बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने | Khabarhub Khabarhub

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने



सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई लक्षित गरी शुक्रबारदेखि ‘होम बेस्ड हस्पिस केयर’ सेवा विस्तार गरेको छ ।

धरान–१३ जिरोपोइन्टस्थित एक क्यान्सर बिरामी पुरुषको घरमा गएर बीपी प्रतिष्ठानको अंकोलोजी इकाइले यस्तो उपचार सेवाको विस्तार गरेको हो ।

क्यान्सरका बिरामीलाई सहज रूपमा उपचार तथा हेरचाह पुर्‍याउने उद्देश्यले होम बेस्ड हस्पिस केयर सेवा सुरु गरेको हो ।

प्रतिष्ठानका सह प्रवक्ता डा अभिजित कुमारका अनुसार उक्त सेवा अन्तर्गत अस्पताल आउन कठिन पर्ने किसिमका क्यान्सरका सिकिस्त बिरामीहरूलाई आवश्यक पर्ने नियमित या आकस्मिक उपचार सेवाहरू प्रतिष्ठानको स्वास्थ्यकर्मीहरूको टोलीले घरैमा गएर दिने व्यवस्था मिलाइएको छ । 

उनले भने, ‘यस प्रकारको सेवाले क्यान्सरका कारण कमजोर भई घरमा थलिएर बसेको समयमा, दुखाइको पिडाले असह्य भएर छटपटाइ रहेको समयमा उपचारका लागि अस्पताल आउनुपर्ने कठिन परिस्थितिको सामना गर्नु परेका बिरामी तथा आफन्तजनका लागि ठुलो राहत मिल्ने छ ।’ 

घरमै गएर उपचार गरिने यस प्रकारको उपचार सेवा दिँदा क्यान्सर रोग भएका सिकिस्त बिरामीहरूलाई क्यान्सर सम्बन्धी प्रशिक्षित नर्सहरू र डाक्टरहरू खटेर लक्षण व्यवस्थापन गर्ने, उपशामक व्यवस्थापन गर्ने, भावनात्मक/आध्यात्मिक सहयोग गर्ने जस्ता कार्यका साथै पारिवारिक परामर्श प्रदान गर्ने पनि प्रतिष्ठानले जनाएको छ । 

बीपी प्रतिष्ठानका अंकोलोजी इकाइका क्यान्सर रोग विशेषज्ञ चिकित्सक डा सोनिया दुलालले खबरहबसंग भनिन्, ‘क्यान्सर रोगीले सहज र सर्वसुलभरुपमा उपचार पाउन भनेर घरैमा पुग्ने नीति बनाएको हो । घरैमा चिकित्सक र नर्स पुगेर क्यान्सर रोगीको उपचार गर्दै परामर्श दिँदा बिरामी व्यक्ती र परिवारका सदस्यको मानसिक आत्मबल बढ्ने विश्वास छ ।’ 

उनकाअनुसार प्रारम्भिक चरणमा प्रत्येक साताको बुधबार क्यान्सर रोगीका घर घरमा पुग्ने समय छुट्याइएको छ । उनले भनिन्, ‘बिरामीको अवस्थाअनुसार घरमा कति समय दिने हो त्यो तय गर्छौँ ।’ 

स्थापित स्वास्थ्य शैक्षिक संस्थाले सुरु गरेको यस्तो सेवा विस्तार काठमाडौं उपत्यका बाहिर यो नै पहिलो हो । उक्त सेवा लिन चाहने इच्छुक बिरामी वा तिनका आफन्तहरूले प्रतिष्ठानको अन्तरङ्ग मेडिसिन विभाग अन्तर्गतको अंकोलोजी युनिट (क्यान्सर युनिट) स“ग समन्वय गरी सेवा लिन सकिने प्रतिष्ठानले जनाएको छ । 

बीपी प्रतिष्ठानले छुट्टै क्यान्सर उपचार केन्द्र (अंकोलोजी सेन्टर) स्थापना गर्न भवन निर्माण, उपकरण जडान र जनशक्तिकालागि नेपाल सरकार र सिनेटबाट पारित गरेर विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ । 

सेवा दिए बापत प्रतिष्ठानले हाललाई प्रति भिजिट १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । विपन्न बिरामीको हकमा भने प्रतिष्ठानले विपन्न बिरामीलाई प्रदान गर्ने नियमानुसारको निःशुल्क सेवा दिने व्यवस्था गरेको छ । पहिलो चरणमा उक्त सेवा धरान उपमहानगरपालिका भित्र मात्र सीमित गरिएको छ ।    

नेपालमा क्यान्सरको दर निरन्तर बढ्दै जाँदा प्रतिष्ठानले लामो समयदेखि अन्कोलोजी उपचार तथा हेरचाहको लागि प्रमुख रेफरल केन्द्रको रूपमा सेवा दिँदै आएको छ । क्यान्सर भएका धेरै बिरामीहरूलाई चिकित्सा उपचार मात्र नभई भावनात्मक, आध्यात्मिक र उपचारात्मक सहयोग तथा हेरचाह पनि चाहिन्छ  ।  

प्रतिष्ठानको मोबाइल एपबाट ओपिडी टिकट काट्न सकिने सुविधा शुरु : 

सेवा विस्तारका क्रममा प्रतिष्ठानले उपचारका लागि आउने बिरामीहरूको सुविधालाई ध्यानमा राखी ओपीडी टिकट दर्ता गर्न तथा ल्याब रिपोर्ट हेर्नकालागि मोबाइल एपको नयाँ संस्करण पनि शुक्रबारदेखि नै सार्वजनिक गरेको छ । 

ओपिडी कक्षमा पुग्न अगाडि बिरामीले टिकट काउन्टरमा लामो लाम लागेर पुर्जी काट्नु पर्छ । पुर्जी काट्दा समय लाग्ने भएकाले सेवाको पहुँच, पारदर्शिता र सेवा ग्रहण प्रक्रियालाई अझ सरल र प्रभावकारी बनाउन मोबाइल एपका सुविधाहरु थप गरिएको प्रतिष्ठानले जनाएको छ । 

मोबाइल एप मार्फत सेवाग्राहीहरूले घरमै बसेर जेनेरल ओपिडी टिकट दर्ता (स्वास्थ्य बीमा, विपन्न नागरिक तथा अन्य क्रेडिटमा हुने ओपिडी टिकट दर्ता बाहेक) गर्दा एपमा लग इन गरी आफूले देखाउन चाहेको ओपिडी चयन गरी भुक्तानीको प्रक्रिया पश्चात् दर्ता भइसकेको जानकारीका साथै टोकन नम्बर प्राप्त गर्न सक्नेछन् । सो टोकन नम्बरको आधारमा अस्पतालको सम्बन्धित ओपीडीमा आएर ओपिडी टिकट तथा चिकित्सकलाई देखाउने टोकन प्राप्त गर्न सक्नेछन् । 

उक्त मोबाइल एपका माध्यमबाट ल्याबको रिपोर्ट पनि सहज रूपमा हेर्न र डाउनलोड गर्न सकिनेछ । उक्त मोबाइल एप गुगल प्ले स्टोर मा गएर ‘बीपी कोइराला इन्स्टिच्यूट अफ हेल्थसाइन्स’ टाइप गरी डाउनलोड गर्न सकिने छ । एपमा दिइएको क्यूआर कोडलाई आफ्नो  मोबाइलको क्यामरा वा स्क्यानरको माध्यमबाट स्क्यान गरेर समेत डाउनलोड गर्न सकिने गरी तयार गरिएको छ ।  

ओपिडी टिकट बापतको शुल्क आएमई पे र खल्ती नामका पेमेन्ट गेटवेका माध्यमबाट भुक्तानी गर्न सकिने छ । हाललाई यो सुविधा एण्ड्रोइड भर्सनका मोबाईलमा मात्र उपलब्ध छ । उक्त सेवाको संचालन पश्चात् ओपिडी टिकट काट्न तथा ल्याब रिपोर्ट लिनका लागि सेवाग्राहीले घण्टौँ लाइनमा बस्नु पर्ने झन्झटबाट राहत मिल्ने तथा समयको बचत हुनेछ भन्ने विश्वास लिइएको प्रतिष्ठानले जनाएको छ ।  

विद्यार्थीका लागि शारीरिक र मानसिक स्वास्थ्य इकाई र रिसर्च इकाई स्थापना 

यसैगरी बीपी प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको सर्वोपरि हितलाई मध्यनजर गर्दै निमित्त उपकुलपति समेत रहेका शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माको उपस्थितिमा विद्यार्थीकालागि शारीरिक र मानसिक स्वास्थ्य इकाई गठन गरिएको छ । 

मानसिक रोग विभागकी एडिसनल प्रोफेसर डा. रिंकु कुमारी गौतमको अध्यक्षतामा गठित उक्त इकाईले विद्यार्थीको  स्वास्थ्य प्रवर्द्धन, शारीरिक तन्दुरुस्ती, उचित पोषण तथा मानसिक स्वास्थ्य जस्ता विषयमा जागरूकता बढाउने किसिमका कार्यहरू गर्ने प्रतिष्ठानले जनाएको छ । 

विद्यार्थीलाई विभिन्न इन्डोर–आउटडोर खेलकुद तथा व्यायामशालामा सहभागी गराउने, न्यूनतम शुल्क लिएर भाडामा साइकल उपलब्ध गराउने,  योगा कक्षा तथा ध्यान केन्द्रमा सहभागी गराउने, मानसिक स्वास्थ्य, शैक्षिक, व्यक्तिगत वा अन्य विभिन्न चुनौतीहरूको सामना गरिरहेका विद्यार्थीहरूका लागि आवश्यक पर्न सक्ने मानसिक स्वास्थ्य परामर्श सेवाहरू सहजरुपमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको पनि सह प्रवक्ता डा कुमारले बताए , 

प्रतिष्ठानमै अध्ययनरत चिकित्साशास्त्रका विद्यार्थीका लागि छुट्टै ओपिडी सेवाको समेत व्यवस्थामार्फत आकस्मिक रूपमा मानसिक स्वास्थ्य समस्या देखिएमा द्रुतरुपमा उपचार सेवा वा परामर्शका लागि हेल्पलाइन फोन नम्बरको पनि व्यवस्था गरिएको छ ।

विद्यार्थीहरूकै टोलीको सहकार्यमा तनाव व्यवस्थापन, सजगता र स्वस्थ जीवनशैली सम्बन्धी कार्यशाला गोष्ठी, सेमिनार तथा प्रशिक्षण सत्रहरू सञ्चालन गरिने छन् भने विद्यार्थीहरूमा  शारीरिक वा मानसिक स्वास्थ्य समस्याका लक्षणहरूको प्रारम्भिक संकेतहरु नियमित स्क्रिनिङ तथा परामर्शमार्फत पहिचान गरी सो को आवश्यकता अनुसार उपचार गरिनेछ । यसका साथै विद्यार्थीमैत्री तथा तनावमुक्त शैक्षिक वातावरणलाई अझ परिष्कृत गर्दै लगिने प्रतिष्ठानले जनाएको छ । 

चिकित्सकीय अभ्यासलाई बृहत् बनाउने उद्देश्यले प्रतिष्ठानमा स्नातक तहका विद्यार्थीको स्टुडेण्टस् अंकोलोजी शाखा पनि स्थापन गरिएको छ । उक्त शाखामा रहेर विद्यार्थीले क्यान्सर रोकथाम र जागरूकतामा योगदान पुर्‍याउन, आम जनतामा क्यान्सर शिक्षा, जागरूकता र निवारक स्वास्थ्य सेवा अभ्यासहरूलाई प्रवर्द्धन गर्नुका साथै प्रतिष्ठान र समुदाय बीच पुलको रूपमा काम  सुरु गरेको छ । 

यसैगरी स्टुडेन्टस् रिसर्च विङ (शाखा) पनि स्थापना गरिएको छ । उक्त शाखाले विद्यार्थीको चिकित्सकीय ज्ञानमा वृद्धि हुने, आत्मा विश्वास बढ्ने, मानवीय स्वभाव परिष्कृत हुँदै जाने, चिकित्सा विज्ञानको क्षेत्रमा अनुसन्धानको ठूलो महत्त्व रहेको हुँदा प्रारम्भिक चरणदेखि नै विद्यार्थीहरूलाई अनुसन्धानको क्षेत्रमा आबद्ध गराई अनुसन्धान सम्बन्धी ज्ञानलाई बलियो बनाउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : २६ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता