काठमाडौँ– सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ ।
सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सबै श्रमजीवी नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको नीति रहेको छ ।
नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै सरकारले यसको दायरा विस्तारका लागि नीतिगत तथा संस्थागत पहल अघि बढाएको बताइन् ।
मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने प्रक्रिया थालनी गरिएको छ।
त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सङ्घीय सरकारले सह-योगदान गर्ने व्यवस्था अघि बढाइएको छ। स्थानीय तहको सहयोग दानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको सह-योगदान सङ्घीय सरकारले जम्मा गरिदिने व्यवस्था तयार गरिएको मन्त्री बादीले जानकारी दिए ।
सरकारका उच्च पदाधिकारीदेखि आधारभूत तहमा श्रम गर्ने नागरिकसम्म सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले प्रधानमन्त्री, मन्त्री तथा सङ्घीय सांसदहरूलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको उनले बताइन् ।
मन्त्री बादीले सामाजिक सुरक्षा प्रणालीको विस्तारसँगै यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निकाय तथा क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत तथा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
सामाजिक सुरक्षा कार्यक्रमको सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउने तथा सामाजिक सुरक्षा कोषको संस्थागत क्षमता विकास गर्ने सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।
सामाजिक सुरक्षा प्रणालीको दिगो र प्रभावकारी सञ्चालनका लागि सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय संयन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म तीनै पक्षको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन् ।
कोषको सञ्चालक समितिलाई थप सक्षम र प्रतिनिधिमूलक बनाउँदै वास्तविक श्रमिक तथा रोजगारदाताको प्रतिनिधित्व सुनिश्चित गर्ने कार्य अघि बढाइएको उनले जानकारी दिइन् ।
सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीको भनाइ थियो । सुरक्षित श्रमिकले आत्मविश्वासका साथ काम गर्न सक्ने र त्यसले उत्पादन तथा उत्पादकत्व अभिवृद्धिमा योगदान पुर्याउने उनले उल्लेख गरिन्।
हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्। कोषमा १ खर्ब ३३ अर्ब २६ करोडभन्दा बढी योगदान रकम सङ्कलन भएको छ भने २३ अर्ब २६ करोडभन्दा बढी दाबी भुक्तानी भइसकेको छ।
नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गरी नागरिकको जीवनचक्रमा आधारित सामाजिक संरक्षण सुनिश्चित गर्नुपर्ने बताइन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालगायत लक्षित समूहलाई गैरयोगदानमूलक सामाजिक सुरक्षा र रोजगारी तथा योगदान गर्न सक्ने नागरिकलाई योगदानमा आधारित प्रणालीमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारिन् ।
सामाजिक सुरक्षा कोषमा सङ्कलित रकमलाई सुरक्षित तथा प्रतिफलयुक्त क्षेत्रमा लगानी गरी कोषको दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सुरक्षा कोषलाई सबै श्रमजीवी नागरिकको अधिकार, संरक्षण र सुरक्षित भविष्यको भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यस वर्षको नवौँ सामाजिक सुरक्षा दिवस ‘सामाजिक सुरक्षा कोषमा आबद्धता : वर्तमान र भविष्यको सुरक्षा’ भन्ने नारासहित मनाइएको हो।काठमाडौं- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा.ओजस्वी शेरचन, रन्जु दर्शना न्यौपानेसँग शुक्रबार सिंहदरबारमा शिक्षा, पब्लिक हेल्थ, विद्यालय तहको पाठ्यक्रमसँग सम्बन्धित विज्ञहरूले भेटवार्ता गरेका छन् ।
शलभ राणा, कमल मिश्र, प्रा.भीमसेन देवकोटा, भगवान अर्याल, केशवराज भट्ट, शीला श्रेष्ठ, डा.यदुराम उप्रेती, शिक्षा मन्त्रालयका प्रतिनिधि गणेश गुरुङ उपस्थित थिए ।

















प्रतिक्रिया