निर्वाचन क्षेत्र फेरिरहने प्रचण्ड : रोल्पादेखि गोरखासम्म, अब कास्कीको तयारी ! | Khabarhub Khabarhub

निर्वाचन क्षेत्र फेरिरहने प्रचण्ड : रोल्पादेखि गोरखासम्म, अब कास्कीको तयारी !


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिमा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता र गणतन्त्र घोषणा गर्ने शिखर नेतृत्वको हैसियतले चिनिन्छन् ।

तर, उनको अर्को प्रमुख राजनीतिक विशेषता हो – चुनावी क्षेत्र निरन्तर फेर्दै चुनाव लड्ने शैली ! जनयुद्धका दिनहरूमा ‘सक्रिय भूमिगत’ नेता प्रचण्डले शान्ति सम्झौता र मुख्यधारको राजनीतिमा प्रवेश गरेयता देशका पूर्वदेखि पश्चिमसम्मका जिल्ला चाहार्दै चुनावी राजनीति अघि बढाएका छन् ।

पछिल्लो संकेतअनुसार, अब उनले आगामी चुनाव कास्कीबाट लड्ने तयारी गरेका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनसँगै प्रचण्डको सार्वजनिक निर्वाचन यात्राको सुरुआत भएको हो ।

माओवादीको युद्धको केन्द्रभूमि मानिने रोल्पा–२ र राजधानी केन्द्रित प्रभाव परीक्षण गर्ने उद्देश्यले काठमाडौं–१० बाट उनी मैदानमा उत्रिए । दुबै स्थानबाट उनी विजयी भए ।

तर, चुनावी परिणाम आफूअनुकूल नआउने देखेपछि अन्ततः उनले काठमाडौं–१० रोजे र रोल्पा त्यागे । त्यो चुनावले माओवादीलाई राष्ट्रिय राजनीति केन्द्रमा ल्यायो, र प्रचण्डलाई पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर दिलायो ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने काठमाडौंले उनलाई साथ दिएन । उनले पुनः काठमाडौं–१० बाट उम्मेदवारी दिए तर पराजित भए । तर त्यहीबेला पूर्वी तराईको सिराहा–५ बाट भने उनी निर्वाचित भए ।

यो चुनावले देखायो—प्रचण्ड केबल पहाडी जनतामाझ लोकप्रिय छैनन्, तराईका मधेसवादी मतदातामाझ पनि प्रभाव राख्न सक्ने नेता हुन् ।

२०७४ को प्रतिनिधिसभा चुनावसम्म आइपुग्दा माओवादी माओवादी मात्र रहेन, एमालेसँगको गठबन्धनपछि नयाँ राष्ट्रिय समीकरण तयार भएको थियो । त्यही गठबन्धनको बलमा उनले चितवन–३ बाट चुनाव जिते ।

चितवन–३ मा उनी पहिले नै लोकप्रिय थिए, बाल्यकालको लामो समय चितवनमै बिताएका उनी स्थानीय नेताका रूपमा त्यहाँ सक्रिय पनि थिए ।

२०७९ को चुनावमा भने उनले गोरखा–२ रोजे । यो क्षेत्रमा डा. बाबुराम भट्टराईको पुरानो प्रभाव थियो । त्यही राजनीतिक प्रभावलाई माओवादीले पुनः आफ्नो पक्षमा फर्काउने रणनीतिअन्तर्गत प्रचण्ड गोरखा सरे । परिणामस्वरूपः उनी त्यहाँबाट सहजै विजयी भए । अहिले उनी यही क्षेत्रको प्रतिनिधित्व गरिरहेका छन् ।

तर, अब प्रचण्डको नजर कास्कीमा परेको छ । पोखरामा मंगलबार आयोजित माओवादी केन्द्रको तेस्रो महानगर सम्मेलनमा उनले खुलेरै संकेत दिए – ‘म कास्की आउन सक्छु ।’ अझ उनले थपे, ‘६ देखि ८ महिनाभित्र कास्की र पोखराको राजनीतिक मानचित्र बदल्न सकिन्छ ।’

यी भनाइहरू केवल औपचारिकता थिएनन् । कार्यकर्ताहरूबाट बढ्दो आग्रह, पोखरामा माओवादीप्रति पुनः आकर्षणको अनुभूति, र स्वयंको जन्मभूमि भएको ठाउँप्रतिको भावनात्मक सम्बन्ध—यी सबै कुराले प्रचण्डको आगामी चुनावी योजना कास्की केन्द्रित हुनसक्ने स्पष्ट संकेत दिन थालेका छन् ।

प्रचण्डको बाल्यकालको यात्रा पनि कास्कीबाटै सुरु भएको हो । अन्नपूर्ण गाउँपालिका, साविक ढिकुरपोखरी–२ को लेवाडे गाउँमा उनको जन्म भएको थियो । त्यहीँको महेन्द्र आधारभूत विद्यालयबाट उनले शैक्षिक यात्रा सुरु गरेका थिए । यद्यपि, उनी बाल्यकालमै चितवन सरेका थिए, कास्कीप्रतिको आत्मीय सम्बन्ध भने टुटेन ।

उनको यो घोषणासँगै कास्कीमा माओवादी कार्यकर्ताबीच उत्साहको लहर छाएको छ । धेरैले २०८४ को चुनाव प्रचण्डले कास्कीबाट लड्नेछन भन्ने विश्वास गर्न थालेका छन् । कार्यकर्ताहरूको जोड बढिरहेकै बेलामा प्रचण्डले भने, ‘म तपाईंहरूसँगै छु । म जहाँबाट चुनाव लडे पनि, नलडे पनि कास्की र पोखरासँग हाम्रो सम्बन्ध यथावत् रहनेछ ।’

राजनीतिक दृष्टिले हेर्दा, प्रचण्डको चुनावी यात्रा केवल क्षेत्र फेर्ने कथा मात्र होइन, नेपाली राजनीतिमा उनको प्रभाव फैलाउने रणनीतिक अभ्यास हो । पश्चिम पहाडको (रोल्पा), राजधानी (काठमाडौँ), तराई (सिराहा), भित्री मधेश क्षेत्र र मध्यपहाडी (चितवन, गोरखा) हुँदै अब गण्डकीको कास्कीसम्मको यात्रा उनले पूरा गर्न लागेका छन् ।

तर प्रचण्ड स्वयं पनि स्वीकार गर्छन् कि पहिलो शक्तिबाट तेस्रोमा झर्नुको पीडा उनीसँग छ । ‘हामी पहिलो शक्तिबाट तेस्रोमा झर्यौं, त्यो हाम्रो कमजोरी थियो,’ उनी भन्छन्, ‘मैले स्वयं शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ ।’

त्यसैले उनी अब फेरि नयाँ मोर्चा खडा गर्दैछन्न – या आन्दोलन, नयाँ क्रान्तिको घोषणासहित पोखराबाट बाबुराम भट्टराई नेतृत्वको समूहका किरण थापा, गण्डकीका अन्य नेताहरू लगायत दर्जनौं नेताहरूको माओवादी केन्द्रमा पुनः प्रवेश गराउनु पनि त्यसकै सङ्केत हो ।

प्रचण्डको चुनावी यात्राले देखाउँछ – उनको राजनीति एकै क्षेत्रमै सीमित छैन । उनी जनयुद्धको घाउ बोकेर राजधानी आए, मधेस पुगे, पश्चिमको घरघर छामे र फेरि जन्मभूमितिर फर्किने तयारीमा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ८ : ३७ बजे

दुर्घटना हुनुअघि विमानभित्रको त्यो अन्तिम सेल्फी…

काठमाडाैं – बिहीबार लण्डनतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली

आर्थिक अवस्थालाई सुधारको बाटोमा लैजाँदै छौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिग्रेको आर्थिक अवस्थालाई सुधारको

२० हजार घुस लिने नायव सुब्बा भ्रष्टाचारी ठहर, एक महिना कैद सजाय

काठमाडौं – जिल्ला प्रशासन कार्यालयमा महोत्तरीका नायव सुब्बा अशोक कुमार

जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

काठमाडौं – साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव