आगजनीमा परेको ‘सञ्चो’ उद्योगले थाल्यो उत्पादन, बजारमा अभाव हुन नदिने प्रतिबद्धता | Khabarhub Khabarhub

आगजनीमा परेको ‘सञ्चो’ उद्योगले थाल्यो उत्पादन, बजारमा अभाव हुन नदिने प्रतिबद्धता


२२ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीको आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा खरानी भएको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको उत्पादन झण्डै एक महिनापछि सुरु भएको छ।

आगजनीलगत्तै महाप्रबन्धक डा. संगीता यादवको कार्यकाल सकिएपछि सञ्चालनमा प्राविधिक र प्रशासनिक समस्याका कारण कम्पनीको उत्पादन शुक्रबारबाट शुरु भएको कार्यवाहक महाप्रबन्धक उषा रिजाल जोशीले बताइन्।

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन क्रममा आन्दोलनकारीले आगजनी गर्दा उत्पादन शाखामा पूर्ण क्षति भएको थियो भने अन्य शाखामा ढुङ्गामुढा गर्दा आंशिक क्षति पुगेको थियो। आगजनीको केही दिनपछि चैत २३ गते महाप्रबन्धक यादवको कार्यकाल सकिएपछि विभिन्न प्रक्रिया मिलाउँदा मिलाउँदै कम्पनी सञ्चालनमा ढिलाई भएको त्यहाँका कर्मचारीले बताएका छन्।

पूर्व महाप्रबन्धक यादवले भनिन्- ‘आगजनी लगत्तै मेरो कार्यकाल सकियो। नयाँ नियुक्तिको प्रक्रिया के भइरहेको छ, त्यसबारे मलाई जानकारी भएन। जतिसक्दो चाँडो नयाँ महाप्रबन्धक नियुक्त भइदिए रोकिएको काम अगाडी बढ्ने थियो।’

लामो समय यही कम्पनीसँग जोडिएर काम गर्दा सञ्चो ब्राण्डका विभिन्न उत्पादनहरु बढाएर देश विदेशमा निर्यात गर्न सफल भएको बताउँदै कम्पनीको यस्तो अवस्थामा आफ्नो कार्यकाल सकिनु , कम्पनी सञ्चालनका लागि केही गर्न नसक्दा आफूलाई दुःख लागेको उनले बताइन्।

सरकारी स्वामित्वको त्यसमाथि सरकारकै गर्वलायक संस्था भएकाले यसको पुनःउत्थानका लागि ढिला नगर्न डा. यादवले आग्रह गरिन्।

उत्पादन शाखाका कर्मचारी खुशी
कम्पनीमा आगजनीपछि आफ्नो रोजीरोटी नै गुम्ने हो कि भनेर चिन्तामा रहेका उत्पादन शाखाका कामदार उत्पादन सुरु भएपछि नयाँ आशा पलाएको बताउँछन्।

९ वर्षदेखि कम्पनीमा कार्यरत सुन्तली रोका भन्छिन्- ‘आगजनी भएको अर्को दिन कार्यालय आउँदा कम्पनी फेरि सञ्चालन होला र काम पाइएला भन्ने आशा नै मारेका थियौं। तर ढिलै भएपनि उत्पादन सुरु भयो। काम पायौं खुशी लागेको छ। बचेका फर्निचर पनि आगजनीको धुवाँले फोहोर भएका थिए भने भाँडाकुँडाहरु पनि त्यस्तै थिए। हामी कर्मचारी मिलेर सरसफाईमा धेरै समय लाग्यो। अहिले उत्पादन तथा प्याकेजिङको काम सुरु भएको छ। जे होस आशा पलाएको छ’ कल्पना ढुङ्गेलले भनिन्।

सानो ठाउँमा काम गर्नुपरेकाले सञ्चोको रागले आँखा पोल्छ। तर पनि यो घटना पछि रोजगारी गुम्छ कि भन्ने डर थियो अब भने ढुक्क भएको कामदार सविता फुयाँलले बताइन्।

उत्पादनमा कार्यरत प्रमिला तिमिल्सिना पनि हातमुख जोर्ने भयबाट मुक्त हुन पाएकोमा खुशी प्रकट गर्छिन्। सुन्तली, कल्पना, सविता र प्रमिलाजस्तै उत्पादन शाखामा ४० जना महिला कामदा रहेका छन्। पहिले फराकिलो ठाउँमा मेसिनबाट काम गर्दा सहज हुने गरेको बताउने उनीहरु अहिले साँघुरो ठाउँमा धेरै जना बसेर काम गर्नुपर्दा असहज भए पनि उत्पादनले निरन्तरता पाउँदा सन्तोष लागेको बताउँछन्। कम्पनी विस्तारै पहिलेकै अवस्थामा आउने विश्वास यिनीहरुले लिएका छन्।

सनकमा २८ करोड स्वाहा !
उत्पादन तथा ल्याबको काम हुने भवन नै पुरै ध्वस्त भएपछि ल्याब र उत्पादनका लागि चाहिने मेसिन तथा उपकरण सबै ध्वस्त हुँदा २८ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। अहिले विभिन्न शाखाले वास्तविक क्षतिको विवरण संकलन गरिरहेको कार्यवाहक महाप्रबन्धक रिजालले बताइन्। यही साताभित्र वास्तविक विवरण आउने उनको भनाई छ।

राजावादीको अराजकता देखाउँदै गरेको प्रदर्शनकाक्रममा जडिबुटीमा रहेको उद्योगमा भएको आगजनी ।

रिजालका अनुसार क्षतिपूर्तिका लागि सरकारलाई निवेदन दिइसकिएको छ। वास्तविक विवरण आइसकेपछि सरकारले क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाउनेछ। तत्काल कम्पनीमा भएको क्षतिका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले क्षति भएका सिसा फेर्ने, रंगरोगन गर्ने, जलेका गाडी पन्छाउने, सुरक्षाको घेराबार गर्ने काम गरेपछि कार्यालयमा बसेर काम गर्ने वातावरण बनेको उनले बताइन्।

आगजनीपछि कस्तो छ सञ्चोको बजार ?
आगलागीपछि बजारमा सञ्चो छैन भनेर जुन किसिमले हल्ला फिँजाइएको थियो, त्यस्तो अवस्था छैन। ‘हाम्रो भण्डारण कक्ष सुरक्षित रहेकाले स्टक रहेको सञ्चोले अहिलेसम्म बजार धानीरहेको छ,’ योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्द शर्माले भने। यद्यपि हातबाट उत्पादनका सबै काम गर्नुपर्ने भएकाले बजारको मागअनुसार धान्न कठिनाइ भइरहेको बताउँदै प्रमुख शर्मा भन्छन्, ‘यसवर्ष ६७ लाख थान सञ्चो लगायतका जडिबुटीयुक्त तेल उत्पादन गर्ने लक्ष्य कम्पनीले लिएको थियो। त्यो लक्ष्य पूरा गर्नकै लागि भनेर कम्पनीका कर्मचारी तथा उत्पादन शाखाका कामदार आफैँ खटेर आगलागीबाट क्षति पुगेका कक्ष सफा गरेर सक्ने जति काम गरिरहेका छौं।’

गत आर्थिक वर्ष कम्पनीले धेरै राम्रो उत्पादन तथा बिक्री गरेको थियो। ‘उत्पादनबाट ८० प्रतिशत बिक्री हुन्छ भने २० प्रतिशत स्टक रहन्छ त्यही स्टकले अहिले बजार धानेको छ’ शर्माले थपे, ‘सरकारी कम्पनी भए पनि आफ्नै बलबुँताले सञ्चो उत्पादन गरी त्यही रकमबाट कर्मचारी पालेर सञ्चालन भइरहेको कम्पनीले अनाहकमा ठूलो क्षति बेहोरेको छ। पहिलेकै अवस्थामा पुर्याउन कठिनाइ छ। यसमा सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ।’

पहिलेकै अवस्थामा कहिले आउला कम्पनी ?
सरकारी स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेड, सिंहदरबार वैद्यखाना लगायतका कम्पनी घाटामा चलिरहेका बेला जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले राम्रो प्रगति गरिरहेको थियो। आन्दोलनका नाममा अराजक भीडले कम्पनी खरानी बनाएपछि संस्थाको भविष्यलाई लिएर अनेक प्रश्न उठेका छन्। आगजनी लगत्तै महाप्रबन्धकको कार्यकाल सकिनु र करिब एक महिनासम्म नेतृत्वबिहीनको अवस्थाले पनि अवस्था अन्योलपूर्ण बनेको थियो।

हुन त कार्यबाहक महाप्रबन्धकको जिम्मेवारी उपल्लो तहका अर्का अधिकारीलाई दिइएको छ। तर महाप्रबन्धकमा जस्तो कार्यकारी अधिकार नहुँदा धेरै काम रोकिएको शर्माले बताए। तालुकदार वन तथा वातावरण मन्त्रालयले छिट्टै महाप्रबन्धक नियुक्त गर्ने आश्वासन दिएको बताइएको छ।

कम्पनीलाई पहिलाकै अवस्थामा पु-याउने सूत्र के हो ? कार्यवाहक महाप्रबन्धक रिजाल भन्छिन्- ‘पहिलेकै गति लिन मुख्यत उत्पादनमा जोड दिनुपर्छ। कम्पनी भनेको खेती गर्ने, उत्पादन गर्ने र बिक्री गरेर माथि उठ्ने हो। त्यसैले सकेसम्म उत्पादनलाई निरन्तरता दिने प्रयासमा हामी लागेका छौं। खेतीको काम पनि भइरहेको छ भने बिक्रीको समस्या छैन।’

मेसिन हुँदाको जस्तो छिटो उत्पादन नभए पनि काम नरोकिएको जानकारी दिँदै रिजालले तत्काल पूर्वाधार र मेसिन खरिद गरिदिन सरकारसंग आग्रह गरिन्।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ८ : २१ बजे

गाजामा इजरायली हमला, १९ जनाको मृत्यु

एजेन्सी– सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा

सरकारले हिमाली सहरको योजना ल्याउनुपर्छः सांसद पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले कम्तिमा दुई प्रदेशमा

काठमाडौं महानगरले भन्यो- नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाही गर्छौँ

काठमाडौं– काठमाडौं महानगरपालिकाले नेपाली भाषा बोल्न प्रतिबन्ध लगाउने विद्यालयलाई कारबाहीको

भेरी अस्पतालमा जलन वार्ड सञ्चालन

नेपालगञ्ज– नेपालगन्जको भेरी अस्पतालमा जलनका बिरामीका लागि जलन वार्ड सञ्चालनमा

कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएस शाखामा धर्ना तस्बिरहरू

काठमाडौं– कोरियन भाषा परीक्षा पास गरेर बसेकाहरूले कोरिया जान पाउनु