रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर | Khabarhub Khabarhub

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले सबै प्रतिवादीलाई जातीय विभेद मुद्दामा सफाइ दिएको छ । हत्या अभियोगमा २३ जनाको जन्मकैदको फैसला भने यथावत् राखेको छ ।

वि.सं. २०७७ साल जेठ १० गते जाजरकोटका नवराज विक आफ्नी प्रेमिका ठकुरी थरकी युवतीसँग विवाह गर्न रुकुम चौरजहारी पुगेका थिए । गाउँलेहरूले उनीसहित गएका १८ जनामध्ये ६ जनालाई कुटपिट गर्दा ज्यान गएको थियो ।

नवराज विकसहित ६ जनाको हत्या अभियोगमा थुनामा रहेका २४ जनामध्ये एक नाबालक प्रतिवादीलाई अदालतले पूर्ण सफाइ दिएको हो । ती नाबालकमाथि जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मात्र मुद्दा दर्ता गरिएको थियो । सो मुद्दामा सफाइ पाएसँगै उनी पुर्पक्ष मुक्त भएका छन् ।

अन्य २३ जना प्रतिवादीहरू भने जातीय विभेदसँगै ज्यान मार्ने र कर्तव्य ज्यान मुद्दामा पनि दोषी ठहर भएका थिए । उच्च अदालतले उनीहरूलाई जातीय विभेद मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ गते सुनाएको जन्मकैदको फैसला सदर गरेको हो ।

अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो ।

जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले बताए । ‘रुकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो, त्यो सदर भएको छ,’ उनले भने, ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । त्यसलाई उच्च अदालतले बदर गरेको छ ।’

घटना के हो ?

२०७७ जेठ १० गतेको जातीय नरसंहारका रुपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो ।

यो घटनामा रुकुम चौरजहारी नगरपालिका–८ वडाध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ‘५४ रुकुम पश्चिम ३६’ ९१० र दाजु ‘५४ रुकुम पश्चिम ३६’ ९३० लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

सरकारी वकिल कार्यालयमार्फत ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । उनीहरूमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो ।

सोती घटनाको कारक जातीय छुवाछूत भन्न नमिल्ने भन्ने आदेश चित्त नबुझेको भन्दै दलित अधिकारकर्मी खगेन्द्र सुनार लगायतले आज रातभरबाट उच्च अदालत सुर्खेत अगाडि धर्ना बस्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : ०० बजे

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं – अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्याधीश कार्कीबीच भेटवार्ता हुँदै

काठमाडौँ- अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र राष्ट्रपति

शीर्ष दलका युवा नेताले भने : संविधान सम्मत ढंगले अन्तरिम सकार गठन गरियोस्

काठमाडौं – हालैको जेन–जी आन्दोलनमा निहत्ता युवामाथि गोली प्रहार गरी

हालसम्म एक हजार ५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, १३ हजारभन्दा बढी फरार

काठमाडौं – जेनजीका नाममा भएको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार

जेन-जी आपसी विवादमा अल्झिँदा सडकमा दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वपलाई लिएर विवाद बढ्न थालेपछि