काठमाडौं- मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चर्चा कमाएका सनम विश्वकर्मा यतिबेला मर्माहत छन् । गत वैशाख १७ गते राति बागलुङको ताराखोला गाउँपालिका-१ भुस्कादस्थित भैंसी गोठमा आगो लागेदेखि उनका आँसु थामिएका छैनन् ।
पोखरा लगेर सुखले पाल्छु भन्दा पनि तयार नभएकी आमाका लागि डेढ वर्षअघि किनिदिएको भैंसी ब्याउन एक महिना मात्रै बाँकी थियो । तर, ब्याउन ठीक्क परेको भैंसी बाँधिएको गोठमाथि सनमकै शब्द बैरीको आँखा लाग्यो ।
आमाले साँझ भैंसीलाई घाँसपात गरेर घर फिरेपछि अचानक मध्यराति गोठमा आगो दन्कियो । आमा चिच्याउँदै, कराउँदै गोठतिर लम्किइन् । उनी पुग्दा गोठ पूरै आगोको लप्काले दनदनी बलिरहेको थियो ।
गाउँलेसँग गुहार लगाइन्, छिमेकीसँग रोइकराइ गरिन् । छिमेकी र गाउँले जुटेर निभाउँदा पनि गोठलाई आगोको लप्काले निलिसकेको थियो । त्यसदिनको आगोले एक महिनापछि ब्याउन लागेको भैंसी दर्दनाक अवस्थामा पुग्ने गरी जल्यो ।
त्यही भैंसीको डेढ वर्षको पाडो गोठमै जलेर मर्यो । खरानी भइसकेको अवस्थामा पाडोको अवशेष गोठमा भेटिएको छ ।
‘गाउँले जुटेर आगो त निभाए तर आमाको मनमा लागेको आगोको राप निभाउन सकेको छैन’, स्तब्ध रहेका सनम भन्छन्, ‘जसले गोठमा आगो लगाएर हिरा रोपेर गए । आउनुस् तपाईंहरू यहाँबाट हिरा लानुस्, मलाई टुटाउन गरेको यो प्रयास मेरो हिम्मत बन्नेछ । मेरी आमाको आँखाबाट बगेको आँसुले तपाईंलाई पोल्नेछ । तपाईंको घरमा यस्तो नहोस् कहिल्यै ।’

सनमले उक्त घटनापछि आधा दर्जन भिडियो टिकटकमा हालेका छन् । जहाँ उनलाई सहानुभूति दिनेको संख्या हजारौँ छ । अधिकांशले यस्तो अपराधमा संलग्नलाई नछोड् नेपाल प्रहरीसँग गुहार मागिरहेका छन् ।
सनम आफैं पनि यो घटनादेखि विक्षिप्त छन् । डेढ वर्षअघि ऋण गरेर किनेको आमाको प्यारो भैंसी ब्याउन लाग्दा जलेर मरेपछि उनलाई असह्य पीडा भएको छ ।
‘अर्कोचोटी कायर बनेर नहिँड्नुस् । सक्नु हुन्छ भने सिधासिधा भिडम्, मसँग रिसइबी भएमा’, सनम पीडामिश्रित स्वरमा भनिरहेका छन्, ‘मेरो गतिविधि गलत लागेमा सामुन्ने आउनुस्, तर यसरी कायर बनेर मलाई प्रहार नगर्नुस् । म आफूलाई सम्हाल्न सक्छु तर आँसुमा डुबेकी आमालाई सम्हाल्न सक्दिनँ । यो गोठको रापले नपोलोस् तिमीलाई ।’
उनले वैशाख १७ गते राति गाउँलेको सहयोगले भैंसीलाई त बचाए । तर ब्याउन लागेको भैंसीको शरीरको पूरै बाहिरी भाग आगोले जलिसकेको थियो । आगोमा जलेर दुवै आँखा गुमाइसकेको थियो ।
सनमले बचाउन अनेक प्रयास गरे, गाउँमा उपलब्ध सबै उपचारको विधि अपनाए । तर बाहिरी भाग जलेर छाला पत्र पत्र भइसकेको भैंसीको भित्री अंगमा पनि गम्भीर असर परेकाले प्राण त्याग्यो, उनले हजार कोसिस गरे पनि बचाउन सकेनन् ।

‘यति राम्रो अनि, यति सुन्दर गाउँमा यति नराम्रो र घिन लाग्दो हर्कत गरिन्छ भन्ने मैले सोचेको पनि थिइनँ । यो चाहिँ तारा खोला गाउँपालिका वडा नम्बर १, भुस्कादमा रहेको मेरो घर’, उनी टिकटकमा इतिवृत्तान्त सुनाउँदै बिलौना गर्छन्, ‘मेरी आमा विगत केही समयदेखि कृषि पेशामा लाग्दै आउनु भएको थियो । उहाँले कृषिसँगै पशुपालन पनि गरिरहनु भएको थियो । मेरो घरमा एउटा डेढ वर्षको राँगो र ब्याउन लागेको एउटा भैंसी थियो । भैंसी बाँधेको यो गोठ जलेको होइन, जलाइएको हो ।’
सनमका अनुसार घरमा बिजुली जोडे पनि गोठमा लगिएको थिएन । ‘बिजुली सर्ट भएर गोठ जलेको भनौँ भने जोडेकै छैन । गोठमा ननिभाएको आगो सल्कियो भने खोले पानी तताउन कहिल्यै फुक्ने गरेको छैन’, उनले बिलौना गरे, ‘ब्याउन लागेको भैंसीको पीडा सहिननस्कुन थियो । उसको पीडा र आँसु देखेर मन थाम्न सकिनँ । मरेर दु:ख बिसायो । हामीसँग कहाली लाग्दो र दर्दनाक पीडा छ । भैंसीको आँखाबाट बगेको आँसु पक्कै लाग्ने छ । बडो विडम्बना जलेपछि न पानी पिउन सक्ने न घाँस खान सक्ने अवस्था थियो । मरेर यसले दु:ख बिसायो । पीडा त भएन अब ।’

उनले पहिले नै आमालाई ताराखोलाबाट पोखरा लैजान खोजेका थिए । तर गाउँमै रमाएर बसेकी आमा जान मानिनन् । ‘आमालाई मैले बारम्बार पोखरा लैजान खोज्दा यहीँ (ताराखोला) बस्छु भन्नु हुन्थ्यो । त्यही भएर मैले उहाँलाई भैंसी किनिदिएको थिएँ’, सनमले सुनाए, ‘जसको ऋण तिर्न सकेको छैन । गाउँले मिलेर गोठको आगो त निभायौँ । तर आमाको मनमा लागेको आगो कसरी निभाउनू ? आमाको आँखाबाट बगेको आँसु मैले थाम्न सकेको छैन । मेरी आमा र भैंसीको आँसुको बदला एक दिन लिनेछु । पानीमुनि गए पनि म छाड्दिनँ ।’
मरणासन्न अवस्थामा फेला परेको भैंसी अब मरिसेकको छ। पाडो जन्माउन ठिक्क परेको भैंसीले अथाह पीडा भोग्यो । भैंसी ब्याउला र दहीदूध बेचेर गाउँमै केही आम्दानी गरौँला भन्ने सपना साँचेकी सनमकी आमाको सपना गोठसँगै अब खरानी भएको छ ।
सनमले आफ्नो गोठमा मध्यराति कसैले आएर आगो झोसिदिएको ठानेका छन् । तर कसले, किन लगायो उनीसँग उत्तर छैन । उनी आफूसँग रिसइबी भएका, झगडा परेका र बाझेका सबैजसो अनुहार सम्झिरहेका छन् तर कसैलाई दोषी करार गर्न सक्ने अवस्थामा छैनन् ।
‘हाम्रो परिवारको गाउँका कोही कसैसँग झगडा र मनमुटाव भएको आजसम्म छैन’, उनी सुनाउँछन्,‘यसरी गोठमा आगो झोसेर दुष्मनी नै निकाल्ने गरी कसैको चित्त दुखाउने काम मैले र मेरी आमाले गरेका थिएनौँ । मसँग रिस उठेको भए मेरो अगाडि पोखेको भए पनि सहन सकिन्थ्यो । कसैगरी मन बुझाउने ठाउँ भेटेको छैन ।’

आगोमा जलेर गम्भीर घाइते भएको भैंसी २ दिनसम्म मर्नु न बाँच्नुको अवस्थामा रह्यो । शरीरमा बाहिरी छाला नजलेको कतै पनि बाँकी थिएन । दुवै आँखा जलेका थिए । मुख खेल्न सक्ने पनि अवस्था थिएन । घाँस-पानी केही खान नसक्ने अवस्थाकाले सनमको मन थामिएन । भैंसीको अवस्था हेर्दा बचाउन नसकिने भएपछि औषधिको सहयोगमा मर्न दिइएको सनमले बताए ।
जनप्रतिनिधिका कुरा
यो घटना टिकट हुँदै भाइरल भएपछि नेपाल प्रहरीलाई गुहार लगाउने क्रम जारी छ । सनमले हालेका भिडियोमै नेपाल प्रहरीले दोषी खोजेर कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।
अहिले यस घटनामा बागलुङको प्रहरी प्रशासनको नजर परेको छ । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । ‘घटनास्थलमै गएर हेर्दा घटनामा केही व्यक्तिको संलग्नता भएको आशंका छ’, ताराखोला गाउँपालिका १ वडाध्यक्ष यमबहादुर श्रीसले खबरहबलाई भने ।
वडाध्यक्ष श्रीसले घटनाको अनुसन्धान प्रहरी प्रशासनबाट भइरहे पनि पालिकाले आफ्नो दायित्व पूरा गर्ने प्रयासमा रहेको बताए ।
‘अनुसन्धानको पक्ष सुरक्षा प्रशासनले हेरिरहेको छ । हाललाई क्षतिपूर्तिस्वरूप गाउँपालिकाको तर्फबाट न्यूनतम् २५ हजार रुपैयाँ पीडित परिवारलाई उपलब्ध गराउँछौँ’, उनले भने ।

प्रहरी के भन्छ ?
यो घटना टिकटक हुँदै भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयसम्म पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले घटनाबारे जानकारी आइसकेको बताएका छन् । उनले घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय ताराखोलालाई गम्भीर रुपमा अनुसन्धान गर्न भनिसकेको बताए ।
‘यस घटनाबारे हामीकहाँ जानकारी आइसकेको छ’, प्रहरी उपरीक्षक कँडेलले खबरहबलाई भने, ‘इलाका प्रहरी ताराखोलाले यसबारे अनुसन्धान गरिरहेको छ । गोठमा आगो लगाउनु नै गम्भीर अपराध हो । त्यसमाथि ब्याउन लागेको भैंसीसमेत जलेर मरेको छ । यस गम्भीर अपराधमा संलग्नको हामी सुक्ष्म रुपमा खोजिरहेका छौँ ।’
कँडेलका अनुसार सनमकी आमा र बाबुको झगडा परिरहने सूचना पनि प्राप्त भएको छ । भैंसीगोठमा आगो लागेको उक्त साँझ सनमका बुवा मदिरा पिएर घरमा सुतेको पनि खुलेको छ । ‘अहिले विभिन्न व्यक्तिमाथि शंकाका आधारमा अनुसन्धान भइरहेको छ’, उनले भने, ‘यो अपराधमा कसको संलग्नता थियो भन्ने अनुसन्धानकै चरणमा छौँ ।’
पोखरा थिए सनम
सनम पोखरा बसेर अध्ययन गरिरहेका छन् । घरमा उनका बुवाआमा मात्रै बस्ने गर्दथे । घटना भएको सुनेपछि उनी घर पुगिसकेका छन् ।
‘कहिले प्रहरी प्रशासन त कहिले वडा कार्यालय धाउँदैमा दिन कटिरहेको छ । घटनापछि आमालाई सम्हाल्न गाह्रो भएको छ’, सनमले भने, ‘आमा एकोहोरो रुने र टोलाउने गरिरहनु हुन्छ । घरको आम्दानीको स्रोत नै मासिएपछिको मानसिक पीडा मैले शब्दमा कसरी वर्णन गरौँ ।’
सनम आफैं स्तब्ध छन् । ब्याउन लागेको भैंसीलाई दिनरात घाँसपात र खोलेका लागि मिहिनेत गरिरहने आमालाई सम्हाल्न मुस्किल परेको छ ।
ब्याउन लागेको भैंसीमाथि बैरी लागेपछि अब ऋण गरेर भए पनि आमालाई लैनो भैंसी किनिदिने योजना सनमले बनाएका छन् ।
‘आमालाई लैनो भैँसी किनिदिन पाए पीडा केही कम हुन्थ्यो कि ?’, उनी भन्छन् । तर घरबाट टाढा पोखरा बसेर अध्ययन गरिरहेका सनमसँग बलियो आम्दानीको स्रोत छैन । ‘कोही कसैले आर्थिक सहयोग या ऋण नै दिए आमाको घाउमा मलहम लगाउन सक्थेँ’, उनले हामीलाई सुनाए ।

प्रतिक्रिया