किन दुख्दैन आमालाई कोख ? मनोविद् भन्छन्- ‘समर्पणले सर्वनाश निम्त्याउँछ’ | Khabarhub Khabarhub

किन दुख्दैन आमालाई कोख ? मनोविद् भन्छन्- ‘समर्पणले सर्वनाश निम्त्याउँछ’

अत्यधिक प्रेमले मानिसलाई अपराधको बाटोमा लैजान्छ : मनोविद्



काठमाडौं‌- भगवान मिथ्या हुन सक्छ तर आमा सत्य हुन् अर्थात् आमा भगवानभन्दा माथि हुन् । संसारको सबैभन्दा पवित्र नाता आमा हो । निस्वार्थ प्रेम कसैले गर्छ भने, उनी आमा हुन् । नेपोलियन बोनापार्टले ‘मलाई एउटा असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु’ भनेर आमाको व्याख्या गरेका छन् । शास्त्रले पनि आमालाई पृथ्वीसँग तुलना गरेको छ ।

आमाले आफ्नो सन्तान बचाउनको लागि मृत्युसँग लडेको हामीले देखेका छौँ । मानिसमा मात्रै नभएर जनावरमासमेत त्यो दृश्य देख्न सकिन्छ । आफूमाथि आइपर्ने हरेक कष्ट सहन तयार हुन्छिन् आमा । तर, सन्तानमाथिको प्रहार उनलाई सह्य हुँदैन । कतिसम्म भने आफ्ना सन्तान कुट्ने पतिसेमत उनलाई दुस्मन लाग्छ । 

आमाको महत्व र आमा के हुन् भनेर शब्दमा उतार्न मुस्किल पर्छ । तर आमाहरूले नै स्वयं आफ्नै सन्तान मार्नेसम्म कसरी पुग्न सक्छन् ? पछिल्ला केही प्रतिनिधि घटना हेराैँ, जसले आमामाथि पनि प्रश्न तेर्स्याउन बाध्य पार्छ । 

शायद यही भएर कवि माधव प्रसाद घिमिरेले ‘पापिनी आमा’ लेखेका होलान् ।

घटना एक 

केही दिन अगाडि धनुषामा एक आमाले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफैँले पनि सेवन गरिन् । सहिद नगरपालिका–५ बासुदेवपट्टिमा गहुँमा राख्ने विषादी सन्तानलाई खुवाएर आमाले पनि खाइन् । जसको सेवनबाट तीन छोराछोरीको घटनास्थलमै मृत्यु भएको थियो । विष सेवनबाट गम्भीर भएकी आमा पविता साहलाई जनकपुरधामस्थित रामजानकी अस्पताल लगिएको थियो । 

अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । उनी गर्भवतीसमेत थिइन् । शल्यक्रिया गरेर उनको गर्भबाट बच्चा सकुशल निकालिएको थियो । पविताको दश वर्षअघि सुशील साहसँग बिहे भएको थियो । सुशील राइस मिलमा ट्याक्टर चालकका रुपमा कार्यरत छन् ।  साथै, पविताको ससुरा नारायण साह सोही वडाका निर्वाचित वडा सदस्य हुन् । घटना भएलगत्तै पति सुशील साह सम्पर्क विहीन भएका थिए ।

 अस्पतालमा परिवारका सदस्यहरू कोही पनि नआएपछि उपचारका लागि मन्जुरीनामा दिने मान्छे नभएर समस्या भएको थियो । गाउँको नातामा जेठान पर्नेसँग सहमति गराएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । नवजात शिशुको अवस्था सामान्य रहे पनि आमाको चारदिनपछि मृत्यु भयो । ६ वर्षीय आदित्य साह, ४ वर्षीया आकृति साह र २ वर्षीया छोरी आरती साहको घटनास्थलमै मृत्यु भएको थियो । 

पारिवारिक विवादका कारण घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । पविताको बुबा रामचन्द्र साहले छोरीले रहरले नभई जबरजस्ती विष सेवन गराएर हत्या गरेको दाबी गरेका छन् । छोरीलाई विगतमा पनि कुटपिट गर्ने गरेको उनको आरोप छ ।

घटना दुई 

त्यसैगरी राजविराजमा एक महिलाले आफूसहित नाबालक छोरालाई समेत विषपान गराएकी छिन् । विष सेवनबाट गम्भिर अवस्थामा पुगेका उनका ४ वर्षीय छोरा सौरभको उपचारको क्रममा मृत्यु भएको छ । आमाको अवस्था पनि गम्भिर रहेको छ । उनको उपचार नोवेल अस्पताल विराटनगरमा भइरहेको छ ।

 चनौरा– १ घर भएका अनिल कुमार साफीको २५ वर्षीया श्रीमती काजलदेवी साफी हुन् । उनले किरा मार्ने विषादी आफू समेत छोरालाई पनि खुवाएकी थिइन् । विषले सिकिस्त छोरालाई उपचारका लागि स्थानीय गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै विराटनगर स्थित नोवेल अस्पताल पुर्‍याइएको थियो तर, उपचारकै क्रममा बालको मृत्यु भयो । यस घटनामा पनि घरायसी विवाद देखिएको प्रहरीले जनाएको छ । 

घटना तीन

अर्को घटना बझाङमा पनि एक आमाले नाबालक दुई सन्तानसहित सेती नदीमा हाम फालेकी थिइन् । चैनपुर– ४ पिठालेक निवासी २६ वर्षीय खन्टी थापाले पानकोट पुल नजिकबाट २ बच्चा सहित बुधबार साँझ ७ बजे सेती नदीमा हाम फालेकी थिइन् । अढाइ वर्षीय छोरा निखिल थापाको जीवितै उद्धार गरिएको थियो । 

अर्को अढाई महिनाको शिशु र थापा नदीमा हराएका थिए । उनीहरु पछि मृत भेटिए । पिठ्यूँमा बोकेको अढाइ महिनाको शिशु र अढाई वर्षीय छोरा निखिलसहित खन्टीले नदीमा हाम फालेको प्रत्यक्षदर्शीले बताएका थिए ।

एक आमाले यी घटना घटाउन सक्छिन् भनेर हामी कल्पना पनि गर्न सक्दैनौँ । तर, यो वास्तविक हो । आफ्नै सन्तानको गला रेट्न एक आमाले कसरी सक्छिन् ? सन्तानको लागि आफ्नो प्राण बलिदान गर्न सक्ने आमाले यस्तो दुष्कर्म कसरी गर्न सक्छिन् ? यसको जवाफ खोज्नेतिर लागौँ । 

 अत्यधिक प्रेमले पनि मानिसलाई अपराधको बाटोमा लैजान्छ : मनोविद् सनम पौडेल

आमाले माया नै गर्छन् भनेर थोपरिएको हुन्छ । बच्चा हुर्काउन सजिलो होइन । कहिलेकाहीँ अत्यधिक प्रेमले पनि मानिसलाई नकारात्मक बाटोतिर डोर्‍याउँछ । आफू नहुँदा बच्चाहरूलाई कसले हेर्छ ? कसले स्याहारसुसार गर्छ ? दुख पाउँछ, कसले खानपिन गराउँछ ? उनीहरूको भविष्य के होला ? भन्ने भयावहले आमाहरूले त्यस्तो कदम चालेको पाइएको छ । म छैन भने बच्चाको जिन्दगी बर्बाद हुन्छ भन्ने भावनाले प्रेरित गर्छ ।

आफू नभएपनि आफ्ना बच्चाहरूले दुख पाउँछन् भन्ने मनोविज्ञानले अपराध गरेको देखिन्छ । हामी मानव भनेको घरमा पालेको जनावरसँग लगाव राख्छौँ भने आफ्ना सन्ततिप्रतिको प्रेम त कति हुन्छ कति । प्रेमको परिभाषा सबै ठाउँ र परिस्थितिमा एकैनास हुन्न । प्रेम परिस्थिति बमोजिम भइदिन्छ ।

साना बच्चाको आमाहरूमा हर्मोन परिवर्तन भइरहेको हुन्छ । त्यसले चिडचिडाहट पैदा गर्छ । मनमा अनेक नकरात्मक कुराहरू खेल्ने हुन्छ । त्यो कुरा परिवार र श्रीमानले बुझ्नुपर्छ । तर, आमाप्रति समाजले जिम्मेवारी मात्रै थपिदिएको छ । उ प्रतिको कर्तव्य बुझिएको छैन ।

 घटना हुनुभन्दा अगाडि आमाहरू धेरै घरेलु हिंसाको सिकार भएको पाइएको छ । श्रीमान् र परिवारको दबाब झेल्न नसकेर आत्महत्या गर्ने सोच आउँछ । त्यसपछि आफू नभएपछि सन्तानले पाउने दुख सम्झेर एकैपटक मर्ने भाव पैदा भएको देखिन्छ ।

सामूहिक मर्ने योजना अचानक हुँदैन । यसको लागि पहिलेदेखि तयारी भइरहेको हुन्छ । त्यसकारण परिवार नै घटनाको मुख्य जिम्मेवार हुन्छ । घटना घटाउनु अगाडि कति संकेत देखाइरहेको हुन्छ । त्यो कुरा परिवारले देख्ने हो ।

रक्सी खाने घरझगडा हुने, आर्थिक अभाव भएको परिवारमा यस्ता घटना भएका छन् । घरको मूली अर्थात् श्रीमानको कारण आमाहरूले जघन्य अपराधलाई बाटो बनाएका छन् । मानसिक स्वास्थ्यको बारेमा शिक्षित र सम्पन्न परिवारमा पनि सम्वाद हुँदैन । अझ सचेतना कम भएको परिवारमा झनै सम्वाद हुने सम्भावना हुँदैन । ढुङगाले बास पाउँछ, आमाले पाउँदैन भन्ने उखान छ । त्यस्तो जिम्मेवारी आमालाई मात्रै थोपरिन्छ ।

 अहिले भर्खरै फैसला भएको छ । कार्यान्वयन हुने पाटो फितलो छ । जानकारी दिने पहुँच छैन । ओसीएमसीले पनि परामर्श दिन्छ । तर, कहाँ गएर र कसरी सेवा लिने भन्ने अधिकांशलाई थाहा छैन । सोसल सर्भिस युनिट भन्ने छ । तर, त्यहाँसम्म पुग्ने पहुँच छैन ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १ : १६ बजे

आपसी मित्रता, प्रेम र सद्भाव जगाउन आवश्यक : राष्ट्रपति 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको

देशको जिम्मेवारी तरुणको काँधमा छ : शेखर कोइराला

नवलपुर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तरुणहरूको काँधमा देशको

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना

काठमाडौं–  पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना

किलमारको संघर्षको कथा, जसलाई अमेरिकाले झुक्किएर देश निकाला गर्‍यो

काठमाडौं– अमेरिकाको मेरिल्याण्ड राज्यस्थित प्रिन्स जर्ज काउन्टी बस्ने किलमार अरमान्डो

‘प्रेस स्वतन्त्रतामा आँच आउन नदिन संसद् चनाखो र सजग छ’

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामा आँच आउन नदिन