिए । आफ्नो निवास पुगेका भान्सलाई मोदीले मोटरसम्मै पुगेर स्वागत गरेका थिए । स्वागत गर्ने क्रममा प्रधानमन्त्री मोदीले भान्सका केटाकेटीसँग हात पनि मिलाएका थिए । मोदीले केटाकेटीलाई प्रधानमन्त्री निवास पनि घुमाएका थिए भने मयूरको प्वाँख उपहार पनि दिएका थिए ।

प्रधानमन्त्री मोदीले भान्स र उनको परिवारलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले भान्ससँगको फोटोसहित सामाजिक सञ्जाल एक्समा लेखेका छन्–

अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुशी लागेको छ । हामीले मेरो अमेरिका भ्रमण र राष्ट्रपति ट्रम्पसँगको भेटवार्तापछि तीव्र गतिमा भइरहेका प्रगतिको पुनरावलोकन गर्‍यौँ । हामी व्यापार, प्रविधि, रक्षा, ऊर्जा, जनस्तरको आदानप्रदानसहित आपसी हित हुने साझेदारीप्रति प्रतिबद्ध छौँ । भारत–अमेरिका वृहद विश्वव्यापी रणनीतिक साझेदारी हाम्रा जनता र संसारको उज्ज्वल भविष्यका लागि २१ औँ शताब्दीको उल्लेख्य साझेदारी हुनेछ ।

अमेरिकामा राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको शपथ लिएको चार महिनाभन्दा केही बढी भएको छ । तर, यसबीचमा अमेरिका र भारतका उच्च पदस्थ अधिकारीबीच बाक्लै भेटवार्ता र भ्रमण भएका छन् । ट्रम्पले जिम्मेवारी सम्हालेको एक महिना नबित्दै गत फेब्रुअरीमा मोदी अमेरिका भ्रमणमा पुगेका थिए । त्यसअघि पनि मोदी र भान्सबीच फ्रान्सको राजधानी पेरिसमा भेटवार्ता भएको थियो । गत महिना अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्ड पनि भारत भ्रमणमा आएकी थिइन् ।

आफ्नो अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई ‘मेगा साझेदारी’ को संज्ञा दिएका थिए । त्यसबेला राष्ट्रपति ट्रम्पले अब भारतले अमेरिकामा बनेको एफ–३५ लडाकु विमान खरिद गर्ने घोषणा गरेका थिए । सोही भ्रमणका क्रममा भारतले अमेरिकाबाट अझ धेरै तेल र ग्यास खरिद गर्ने जनाएको थियो ।

आतिथ्यता, भ्रमण, भेटघाट जेजस्तो भएपनि राष्ट्रपति ट्रम्पले भारतका विषयमा चर्को टिप्पणी गर्दै आएका छन् । ट्रम्प खासगरी अमेरिकी सामानमा भन्सार शुल्क लगाएको विषयमा भारतसँग असन्तुष्ट छन् । ट्रम्पले भारतलाई ‘ट्यारिफ किङ’ अर्थात् ‘भन्सार शुल्कको बादशाह’ को संज्ञा दिने गरेका छन् ।

गत अप्रिल २ का दिन ‘मुक्ति दिवस’ को अवसर पारेर ट्रम्पले भारतीय सामानमा २६ प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका थिए । यद्यपि त्यसको एक साता बित्दानबित्दै ट्रम्प त्यस घोषणाबाट पछि हटे । उनले ९० दिनका लागि सबै मुलुकका सामानमा समान १० प्रतिशत भन्सार महशुल वृद्धि गर्ने घोषणा गरेका छन् । सो म्याद आगामी जुलाई ९ मा सकिँदैछ ।

सोमबार मोदी र भान्सबीचको भेटवार्तापछि अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरले सार्वजनिक गरेको विज्ञप्तिमा पनि यस्तै आशय देखिएको छ । विज्ञप्तिमा ग्रिरले अझै पनि ‘भारतसँगको व्यापारिक सम्बन्धमा पारस्परिकताको गम्भीर अभाव’ रहेको उल्लेख गरेका छन् ।

उक्त विज्ञप्तिमा भनिएको छ–

आज, भारत–अमेरिका कम्प्याक्ट (क्याटलाइजिङ अपर्च्युनिटिज फर मिलिटरी पार्टनरसिप, एक्सलिरेटेड कमर्स एण्ड टेक्नोलोजी) पहल र वाशिंटनमा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले फेब्रुअरी १३, २०२५ मा शुरु गरेको द्विपक्षीय व्यापार सम्झौता (बीटीए) को वार्तामा भएको प्रगतिलाई अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिर स्वागत गर्नुहुन्छ ।

‘पारस्परिक व्यापारका विषयमा अमेरिकी व्यापार प्रतिनिधि र भारतको उद्योग वाणिज्य मन्त्रालयले वार्ताको मार्गचित्रका लागि सन्दर्भ सर्तलाई अन्तिम रुप दिएको पुष्टि गर्न पाउँदा मलाई खुशी लागेको छ ।’ राजदूत ग्रिरले भन्नुभयो, ‘भारतसँगको व्यापारिक सम्बन्धमा पारस्परिकताको गम्भीर अभाव छ । हाल भइरहेका वार्ताले अमेरिकी सामानका लागि नयाँ बजार खोल्न र अमेरिकी कामदारलाई हानी हुने नाजायज अभ्यासको सम्बोधन गर्दै सन्तुलन र पारस्परिकता कायम गर्न मद्दत गर्नेछ । भारतको रचनात्मक छलफल हालसम्म स्वागतयोग्य छ र म दुवै मुलुकका कामदार, किसान र उद्यमीका लागि नयाँ अवसर सिर्जना गर्न आतुर छु ।’

भारतले कतिपय अमेरिकी सामानमा लाग्दै आएको भन्सार महशुल कटौतीको घोषणा गरिसकेको छ । गत फेब्रुअरीको शुरुमा भारतले बजेट ल्याएको थियो । बजेट भाषणमा भारतीय अर्थमन्त्री निर्मला सीतारमणले विदेशमा निर्मित मोटरसाइकलको आयातमा भन्सार शुल्क कटौती गर्ने घोषणा गरेकी थिइन् ।

खासगरी अमेरिकाले भारतीय बजारमा आफ्नो मुलुकमा उत्पादन हुने कृषिजन्य वस्तु र प्रविधिको सहज पहुँच चाहेको छ । अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले भारतलाई आफ्नो बजार अमेरिकी कृषिजन्य वस्तुका लागि खुला गर्न आग्रह गर्दै आएका छन् । केही समयअघि उनले ब्लूमबर्गलाई दिएको अन्तरवार्तामा भनेका थिए, ‘यो बन्द रहन सक्दै सक्दैन ।’ उनले कृषिजन्य उत्पादनका लागि अमेरिकी बजार खुला हुनुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘कृषिका लागि भारतीय बजार खुला हुनुपर्छ… यो कसरी र कुन स्तरमा हुन्छ, शायद कोटा हुनसक्छ, सीमितता हुनसक्छ ।’

तर, आफैँ कृषिजन्य वस्तुको ठूलो उत्पादनकर्ता रहेको हिसाबमा भारतले भने आफ्नो बजारमा अमेरिकी वस्तुलाई पहुँच दिन आनाकानी गरिरहेको बताइएको छ । १९५० र ६० को दशकतिर भारतले आफ्नो विशाल जनसङ्ख्यालाई खाना खुवाउन खाद्य सहायतामा निर्भर थियो । तर, भारतले कृषिमा ल्याएको क्रान्ति विशेषगरी ६० को दशकको हरित क्रान्तिपछि भारत खाद्यान्नमा आत्मनिर्भर हुन थालेको थियो ।

अहिले भारत विश्वमा धेरै कृषिजन्य वस्तुको उत्पादन गर्ने एवम् निर्यात गर्ने मुलुकको सूचीमा आउँछ । भारत विश्वको सबैभन्दा ठूलो दूध उत्पादक मुलुक हो भने भारतमा अन्न, फलफूल, मासुजन्य वस्तु पनि उल्लेख्य मात्रामा उत्पादन हुँदै आएको छ । हाल भारत कृषिजन्य वस्तुको विश्वको आठौँ ठूलो निर्यातकर्ता मुलुक हो ।

यस्तो अवस्थामा आफ्नो कृषि क्षेत्रलाई विदेशी आयातित वस्तुबाट जोगाउनका लागि भारतले कृषिजन्य उत्पादनको आयातमा उच्च भन्सार महशुल लगाउने गरेको छ । भारतले कृषिजन्य आयातमा वस्तु तथा अवस्थाअनुसार शून्यदेखि १ सय ५० प्रतिशतसम्म भन्सार महशुल लगाउने गरेको छ । बीबीसीका अनुसार भारतले अमेरिकी कृषिजन्य वस्तुको आयातमा ३७.७ प्रतिशत भन्सार शुल्क लगाउँछ । यसको विपरित अमेरिकाले भने भारतीय कृषिजन्य वस्तुमा मुक्ति दिवसअघि केबल ५.३ प्रतिशत भन्सार शुल्क लगाउने गरेको थियो ।

अमेरिकाले भारतीय बजारमा गहूँ, कपास, मकैजस्ता वस्तुको निर्यातका लागि सहज पहुँच चाहेको बताइएको छ । अमेरिका र भारतबीच कृषिको क्षेत्रमा ठूलो असमानता छ । उदाहरणका लागि भारतको झण्डै आधा अर्थात् ७० करोड जनङ्ख्या कृषिमा निर्भर छन् । यद्यपि कृषिले भारतको कुल ग्राहस्थ उत्पादनमा केबल १५ प्रतिशतको योगदान दिन्छ । त्यसैगरी, भारतको खेतीयोग्य जमिन पनि खण्डीकृत छ । भारतमा औसतमा एक जना किसानसँग एक हेक्टरभन्दा थोरै जमिन छ ।

यसको विपरित अमेरिकाका २ प्रतिशतभन्दा कम जनसङ्ख्या कृषि पेशामा छन् । अमेरिकामा औसतमा एक जना किसानसँग ४६ हेक्टरसम्म जमिन रहेको विश्वास गरिन्छ । त्यसबाहेक अमेरिकाले आफ्ना किसानका लागि ठूलोस्तरमा सहायता पनि उपलब्ध गराउँछ । भारतको ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) नामक संस्थाका अजय श्रीवास्तवले बीबीसीलाई बताएअनुसार कुनै अवस्थामा अमेरिकाले कृषि क्षेत्रमा उत्पादन लागतको शत प्रतिशतसम्म सहायता दिने गरेको छ ।

भारतीय उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत वाणिज्य विभागको आर्थिक वर्ष सन् २०२३–२४ को तथ्यांक अनुसार सो अवधिमा दुई मुलुकबीच १ खर्ब १९ अर्ब ७१ करोड अमेरिकी डलर बराबरको व्यापार भएको छ । यसमध्ये भारतले अमेरिकातर्फ ७७ अर्ब ५१ करोड ५० लाख अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ ।

त्यस्तै, भारतले भने अमेरिकाबाट केबल ४२ अर्ब १९ करोड ५५ लाख डलर बराबरको सामान आयात गरेको छ । यसअनुसार अमेरिकासँगको व्यापारबाट भारतको व्यापार सन्तुलन ३५ अर्ब ३१ करोड १९ लाख डलर नाफामा छ । हाल भारत र अमेरिकाबीच कृषिजन्य वस्तुको व्यापार ८ अर्ब अमेरिकी डलर हाराहारीमा छ ।

अमेरिकी उत्पादनलाई बजार खुला गरे भारतीय किसान मर्कामा पर्ने र खाद्य सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुने भारतीय पक्षको बुझाइ छ । यद्यपि गत मार्चको अन्त्यतिर भारतले अमेरिकाबाट आयात कृषिजन्य वस्तुमा भन्सार शुल्क कटौती गर्न सकारात्मक रहेको समाचार सार्वजनिक भएको थियो ।

अमेरिकाले आफ्ना प्राविधिक सेवाका लागि पनि भारतीय बजारमा पहुँच चाहेको छ । विश्वमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता रहेको मुलुकको सूचीमा भारतको नाम पनि आउँछ । भारतमा झण्डै ९० करोड जनसङ्ख्यामा इन्टरनेटको पहुँच रहेको विश्वास गरिन्छ । यसअनुसार भारतमा चीनपछि दोस्रो धेरै मानिसहरु इन्टरनेटको पहुँचमा छन् ।

भारतीय व्यापारिक घराना रिलायन्स समूहले ‘जियो’ का नाममा सस्तो दरमा तीव्र गतिको मोबाइल इन्टरनेट विस्तार गरेपछि भारतमा इन्टरनेटका उत्पादनहरु पनि बढ्दै गएका छन् । हालै भारतका दुई वटा दूरसञ्चार कम्पनीहरु जियो र एअरटेलले विश्वका धनकुबेर र राष्ट्रपतिका ट्रम्पका प्रमुख साझेदार इलोन मस्कको स्वामित्वमा रहेको स्टारलिंकसँग भारतमा सेवा विस्तारबारे सम्झौता गरिसकेका छन् ।

भारतले अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लालाई आफ्नो बजारमा सहज पहुँच दिनका लागि आफ्नो नीतिमै संशोधनको तयारी गरेको समाचार सार्वजनिक भएका छन् । यसअघि विदेशबाट विद्युतीय सवारी आयात गर्दा शत प्रतिशत आसपास भन्सार शुल्क लाग्ने गरेको थियो । तर, नयाँ नीतिअनुसार भारतमै ५० करोड डलरको लागतमा कारखाना खोलेका कम्पनीका विद्युतीय सवारी आयात गर्दा केबल १५ प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने भएको छ । टेस्लाले गत मार्चमा भारतमा नयाँ शोरुम स्थापनाका लागि सम्झौता गरिसकेको छ ।

यो सामग्री तयार पार्दै गर्दा फाइनान्सियल टाइम्सले आफ्नो अनलाइन खुद्रा बजारमा अमेरिकी कम्पनीलाई सहज पहुँच दिन अमेरिकाले भारतलाई दबाब दिइरहेको समाचार लेखेको छ । व्यापारिक वार्ताका क्रममा ट्रम्प प्रशासनले आफ्ना कम्पनीलाई सहज पहुँच नदिइए भारतमाथि थप भन्सार महशुल वृद्धि गर्ने चेतावनी दिएको छ । हाल भारतको अनलाइन व्यवसायको बजार १ खर्ब २५ अर्ब अमेरिकी डलर बराबर छ ।

हाल भारतको अनलाइन खुद्रा व्यवसायमा फ्लिपकार्ट र अमेजन प्रमुख खेलाडी छन् । अमेजन अमेरिकी धनाढ्य जेफ बेजोसको कम्पनी हो भने फ्लिपकार्टमा पनि अमेरिकी खुद्रा व्यवसाय कम्पनी वालमार्टको ८५ प्रतिशत स्वामित्व छ । बेजोस वालमार्टका प्रमुख डग मकमिलनले ट्रम्पसँगको सम्बन्धमा सुधार गरेका छन् ।

उनीहरुले भारतीय बजारमा आफ्ना कम्पनीको पहुँच सहज बनाउन ट्रम्पलाई आग्रह गरेको फाइनान्सियल टाइम्सले जनाएको छ । रिलायन्स समूहलाई भारतको सबैभन्दा ठूलो खुद्रा व्यवसायी मानिन्छ । रिलायन्सको स्वामित्वमा भारतमा धेरै अनलाइन खुद्रा व्यवसाय सञ्चालनमा छन् ।

भारतले अमेरिकी कम्पनीलाई आफ्नो देशमा व्यवसाय गर्न त दिन्छ । तर, यसका लागि अमेरिकी कम्पनीहरुले निकै हैरानीको सामना गर्दै आएका छन् । भारतमा यस्ता अनलाइन खुद्रा व्यवसाय कम्पनीले घरेलु उत्पादकका लागि डिजिटल बजारको भूमिका निर्वाह गर्दै आएका छन् । यसका विपरित अमेरिकी कम्पनीका भारतीय प्रतिस्पर्धीले भने सामान उत्पादन गर्ने, स्वामित्व लिने र आफ्नो प्लेटफर्मबाट सामान बिक्री गर्न समेत पाउँछन् ।

अमेरिकाले खुद्रा व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानीलाई सीमित बनाउनेसँगै यस्तो अभ्यासलाई ‘गैर भन्सार अवरोध’ को संज्ञा दिने गरेको छ । भारतीय खुद्रा व्यवसायका लागि परामर्शदाता संस्था टेक्नोपाक एड्भाइजर्सका अध्यक्ष अरविन्द सिंघलका अनुसार अमेरिकाले सन् २००६ देखि नै भारतीय खुद्रा बजारमा आफ्नो पहुँच विस्तार गर्न चाहिरहेको छ ।

जेहोस्, दुबै मुलुकले द्विपक्षीय व्यापारिक साझेदारीलाई सन् २०३० सम्म ५ खर्ब डलर बराबर पुर्‍याउने लक्ष्य राखेका छन् । भारत ट्रम्पको पुनरागमनसँगै अमेरिकासँग व्यापारिक सम्झौताबारे वार्ता गर्न तयार हुने प्रारम्भीक मुलुक हो । यस्तो अवस्थामा दुई मुलुकबीच यसै वर्षको अन्त्यतिर व्यापारिक सम्झौताको पहिलो चरण सम्पन्न हुने अपेक्षा गरिएको छ । अब दुई मुलुकबीचको वार्ता कस्तो हुन्छ, त्यसले कस्तो परिणाम ल्याउँछ, त्यो भने हेर्न बाँकी छ ।

अहिले चाहिँ जेडी भान्सलाई भारतमा स्वागत गरेर प्रधानमन्त्री मोदी भने साउदी अरबको भ्रमणमा गएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : १५ बजे

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक’ 

पाटन– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए

एजेन्सी– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय