काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सरकारमात्रै नभएर व्यवस्था नै अनिश्चित छ भन्ने लागिसकेको तर्क गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकार आफैँले नीति तथा कार्यक्रममा उल्लेख गरेको विषयले यसको पुष्टि भएको जिकिर गरे ।
‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने भन्ने सम्म त यो गणतान्त्रिक सरकारले लेख्नु ठीकै छ । तर, त्यसकाविरुद्ध प्रतिवाद गर्ने, लड्ने भन्ने कुरा नीति तथा कार्यक्रममा ल्यायो,’ लिङ्देनले भने, ‘यसबाट के देखिन्छ भने यो सरकारलाई सरकारमात्रै अनिश्चत छैन कि यो व्यवस्था नै अनिश्चित छ भन्ने लागिसक्यो ।’
उनले राप्रपाले लामो समयदेखि उठाउँदै आएको व्यवस्था परिवर्तनको विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिए । ‘हामीले जो बारम्बार उठाइराखेका छौँ, त्यो विषयलाई सम्बोधन गरेकोमा सरकारलाई धन्यवाद दिन चाहन्छौँ,’ अध्यक्ष लिङ्देनले भने ।
प्रतिक्रिया