नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र त्यसको प्रत्यक्ष असर आम मानिसको जीवनमा परिरहेको बताएका छन्।
ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन आइतबार सम्बोधन गर्दै मोदीले महामारी, जलवायुजन्य विपद् र आपूर्ति शृंखलामा आएको अवरोधले विश्वका देशहरू एकअर्कासँग कति जोडिएका छन् भन्ने देखाएको बताए। एउटा स्थानमा उत्पन्न हुने संकटले अन्य देशलाई समेत प्रभावित गर्न सक्ने उनले बताए ।
सम्मेलनको सुरुवातमा सदस्य राष्ट्रका नेताहरूको सामूहिक फोटोसेसन गरिएको थियो। उक्त फोटोसेसनमा मोदीको दायाँतर्फ चिनियाँ राष्ट्रपति सी चिनफिङ र बायाँतर्फ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखिएका थिए।
‘ग्लोबल साउथ’को ब्रिक्सप्रति विश्वास बढ्यो
मोदीले ‘ग्लोबल साउथ’का देशहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताए। ब्रिक्समा उनीहरूको आवाज सुनिने र अनुभवलाई महत्व दिइने भएकाले विश्वास बढेको उनको भनाइ थियो।
उनले ब्रिक्सको सबैभन्दा ठूलो शक्ति सदस्य राष्ट्रबीचको विविधता र आपसी सहयोग भएको बताए। भारतमा प्रकृतिलाई आमाका रूपमा सम्मान गरिने उल्लेख गर्दै मोदीले विकास र वातावरण एकअर्काका विरोधी नभई दुवैलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे।
संकटसँग जुध्न प्रारम्भिक चेतावनी प्रणाली
विश्वमा बढ्दो संकटलाई ध्यानमा राख्दै भारतले ब्रिक्स देशहरूलाई यस्ता परिस्थितिका लागि पूर्वतयारीमा जोड दिएको मोदीले बताए।
संक्रामक रोगको फैलावट रोक्न तथा त्यससँग जुध्न ‘ब्रिक्स इन्टिग्रेटेड अर्ली वार्निङ सिस्टम’ निर्माणमा सहमति भएको उनले जानकारी दिए। त्यस्तै, विपद् व्यवस्थापनका लागि प्रारम्भिक चेतावनीसम्बन्धी तथ्यांक एकीकरणका दिशानिर्देश तयार गरिएको पनि उनले बताए।
भारतको अध्यक्षतामा ब्रिक्सको कामलाई लचिलोपन, नवप्रवर्तन, सहयोग र दिगोपन गरी चार विषयमा केन्द्रित गरिएको मोदीको भनाइ थियो।
साना व्यवसाय र स्टार्टअपलाई प्राथमिकता
मोदीले साना तथा मझौला व्यवसायलाई नयाँ बजार, वित्तीय स्रोत र आवश्यक जानकारीसँग जोड्न ब्रिक्स एमएसएमई पोर्टल सुरु गरिएको बताए।
उनका अनुसार ‘ब्रिक्स कनेक्ट’मार्फत रोजगारीका लागि आवश्यक सीप विकास, रोजगारी विस्तार र महिलाका लागि थप रोजगारीका अवसर सिर्जना गर्ने काम अघि बढाइएको छ।
ब्रिक्स देशबीच आपूर्ति शृंखलालाई थप विश्वसनीय र मजबुत बनाउन ‘ब्रिक्स लजिस्टिक सप्लाई चेन कोअपरेसन फ्रेमवर्क’ले सहयोग गर्ने उनले बताए।
ब्रिक्स राष्ट्रका स्टार्टअपलाई आपसमा जोड्न ‘ब्रिक्स इन्क्युबेटर नेटवर्क’ बनाउने तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘ब्रिक्स स्टार्टअप इनोभेसन फन्ड’ प्रस्ताव गरिएको पनि मोदीले जानकारी दिए।
ब्रिक्सद्वारा नयाँदिल्ली घोषणापत्र स्वीकृत
ब्रिक्स देशहरूले शिखर सम्मेलनका क्रममा नयाँदिल्ली घोषणापत्र स्वीकृत गरेका छन्। घोषणापत्रमा विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा साझा धारणा सार्वजनिक गरिएको छ।
घोषणापत्रमा रुस र चीनसहित ब्रिक्स सदस्य राष्ट्रहरूले पहलगाम आतंकवादी हमलाको निन्दा गरेका छन्। आतंकवादीलाई आश्रय दिने तथा उनीहरूसम्म पुग्ने वित्तीय स्रोत रोक्न सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
ब्रिक्समा हाल ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान, यूएई, साउदी अरब र इन्डोनेसियासहित ११ राष्ट्र सदस्य छन्।












प्रतिक्रिया