काठमाडौं – म्याद नाघेको पेस्की समेत गरी देशभरका ६ महानगरपालिकामा एकै वर्ष एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको छ ।
कानुन बमोजिम रित नपुर्याइ कारोबार गरेको, बेमानसिम वा हिनामिना देखिएको भनी लेखापरीक्षकले कैफियत जनाएको रकमलाई बेरुजु भनिन्छ ।
महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) मा उल्लेख भएअनुसार, उक्त अवधिमा महानगरहरूको ७५ अर्ब ५४ करोड १० लाख रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको थियो ।
लेखापरीक्षण गरिएको रकममा म्याद नाघेको पेस्कीसमेत गरी एक अर्ब ५८ करोड ८७ लाख रुपैयाँ बेरुजु देखिएको र बेरुजुमध्ये पेस्की रकम १६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
जम्मा ६ वटा महानगरको लेखापरीक्षणको तुलनामा २.१० प्रतिशत बेरुजु भएको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको हो ।

लेखापरीक्षण भएको रकमका आधारमा सबैभन्दा बढी प्रतिशत बेरुजु पोखरा महानगरमा भेटिएको छ । महानगरमध्ये विराटनगरको बेरुजु सबैभन्दा कम छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले (एकीकृत समाजवादी)बाट टिकट लिएर गत स्थानीय तह निर्वाचनमा जीत हासिल गरेका थिए ।
महालेखाले कास्कीस्थित पोखरा महानगरको १३ अर्ब ४६ करोड ७२ लाख ६० हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो, जहाँ ५० करोड ४३ लाख नौ हजार रुपैयाँ बेरुजु निस्कियो ।
पोखरामा भेटिएको बेरुजु लेखापरीक्षण भएको रकमको ३.७४ प्रतिशत हो, जुन अन्य महानगरमा भन्दा बढी हो ।
पोखराले आर्थिक वर्ष २०८०/८१ म सङ्घीय, प्रदेशको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी जम्मा ६ अर्ब ४३ करोड ६१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको थियो । चालु, पुँजीगत र अन्य गरी सात अर्ब तीन करोड ११ लाख २९ हजार रुपैयाँ खर्च गरेको थियो ।

वीरगञ्ज दोस्रो
जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित भएका राजेशमान सिंहले नेतृत्व गरेका वीरगञ्ज महानगरपालिकामा दोस्रो बढी बेरुजु निस्किएको छ ।
पर्सास्थित उक्त महानगरमा महालेखाले ६ अर्ब २८ करोड १६ लाख ५१ हजार रुपैयाँ बराबरको लेखापरीक्षक गरेको थियो । जहाँ एकै आर्थिक वर्षमा २२ करोड ७५ लाख ६ हजार रुपैयाँ बेरुजु भेटिएको हो ।
वीरगञ्ज महानगरमा भेटिएको बेरुजु रकम लेखापरीक्षण भएको रकमको ३.६२ प्रतिशत हो ।
वीरगञ्जले सङ्घीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी तीन अर्ब १२ करोड २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु, पुँजीगत र अन्य गरी तीन अर्ब १६ करोड १६ लाख २५ हजार रुपैयाँ खर्च गरेको थियो ।

काठमाडौँ तेस्रो
स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन)ले नेतृत्व गरेका काठमाडौं महानगरपालिकाले बेजुरु बनाउने महानगर सूचीमा तेस्रो स्थान ओगटेको छ ।
महालेखाले आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौंको २७ अर्ब ५२ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो ।
लेखापरीक्षण गरिएकोमध्ये ६८ करोड दुई लाख ३६ हजार रुपैयाँ बेरुजु निस्कियो । बेरुजु निस्किएको रकम कुल लेखापरीक्षण गरिएको रकमको २.४७ प्रतिशत हुन आउँछ ।
काठमाडौंले सङ्घीय, प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी उक्त आर्थिक वर्षमा १२ अर्ब ८८ करोड ३१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
काठमाडौंले सो अवधिमा चालु, पुँजीगत र अन्य खर्च गरी १४ अर्ब ६४ करोड १२ लाख ५१ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ ।

प्रचण्डपुत्री नेतृत्वको भरतपुर चौथो
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाल मेयर रहेकी भरतपुर महानगरपालिका बेरुजुका हिसाबले चौथो नम्बरमा रहेको छ ।
महालेखाले नेपालकै उत्कृष्ट पालिका भनेर चिनिएको चितवन भरतपुरमा ११ अर्ब १३ करोड ३ लाख २९ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गरेको थियो ।
लेखापरीक्षण गर्दा १० करोड दुई लाख ७९ हजार रुपैयाँ बेरुजु निस्कियो, जुन लेखापरीक्षण भएको रकमका आधारमा ०.९० प्रतिशत हो ।
आर्थिक वर्ष २०८०/८१ म भरतपुरले सङ्घीय, प्रदेश अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोष समेत गरी जम्मा पाँच अर्ब ४९ करोड ९८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
महानगरले सोही वर्ष चालु, पुँजीगत र अन्य खर्चसमेत पाँच अर्ब ६३ करोड चार लाख ३० हजार रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

ललितपुर पाँचौँ
ललितपुर महानगरपालिका बेरुजु रकमका हिसाबले पाँचौँ नम्बरमा छ । नेपाली काङ्ग्रेसको तर्फबाट दोस्रोपटक मेयर निर्वाचित चिरीबाबु महर्जनले हाँकेको ललितपुर पनि काठमाडौं उपत्यकाकै महानगर हो ।
ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख हजार रुपैयाँ बराबरको लेखापरीक्षण हुँदा पाँच करोड ५५ लाख २१ हजार रुपैयाँ बेरुजु निस्किएको छ, जुन लेखापरीक्षण भएको रकमको ०.५२ प्रतिशत हो ।
ललितपुरले आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय, प्रदेश अनुदार, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी जम्मा चार अर्ब ९१ करोड ८० लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ ।
उक्त वर्ष ललितपुरमा चालु, पुँजीगत र अन्य खर्च गरी पाँच अर्ब ७७ करोड १६ लाख ८५ हजार रुपैयाँ खर्च भएको थियो ।

विराटनगरमा सबैभन्दा कम बेरुजु
महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगर महानगरपालिकामा निस्किएको छ ।
काङ्ग्रेसबाट उम्मेदवार रही निर्वाचित भएका मेयर नागेश कोइरालाले हाँकेको महानगरमै कोशी प्रदेशको राजधानी छ ।
आर्थिक वर्ष २०८०/८१ मा विराटनगरको ६ अर्ब ४४ करोड ७६ लाख २१ हजार रुपैयाँ बराबर लेखापरीक्षण गर्दा दुई करोड आठ लाख ५७ हजार रुपैयाँ बेरुजु निस्कियो ।
बेरुजु निस्किएको रकम लेखापरीक्षण गरिएको कुल रकमको ०.३२ प्रतिशत हुन आउँछ । जुन रकम देशभरका महानगरमा भेटिएको बेरुजुमध्ये सबैभन्दा कम हो ।
विराटनगर उक्त आर्थिक वर्षमा सङ्घीय, प्रदेश अनुदार, राजस्व बाँडफाँट, आन्तरिक आय, अन्य आय र कोषसमेत गरी तीन अर्ब १० करोड ८९ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
सोही अवधिमा चालु, पुँजीगत र अन्य खर्च गरी तीन अर्ब ३३ करोड ८६ लाख ८२ हजार रुपैयाँ खर्च गरेको थियो ।
प्रतिक्रिया