काठमाडौं– अमेरिकी सरकारको सर्वोच्च कार्यकारी निकायमा भ्रष्टाचार र पदको दुरुपयोग बढ्दै गएको देखिएको छ । हालै मध्यपूर्वको धनाढ्य मुलुक कतारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विलासी हवाइजहाज ‘उपहार’ दिने प्रकरणमा भ्रष्टाचारको चर्को दुर्गन्ध आइरहेको छ ।
कतारले ट्रम्पलाई बोइङ ७४७–८ जम्बो जेट ‘उपहार’ दिने समाचारमा जनाइएको छ । ४० करोड डलर बराबरको उक्त हवाइजहाजलाई ‘हवाइ महल’ को संज्ञा दिइएको छ । ट्रम्पले यसलाई राष्ट्रपतिको औपचारिक विमान ‘एअर फोर्स वान’ का रुपमा प्रयोग गर्ने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । यो कुनै पनि अमेरिकी राष्ट्रपतिले प्राप्त गर्ने सबैभन्दा महङ्गो उपहार हुनेछ ।
आफ्नो कार्यकाल सकिएपछि ट्रम्पले उक्त जहाजलाई ‘ट्रम्पको राष्ट्रपतीय पुस्तकालय कोष’ लाई हस्तान्तरण गर्ने समाचारमा जनाइएको छ । ट्रम्पले पछि उक्त जहाजलाई आफ्नै व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने सम्भावना पनि उत्तिकै छ । यद्यपि ट्रम्पले सोमबारमात्रै यस्तो सम्भावना नरहेको बताएका छन् । इतिहास हेर्दा ट्रम्प आफ्नो बचनमा नअडिने राष्ट्रपति प्रतित हुन्छन् ।
तर, ट्रम्पले चाहिँ आफूलाई कतारले दिने उपहारको बचाउ गरेका छन् । उनले यस्तो उपहार स्वीकार नगर्नु मूर्खता हुने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘म खालको यस्तो प्रस्ताव अस्वीकार गर्ने मान्छे होइन । म मूर्ख भएर – मैले धेरै महङ्गो जहाज सित्तैमा लिन्नँ पनि भन्न सक्छु ।’
यसअघि आइतबार ट्रम्पले आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जालमा लेखेका थिए, ‘४० वर्ष पुरानो एअर फोर्स वानलाई केही समयका लागि प्रतिस्थापन गर्न सार्वजनिक र पारदर्शी रुपमा रक्षा मन्त्रालयले सित्तैमा ७४७ जहाज उपहार पाइरहेको तथ्य देखेर अफ्ठ्यारोमा परेका मूर्ख डेमोक्र्याटहरु जहाजका लागि उच्च डलर तिर्नुपर्ने बताइरहेका छन् ।’
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलाइन लेभिटसँग फक्स न्यूजमा सोमबार पत्रकार ब्रायन किलमेडले यसबारे सोधखोज गरेका थिए, ‘उनीहरु हामीलाई यस्तो चिज दिइरहेका छन्, यसको बदलामा उनीहरु पनि केही चाहन्छन् भन्ने कुरामा तपाईँलाई चिन्ता लाग्छ ?’ उनले ठाडै प्रतिवाद गरिन् । उनले भनिन् ‘पटक्कै लाग्दैन किनभने उनीहरुले राष्ट्रपति ट्रम्पलाई चिनेका छन् र ट्रम्प आफ्नो दिमागमा अमेरिकी जनताको हित राखेर मात्रै काम गर्छन् भन्ने उनीहरुलाई थाहा छ ।’
अमेरिकाका लागि कतारी सञ्चार सहचारी अली अल अन्सारीले भने ट्रम्पलाई जहाज ‘उपहार’ दिने कुरा ‘असत्य’ भएको बताएका छन् । हाल राष्ट्रपति ट्रम्प मध्यपूर्वको भ्रमणमा निस्केका छन् । मंगलबारदेखि शुरु भएको मध्यपूर्व भ्रमणका क्रममा उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स जाने कार्यक्रम छ । उनले यसै भ्रमणका क्रममा कतारले दिने उक्त उपहार स्वीकार गर्ने सम्भावना छ ।
ट्रम्पले औपचारिक रुपमा स्वीकार गरेपछि सर्वप्रथम अमेरिकी वायुसेनाकहाँ पुर्याइने छ । त्यहाँ अमेरिकी वायुसेनाले उक्त जहाजमा अमेरिकी राष्ट्रपतिका लागि आवश्यक उपकरण जडान गर्ने छ । यसमा लाग्ने खर्च अमेरिकी वायुसेनाले नै भर्ने अमेरिकी टेलिभिजन एबीसीले उल्लेख गरेको छ ।
अमूक मुलुकले अमेरिकी राष्ट्रपतिजस्तो शक्तिशाली पदमा रहेका व्यक्तिलाई ‘उपहार’ दिएको जहाजबाट उत्पन्न हुने सुरक्षा र गुप्तचर जोखिम पनि उच्च छ । कतारी उपहार स्वीकार गर्ने ट्रम्पको कदमलाई विपक्षी डेमोक्र्याट मात्रै हैन उनको आफ्नै रिपब्लिकन नेताहरुले पनि आलोचना गरेका छन् ।
ट्रम्पकै रिपब्लिकन पार्टीका तर्फबाट सिनेटमा फ्लोरिडा राज्यको प्रतिनिधित्व गर्ने सिनेटर रिक स्कट कतारले हमासको समर्थन गर्ने भएकाले कतारी जहाज असुरक्षित भएको बताउँछन् । ‘म कतारी जहाजमा चढ्दिनँ । उनीहरु हमासलाई समर्थन गर्छन् । मलाई थाहा छैन, यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ ।’ उनले द हिललाई भनेका छन्, ‘म अमेरिकाका राष्ट्रपति असुरक्षित जहाज चढुन् भन्ने चाहन्न ।’
उता रिपब्लिकन पार्टीका तर्फबाट सिनेटमा मिजौरी राज्यको प्रतिनिधित्व गर्ने सिनेटर जस हली चाहिँ यस्तो जहाज अमेरिकामै बन्नुपर्ने धारणा राख्छन् । ‘यदी ठूलो, सुन्दर एअर फोर्स वान अमेरिकामै बनेको भए राम्रो हुन्थ्यो ।’ उनले भनेका छन्, ‘त्यसो भएको भए अझ उत्तम हुन्थ्यो ।’

यो प्रकरणले भ्रष्टाचार र पदीय दुरुपयोगको पनि संकेत गरेको छ । कतिपय जानकार यस प्रकरणले संविधानको तनखासम्बन्धी बुँदा उल्लङ्घन हुने दाबी गर्छन् । संविधानको यसै व्यवस्थाका आधारमा ‘सिटिजन्स फर इथिक्स एण्ड रेस्पोन्सिबिलिटी इन वाशिङ्टन नामक गैर नाफामूलक संस्थाले सोमबार ट्रम्पको कदमविरुद्ध अदालतमा मुद्दा पनि दायर गरेको छ ।
हुन पनि अमेरिकी संविधानको पहिलो धाराको नवौँ बुँदामा लेखिएको छ- ‘अमेरिकाले कुनै पनि पद प्रदान गर्नेछैन, र उनीहरुको मातहत नाफा र कोषको पद धारण गरेको कुनै पनि व्यक्तिले कंग्रेसको मञ्जुरीबिना कुनै पनि राजा, राजकुमार वा विदेशी मुलुकले दिने कुनै पनि किसिमको उपहार, तनखा, पद वा दर्जा स्वीकार गर्न पाउने छैन ।’
कतारले दिने भनिएको विलासी जहाजमात्रै होइन, उनी पदमा रहँदै आफ्नै स्वामित्वमा रहेको क्रिप्टोकरेन्सी कारोबार, ट्रुथ सोसल मिडिया र अरु व्यवसायबाट पनि लाभ लिइरहेका छन् । कतिपयले ट्रम्प सरकारलाई अमेरिकी इतिहासकै सबैभन्दा भ्रष्ट प्रशासनको संज्ञासमेत दिने गरेका छन् । राष्ट्रपति हुने बेला जिम्मी कार्टरले आफ्नो बदाम फल्ने खेत आफ्नो स्वामित्वबाट अलग गरेको घटना यहाँ स्मरणीय छ ।
हुन पनि राष्ट्रपति बन्नुअघि देखि नै अमेरिकी जनतामाझ उनले ‘भ्रष्ट’ नेताको छवि बनाएका छन् । पछिल्लो राष्ट्रपतीय निर्वाचनअघि गत अक्टोबर महिनामा मार्क्वेट ल स्कुलले गरेको सर्वेक्षणमा ६१ प्रतिशतले ट्रम्पले ‘धेरै वा केही’ ‘भ्रष्ट व्यवहार’ देखाएको बताएका थिए । उक्त सर्वेक्षणमा कमला ह्यारिसलाई ‘धेरै वा केही’ ‘भ्रष्ट व्यवहार’ देखाएको बताउनेको सङ्ख्या केबल ३८ प्रतिशत थियो ।
गत मार्च महिनामा यूगभले सार्वजनिक गरेको सर्वेक्षणमा ट्रम्पलाई ४६ प्रतिशतले ‘अति धेरै’ र १८ प्रतिशतले ‘केही थोरै’ भ्रष्टको संज्ञा दिएका थिए । उक्त सर्वेक्षणमा केबल ३६ प्रतिशतले ट्रम्प भ्रष्ट नभएको बताएका थिए ।
दोस्रो कार्यकालमा ट्रम्प स्थापित कानुनको बेवास्ता गर्ने, अदालतलाई नै नटेर्ने, विपक्षीलाई पक्राउ गर्नेजस्ता गतिविधिमा उद्दत देखिन्छन् । तर, कतारी ‘उपहार’ प्रकरणले डेमोक्र्याटिक समर्थक र तटस्थ मतदातामाझ मात्रै नभएर आफ्नै रिपब्लिकन समर्थकमाझ पनि ट्रम्पको छवि धुमिलिने निश्चित छ ।
प्रतिक्रिया