सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय  | Khabarhub Khabarhub

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी । साथमा एउटै उमेरका मन मिल्ने साथीहरू । कुनै कचकच नगर्ने कम्पनी । महिना मर्यो कि, खातामा पैसा । सुनिता गुरुङका लागि कोरियाको बसाइ केही कुराले कमी थिएन । न त कुनै कुराको अभाव र समस्या नै । 

सोल (कोरियाको राजधानी) को बसाइ सुखद थियो । सुविधायुक्त थियो । कोरियन नागरिककै सरह बिदा बस्न र घुमफिरको सुविधा मिल्थ्यो । पाएको तलब सुविधा र कोरिया बस्दाको विलासी जीवनशैली हेर्दा सुनिताका लागि नेपाल फर्किनु पर्ने कुनै कारण थिएन । न घरपरिवारको दबाब नै थियो । अविवाहित जीवन । कसैको रोकतोक केही थिएन । तर सुनिताले विदेशमै बस्न चाहिनन् । स्वदेश फर्किन मन गरिन् । 

सुनिता सन् २०११ मा उनी कोरिया गएकी हुन् । उनको इजरायल जाने रहर थियो, चार महिना पढिन्, तर भाषा सिक्न सकिनन् । साथीहरुले कोरिया पढ्न सल्लाह दिए । कोरियन भाषा पढ्ने कक्षामा उनीसहित ५२ जना साथी थिए । जुन समय उनले १२ को पढाइ सकाएर बसेकी थिइन् । 

‘समयमै पैसा कमाएर जन्मभूमिमै केही गर्नु पर्छ, भन्ने लाग्थ्यो, नेपालमा १२ पास गरेर पैसा कमाउने अर्को कुनै उपाय नै थिएन । पैसा कमाउन कै लागि विदेश गएको हो’, उनी भन्छिन् । उनी २०५२ मा बाजुराको तत्कालीन बाँधु गाउँ विकास समितिको पाणीमा जन्मेकी हुन् । 

६ वर्षकै उमेरमा बुबा गुमाइन् । आफू पहिलाका दुई दाइ मध्ये पनि जेठाको अल्पआयुमै मृत्यु भयो । कान्छा दाइ उनी सानै हुँदा लामा बने । हाल पनि फूलबारी गुम्बा काठमाडौंमा छन् ।  सुनिताको परिवार बौद्धधर्मावलम्बी हुन् । दाइ र बुबाको साहरा नपाएकी सुनिता आमा मुर्कली गुरुङको संरक्षणमा हुर्किएकी हुन् । 

सुनिताका परिवारको पुर्खौली व्यवसाय भेडा पालन हो । उनका हजुरबा संगराम गुरुङ त्यो बेला बाजुरा जिल्लाकै बढी भेडाका मालिक थिए । उनको परिवारलाई गाउँलेले हजारी भेडा साहु भनेको याद अहिले पनि सुनिताले सुनाउँछिन् । त्यो बेला हजार बढी भेडा भएको परिवारलाई हजारी भेडासाहु भन्ने गरिन्थ्यो । 

बिच्छ्याको गुम्बाबाट बसाइ सरि पाणी र पछि कोल्टीमा बस्न थाले । दाइको मृत्यु, कान्छादाइ लामा भएपछि, आमा मर्कुलीले उनलाई बोकेर सुर्खेत झरिन् । त्यहाँ पसल थाले । चिया र खाना सहीतको छ । कक्षा तीन सम्मको पढाइ सुर्खेतमै पुरा गरेकी सुनिता केही समय काठमाडौं बसेर पढिन् । 

एक्लै आमाको कमाइले मात्रै सबै कुरा धान्न संभव थिएन । बजारको बसाइ, आमाको एक्लो कमाइ सहज नहुने भएपछि फेरि नेपालगञ्ज झरिन् र कक्षा १२ सम्मको पढाइ त्यही पुरा गरिन् । ‘उनमा सानैदेखि केही गर्ने इच्छाशक्ति र काम प्रति गहिरो लगाव थियो’, उनकी आमा सुनाउँछिन् । 

‘कोरिया जाने कुराको निर्णय पनि उसैले गरेकी हो, पछि तपाईंलाई बुढेसकालमा साहरा बन्छु, म नेपालमै केही गर्ने गरि फर्किन्छु, भनेर आएकी हो, राम्रै गरेकी छ’, आमा मुर्कलीले खुसी साथ भनिन्, ‘घरका सासु ससुरा छैनन् । हाल आमा छोरी सँगै बस्छन् । उतै बसेको भए, दुख लाग्ने थियो, कमाएर फर्की र व्यापार गरिरहेकी छ, खुसी लाग्छ ।’  

सुनिता पनि दुई कारणले मात्रै स्वदेश फर्किएको भन्छिन् । पहिलो आमा र दोस्रो स्वदेशमै केही गर्ने इच्छाशक्ति । सोलमा सुविधा थियो, तर त्यहाँ स्वदेश थिएन्, आमा हुनुहुन्थ्यो । त्यहाँ भए आफ्ना लागि सबथोक भए पनि समाज र स्वदेशका लागि केही हुने थिएन्, फर्किएकोमा खुसी छु, सन्तुष्ट छु, उनी भन्छिन् । 

‘विदेश गएकाहरु फर्किदैनन् । स्वदेश बिर्सिन्छन्, भन्ने गलत भाष्य छ । तर त्यहाँ बस्नेसँग पनि नेपाली मन हुन्छ । नेपालको माया हुन्छ । केही बाध्यता र केही सुविधा छोड्न नसकेर मात्र नफर्किएका हुन्, तर म त्यसमा परिन् । उनले भनिन्, ‘पैसा कमाउने धोको थियो । आफ्नो रहर पुरा गर्न सहज हुने जति कमाइयो । घर घरेडी पनि जोडियो । अनि स्वदेश फर्कियो । ’

उनको व्याजी मध्ये पहिला स्वदेश फर्किने पनि सुनिता नै हुन् । उनले भनिन्, ‘७ जना एउटै कम्पनीमा थियौं, म मात्रै फर्किए, कोही साथीहरू अहिले पनि उतै छन् । हाल सुनिता बुढीनन्दा होटल एण्ड लजकी मालिक हुन् । त्यो दुर्गम बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टीमा छ । पालिकाको केन्द्र र विमानस्थल भएको बजार, जहाँ उनको जन्मभूमि पनि हो । उनको होटलमा स्थानीय रैथानी बालीका परिकारलाई प्राथमिकता दिएकी छन् । 

सुनिताले कोरियाबाट फर्के लगत्तै नेपालगञ्ज घर किनिन् । जमिन पनि जोडिन् । उनलाई घर मात्रै भएर केही नहुने र समाजसँग जोडिन नपाउने लागेपछि बचिन् र गाउँमै होटल सञ्चालन गरिन् । उनले चलाएको होटल बजारको सुविधायुक्त र दुर्गम क्षेत्रमा राम्रो सुविधाको होटलमा गणना हुन्छ । जो सञ्चालनको चार वर्ष पुगिसकेको छ । 

कमाएको सबै रमाएर सकाउने, स्वदेशका लागि केही नगर्ने सोच पछिल्लो समय हाबी हुदैछ । त्यो राम्रो होइन्, उनले भनिन्, मसँग होटल व्यवसायसँगै जिल्ला बाहिर २ वटा घरेडी पनि छन् । समस्या पर्दा कुनै समस्या छैन् । त्यसैमा होटलबाटै उनले कम्तीमा ६०.७० हजार बचत गर्ने गरेकी छन् ।

सुनिताका श्रीमान कुलबहादुर थापा नेपाल सरकारका अधिकृत हुन् । उनले स्वदेश फर्किसकेपछि बिहे गरेकी हुन् । गाउँमै बस्ने, साथ दिने, विश्वास गर्ने र केही चमकधमक नगर्ने केटा मिलोस् भन्ने चाहना थियो, त्यस्तै पाएको उनी सुनाउँछिन् । बिहे भएको तीन महिनामा कुलबहादुरले सुब्बामा नाम निकाले । अघिल्लो वर्ष खुला प्रतिस्पर्धाबाट अधिकृत बने । 

सुनिताका १ छोरा र १ छोरी छन् । श्रीमान सरकारको अफिसर, रहर लाग्दा सन्तान । साथमै भएर आमाको संरक्षण गर्न सौभाग्य सबै मिलेकोमा उनी खुसी देखिन्छन् । सोलमै बसिदिएको भए, विलासी सुविधा यो भन्दा बढी पनि हुन्थ्यो होला, तर यो खुसी र आनन्द, सामाजिक सम्मान पाइने थिएन, उनी सम्झिन्छन् । 

कोरिया बस्दा उनले गार्मेन्टमा काम गरेकी हुन् । जति पैसा आम्दानी भएपनि नियमित खट्नु पर्ने, काममा इमानदार हुनु पर्ने र सुरुमा थकाइ समेत भन्न नपाउने कुरा भने उनी अहिले पनि सम्झिन्छन् ।

कोरिया बस्दा उनले गार्मेन्टमा काम गरेकी हुन् । जति पैसा आम्दानी भएपनि नियमित खट्नु पर्ने, काममा इमानदार हुनु पर्ने र सुरुमा थकाइ समेत भन्न नपाउने कुरा भने उनी अहिले पनि सम्झिन्छन् । सुनिता विदेश गएर देश बिर्सिने र स्वदेश फर्किएर प्रगति गर्नेका लागि नमुना हुन्, उदाहरण हुन् । 

गरिखाने इच्छाशक्ति, कामप्रतिको लगाव र समाजमा केही गरेर देखाउने रहर अरुका लागि सिकाइ योग्य छन् । अढाइ करोडको चोखो कमाइ लिएर आएकी सुनितालाई सामाजिक सेवा र अरुको सामु गरिखाएको देखाउने धोको पुरा भएको छ । उनी समाजसामु एक नमुना पनि बनेकी छन् । अविवाहित उमेरकै विदेश बसाइ र सुविधा त्यागेर देखाएको उनको स्वदेश मोह समाजका प्रेरणा हो । 

राजनीतिमा पनि रहर 
सुनितालाई राजनीतिमा पनि रहर छ । उनी हाल नेपाली कांग्रेस बाजुराकी महाधिवेशन प्रतिनिधि हुन् । समाज सेवा गर्ने, राजनीतिक जीवन बिताउने सानैदेखिको धोको थियो, त्यो पुरा गर्ने यात्रामा लागिपरेको उनी सुनाउँछिन् । 

नेपालगञ्ज घरमा बस्दा कांग्रेसका नेताहरू आइरहने गर्थे । त्यतिबेला नै उनी कांग्रेसनजिक थिइन् । विद्यार्थी उमेरमा राजनीति गर्ने समय नै पाइनन् । स्वदेश फर्किए पछि सुरुमा उनले व्यवसाय थालिन् । व्यवसाय राम्रो हुँदै गएपछि सामाजिक सेवामा जीवनमा जोडिन, श्रीमानसँग सोधेर राजनीति गर्ने निर्णयमा पुगेको उनी सुनाउँछिन् । 

श्रीमान कुलबहादुर थापाको परिवार भने नेकपा एमाले निकट थिए । श्रीमानले कुन पार्टी रोज्ने भन्नेमा कुनै बन्देज लगाएनन् । कांग्रेसबाट राजनीति गर्ने भनेपछि उनले हुन्छ भनिदिए । उनी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधि जितेकी हुन् । राजनीतिमा लागेर पनि ठूलै पदको लोभ उनलाई छैन् । 

सेवा र समाजमा जोडिन पाए, पुग्यो, सबैतिर सहज व्यवस्थापन भइसक्यो, राजनीतिक जीवनमार्फत् समाज सेवामा जोडिनु पर्छ भन्ने मान्यताले कांग्रेसमा आवद्ध भएको उनी सुनाउँछिन् । खर्च व्यवस्थापनका लागि व्यवसाय छँदैछ, श्रीमानको कमाइले सन्तान हुर्काउन र शिक्षा दिन पुगिहाल्छ । गाउँ समाजकै लागि केही गर्ने सोचमा उनी छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ९ : ११ बजे

बाम्का बजार आगलागी : सरकारसँग राहतको माग

बाजुरा– बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत

आज निर्जला एकादशी, तुलसीको दल राखिँदै

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा शनिबार तुलसीको दल

‘बकर ईद’ समुदाय विशेष मात्र नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीहरूको

विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

रौतहट– रौतहटमा मौसमजन्य विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला

बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव मजबुत बनाएको छ : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म,