लोकपर्व जितियाको व्रत आजदेखि शुरू « Khabarhub

लोकपर्व जितियाको व्रत आजदेखि शुरू


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ ।

यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।

पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय भएदेखि शुरू भएको यो व्रत भोलि आइतबार दिउँसो ३ बजेपछि सम्पन्न हुनेछ । जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो ।

यसलाई ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ। सन्तानको सुख शान्ति र चिरायूका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ की यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास छ ।

विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ। यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् भन्ने मान्यता पनि रहेको छ ।

भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए ।

आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्दछिन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नुपर्ने हुन्छ ।

कथा समाप्त भएपछि पाइतालामुनिको खरलाई छ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ । यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई जिमुतवाहन, चिल, स्याल र दिवङ्गता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अङ्कुरी (भिजाइएको केराउ) सहित पकाएको साग खाने प्रचलन रहेको छ । यसप्रकार यो व्रतले करीब तीन दिनको अवधि समेटेको हुन्छ ।

जितिया व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गर्ने भएकाले यसलाई जीवितपुत्रीका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरी, पितराइन र ओठङ्नको विधि गर्ने चलन छ ।

जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण छन् । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ ।

यस्तै ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनुले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : ५२ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य