धनुषा– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तिनै तहका सरकारबीच सहकार्य र समन्वय गरी खानेपानीसम्बन्धी विद्यमान समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन्।
नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घद्वारा आयोजित कार्यशाला गोष्ठीलाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले जमिनमुनिको पानीलाई बचाउन योजनाबद्ध काम गर्न आवश्यक रहेकामा जोड दिए ।
उनले प्रकृतिलाई दोहन गर्ने र पुनर्जागरण नगर्ने मानवीय गतिविधि आफ्नै लागि खतरनाक हुने उल्लेख गरे। प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता निधिले मानवले उपयोग गर्ने प्राकृतिक स्रोतसाधनको भण्डारण गर्नुपर्ने विचार व्यक्त गरे। प्रकृतिलाई दोहन गर्ने तर पुनर्भरण गरिएन भने एक दिन सबै रितिन्छ अनि के गर्ने ?, उनले प्रश्न गरे।
कार्यक्रममा खानेपानी संस्थानका महाप्रबन्धक अजयबाबु ढकालले वर्षाको पानी जम्मा गरेर कतिपय स्थानमा पानीको आपूर्ति भइरहेको दृष्टान्त सुनाउँदै पानीप्रति हरेक नागरिक सचेत र संवेदनशील हुन आवश्यक रहेको विचार व्यक्त गरे। उनले पानी सबैलाई चाहिने तर बचाउन कसैले ध्यान नदिने प्रवृत्ति बढिरहेकाले समस्या बढ्दै गएको बताए।
‘हामीसँग प्राकृतिक रूपमा पानीमा प्रशस्त स्रोतहरू छन् । पानीलाई ल्याउन, प्रशोधन गर्न, शुद्ध बनाउन तथा घरघर पुर्याउन खर्च लाग्छ तसर्थ निःशुल्क वितरण भने तत्काल सम्भव छैन’, ढकालले भने ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अब कमलाको पानी जनकपुरधाम ल्याउनुपर्ने बताए। कर्मचारी सङ्घका अध्यक्ष केदार धमलाले सबै मिलेर पानीको भविष्यगत योजना बनाउन आवश्यक रहेकामा जोड दिए ।
सङ्घका स्थानीय अगुवा अजयकुमारप्रसाद मिन्टुले कार्यक्रमको सहजीकरण गरेका थिए भने इञ्जिनियर शिरिषराज भण्डारी, इञ्जिनियर राकेश गोइतले मधेसको खानेपानीको अवस्था र चुनौती, संस्थानका इञ्जिनियरिङ महाशाखा प्रमुख निरण महर्जनले राष्ट्रियस्तरको कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया