काठमाडौं- आइतबार बिहान अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजी निकै खुशी देखिन्थे । कारण थियो– शनिबार आयोजित आम निर्वाचनमा लेबर पार्टीलाई उनले ऐतिहासिक जित दिलाएका थिए ।
न्यू साउथ वेल्स राज्यको सिड्नीबाट पश्चिमतिरको लाइखार्ड्ट क्षेत्रमा पर्ने बार इटालिया नामक इटालियन रेस्टुरेन्टमा उनी मतदातालाई धन्यवाद दिइरहेका थिए । त्यहाँ उनलाई बधाइ दिनेहरु धेरै थिए । त्यही भीडमा अष्ट्रेलियाको ९ न्यूजका राजनीतिक सम्पादक चार्ल्स क्राउचर पनि थिए ।
पत्रकारको कामै त हो– नवनिर्वाचित प्रधानमन्त्रीलाई भेटेको अवसरमा क्राउचरले अल्बानिजीतर्फ बुम तेस्र्याइहाले । उनले सर्वप्रथम प्रधानमन्त्रीलाई जितका लागि बधाइ दिए । ‘थ्याङ्क यू मेइट’ भारी अष्ट्रेलियन लवजमा अल्बानिजीले जवाफ फर्काए ।
प्रधानमन्त्रीले ‘बाइट’ दिँदै गरेको देखेर अरु केही टेलिभिजनका पत्रकार पनि त्यहाँ भेला भए । त्यही बेला अज्ञात महिला स्वर (सम्भवतः १० न्यूज फर्स्टकी संवाददाता) ले प्रधानमन्त्रीलाई सोध्यो ‘अमेरिका कहिले जानुहुन्छ ?’
प्रधानमन्त्री अल्बानिजीले ‘बालै फरर’ को शैलीमा हातले इसारा मात्रै गरे । अनि फेरि भारी अष्ट्रेलियन लवजमा जवाफ दिए– ‘मेरो काम यहीँ छ । मेरो काम यहाँ अष्ट्रेलियाको राष्ट्रिय हितको प्रतिनिधित्व गर्ने हो । म त्यही गर्नेछु । र, (राजधानी) क्यानबेरा जानु मेरो पहिलो काम हुनेछ ।’
‘मलाई सर्वप्रथम मेरा मित्र (पपुवा न्युगिनीका प्रधानमन्त्री) जेम्स मरापेले फोन गर्नुभएको थियो । उहाँसँग मैले अघिल्लो वर्षको एन्जेक डेका बेला कोकोडा ट्रेलमा पदयात्रा गरेको थिएँ ।’ उनले थप जानकारी दिए ।
त्यसबाहेक न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, बेलायती प्रधानमन्त्री किर स्टार्मरले आफूलाई बधाइ दिइसकेको उनले उल्लेख गरे । त्यसैगरी, इण्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तो र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने जनाएका थिए ।
‘अनि राष्ट्रपति ट्रम्प नि ?’ फेरि त्यही महिला स्वरले प्रश्न सोध्यो । प्रधानमन्त्री अल्बानिजीले यस प्रश्नको जवाफ दिन जरुरी नै ठानेनन् । उनले वास्तै गरेनन् ।
हेर्नुहोस् भिडियो-
परम्परागत रुपमा निकटस्थ साझेदार रहेका अमेरिका र अष्ट्रेलियाबीचको सम्बन्ध अहिले कुन अवस्थामा पुगेको छ भनेर यही घटनाले प्रष्ट पार्छ । डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेदेखि अमेरिकाका साझेदारहरु यसरी नै लाखापाखा लाग्दै गएको देखिन्छ ।
ट्रम्पले दोस्रो पटक शपथ ग्रहण गर्ने बेला जनवरीको उखरमाउलो गर्मीमा अष्ट्रेलियाको राजनीतिक माहोल बिल्कुलै फरक थियो । अमेरिकामा ट्रम्पको जितसँगै अष्ट्रेलियाका दक्षिणपन्थी पार्टीहरु उत्साहित थिए ।
लेबर पार्टीको वर्तमान सरकार आलोचित थियो । खासगरी, बढ्दो मूल्यवृद्धि रोक्न नसकेको भन्दै प्रधानमन्त्री अल्बानिजीको चर्को आलोचना हुने गरेको थियो ।
राजनीतिक प्रणाली
अष्ट्रेलियाको राजनीतिक प्रणाली खासै जटिल छैन । अष्ट्रेलियामा मध्य वामपन्थी लेबर पार्टी र लिबरल–नेशनल पार्टीको मध्य दक्षिणपन्थी गठबन्धन गरी दुई राजनीतिक खेमाको दबदबा छ ।
अष्ट्रेलियाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभमा १ सय ५० सिट छ । सरकार बनाउन ७६ सिट आवश्यक पर्छ ।
त्यहाँ हरेक तीन वर्षमा आम निर्वाचन हुन्छ । निर्वाचनमा सङ्क्रमणीय मतदान हुने गर्छ ।
यसको अर्थ मतदाताले उम्मेदवारलाई चाहनाअनुसार प्राथमिकताका आधारमा १, २, ३ वा ४ चार नम्बर दिने व्यवस्था छ । त्यहाँ हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने प्रावधान छ । मतदान नगरे जरिवाना हुन्छ ।
रोचक कुरा त के छ भने बेलायतको गद्दीमा आसिन राजा चार्ल्स तृतीयलाई अष्ट्रेलियाले राष्ट्रप्रमुख मान्दै आएको छ । अष्ट्रेलियामा बेलायती राजाको प्रतिनिधित्व गर्न गभर्नर जनरल तोकिएको हुन्छ ।
ट्रम्पको प्रभाव
जतिबेला अमेरिकामा ट्रम्पले शपथ ग्रहण गर्दै थिए, त्यतिबेला अष्ट्रेलियाको जनमत बिल्कुल फरक थियो । ट्रम्पले शपथ लिएको दुई दिनपछि अर्थात् २२ जनवरीका दिन सिड्नी मर्निङ हेराल्डले रिजल्भ पोलिटिकल मोनिटरको तथ्यांकका आधारमा सर्वेक्षण सार्वजनिक गरेको थियो ।
उक्त सर्वेक्षणमा सहभागी ३८ प्रतिशत मतदाताले आगामी निर्वाचनमा विपक्षी गठबन्धनलाई पहिलो प्राथमिकता दिने बताएका थिए । सत्तारुढ लेबर पार्टीलाई भने केबल २७ प्रतिशतले पहिलो प्राथमिकता दिने उल्लेख गरेका थिए ।
त्यसैगरी, ट्रम्पले शपथ ग्रहण गरेको करिब एक सातापछि अर्थात् जनवरी २६ का दिन न्यूजपोलले अर्को सर्वेक्षण सार्वजनिक गरेको थियो । जनवरी २० देखि २४ सम्म १ हजार २ सय ५९ जनामा उक्त सर्वेक्षण गरिएको थियो ।
सर्वेक्षणमा ५३ प्रतिशतले गठबन्धनको जित हुने जनाएका थिए भने ४७ प्रतिशतले चाहिँ लेबर पार्टीको जित हुने प्रतिक्रिया दिएका थिए ।
ट्रम्पको जितसँगै विपक्षी गठबन्धनले अमेरिकाको सिको गर्दै संघीय खर्च कटौती गर्ने, विद्यालय र सार्वजनिक संस्थामा उग्रउदारवादी ‘वोक’ दर्शनलाई जरैदेखि उखेल्नेजस्ता नीति सार्वजनिक गरेको थियो । विपक्षी गठबन्धनले अष्ट्रेलिया सरकारले नवीकरणीय ऊर्जामा आवश्यकताभन्दा धेरै जोड दिएको र त्यो दिगो नहुने दाबी गरेको थियो । त्यसका लागि सात नयाँ आणविक ऊर्जा उत्पादन केन्द्र खोलिने गठबन्धनको घोषणा थियो ।

धेरैले विपक्षी गठबन्धनका नेता पिटर डुटनलाई ‘अष्ट्रेलियन ट्रम्प’ को संज्ञा दिने गरेका थिए । डुटनले अघिल्लो पटक आफू मन्त्री हुँदा ट्रम्पसँग वार्ता गरेकाले अमेरिकासँग व्यवहार गर्न आफू अब्बल रहेको दाबी गर्थे ।
पूर्वजासुस डुटनले ट्रम्पजस्तै चीनप्रति खरो पनि छवि बनाएका थिए । उनी अष्ट्रेलिया आउने केही आप्रवासीलाई विदेशी भूमिमा अवस्थित बन्दीगृहमा राख्ने, हजारौँ सरकारी कर्मचारी कटौती गर्नेजस्ता योजना अघि सारेका थिए ।
यतिसम्म की अष्ट्रेलियाकी आदिवासी मामिलासम्बन्धी छायाँमन्त्री ज्याकिन्टा नाम्पिजिम्पा प्राइसले ठ्याक्कै ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ शैलीमा ‘मेक अष्ट्रेलिया ग्रेट अगेन’ को नारा अघि सारेकी थिइन् । गत अप्रिल १२ का दिन पश्चिम अष्ट्रेलियाको पर्थ शहरमा आयोजित राजनीतिक र्यालीमा नर्दन टेरिटोरीबाट प्रतिनिधित्व गर्ने प्राइसले आफ्नो गठबन्धनले ‘अष्ट्रेलियालाई पुनः महान् बनाउने, अष्ट्रेलियाको विगतको कीर्तिलाई पुनः फर्काउने र अष्ट्रेलियालाई फेरि सही बाटोमा ल्याउने’ घोषणा गरेकी थिइन् ।
प्राइस उनै नेतृ हुन्, जसलाई गठबन्धनका नेता डुटनले धनकुबेर इलोन मस्कलाई ट्रम्पले दिएजस्तै ‘सरकारी चुस्तता’ को जिम्मेवारी दिएका थिए । उनलाई सरकारी कामकाज चुस्त बनाउने, सरकारको अनावश्यक खर्च कटौती गर्नेजस्ता जिम्मेवारी दिइएको थियो । यद्यपि चर्को आलोचनापछि यो योजनाबाट गठबन्धन पछि हटेको थियो ।
गत महिना अष्ट्रेलियाको लोवी इन्स्टिच्युटले सार्वजनिक गरेको सर्वेक्षणमा केबल ३६ प्रतिशत अष्ट्रेलियनले अमेरिकाप्रति विश्वास रहेको प्रतिक्रिया दिएका थिए । जुन, दुई दशकअघि सर्वेक्षण लिन थालेदेखिकै सबैभन्दा न्यून हो ।
गत अप्रिल २ का दिन ‘मुक्ति दिवस’ का अवसरमा ट्रम्पले अष्ट्रेलियामाथि १० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने घोषणा गरेका थिए । अष्ट्रेलियाका ८१ प्रतिशत जनताले आफू त्यस भन्सार शुल्कको विपक्षमा रहेको प्रतिक्रिया दिएका थिए ।
ऐतिहासिक
तर, डुटोन र गठबन्धनको सबै प्रयास असफल भयो । शनिबार आयोजित निर्वाचनमा लेबर पार्टीले ८२ सिट जित्ने अपेक्षा गरिएको छ ।
यसअघि लेबरले ७७ सिट जितेको थियो । विपक्षी गठबन्धन ३८ सिटमा खुम्चिने अष्ट्रेलियाको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो निर्वाचनमा गठबन्धनले ५८ सिट जितेको थियो ।
उता प्रधानमन्त्री अल्बानिजीले चाहिँ फेरि बहुमत पाए दोस्रो कार्यकालमा लेबरले अष्ट्रेलियन जनतालाई अनुशासित र व्यवस्थित सरकार प्रदान गर्ने वाचा गरेका थिए । सरकारी आयमन्त्री जिम चाल्मर्सले लेबर पार्टी बनाउने नयाँ सरकारले घरजग्गाको समस्या समाधान गर्ने, आर्थिक उत्पादकत्व वृद्धि गर्ने, आर्टिफिसियल इन्टिलिजेन्सजस्ता नयाँ प्रविधिको क्षेत्रलाई प्राथमिकता दिनेजस्ता योजना अघि सारेका थिए ।
निर्वाचनमा विपक्षी नेता डुटन आफैँ पराजित भए । ब्रिसबेनस्थित डिक्सन निर्वाचन क्षेत्रमा उनलाई ४९ वर्षीया अली फ्रान्सले पराजित गरिन् ।
डुटनले त्यस निर्वाचन क्षेत्रबाट विगत २४ वर्षदेखि निर्वाचित हुँदै आएका थिए । यससँगै उनी संघीय निर्वाचनमा आफ्नै निर्वाचन क्षेत्रबाट पराजित हुने प्रथम विपक्षी नेताको इतिहास पनि कायम गरे । उनले टेलिफोन गरेर अल्बानिजीलाई बधाइ दिइसकेका छन् ।
‘हामीले यो अभियानमा राम्रो गर्न सकेनौँ । यो आज राति स्पष्ट भइसक्यो, र म यसको पूर्ण जिम्मेवारी लिन चाहन्छु ।’ शनिबार अबेर टेलिभिजन सम्बोधनमा उनले भने ।
शनिबार अबेर दिएको विजयी सम्बोधनका क्रममा प्रधानमन्त्री अल्बानिजीले श्रमिक अधिकार वृद्धि गर्ने, घरजग्गाको समस्या समाधान गर्ने, लैंगिक समानतामा जोड दिइने, बालबच्चाको हेरचाहमा ध्यान दिनेजस्ता घोषणा गरेका छन् । ‘हामीलाई कतैबाट पनि नक्कल गर्ने, माग्नुपर्ने आवश्यकता छैन ।’ ट्रम्पतर्फ सङ्केत गर्दै अल्बानिजीले भनेका छन्, ‘हाम विदेशबाट कुनै प्रेरणा खोज्दैनौँ । हामी हाम्रो मूल्यमा र हाम्रा जनतामा त्यो पाउँछौँ ।’
लेबर पार्टीका राष्ट्रिय अध्यक्ष वायन स्वानले अल्बानिजलाई ‘समतामूलक, समृद्ध र अग्रगामी समाज’ निर्माण गर्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका छन् । उनले दोस्रो कार्यकालमा कस्तो काम गर्छन् त्यो चाहिँ समयले बताउनेछ ।
प्रतिक्रिया