पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती « Khabarhub

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित पुवाडाँडामा रहेको १४० रोपनी क्षेत्रमा मेकाडेमिया नटखेती सुरु गरिएको हो ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन एकाइ पोखराको सहयोगमा पर्वतमा पहिलोपटक मेकाडेमिया नटखेती सुरु गरिएको छ । उन्नत कृषि कृषक समूहका अध्यक्ष टीकराम उपाध्यायका अनुसार समूहमा आबद्ध २५ भन्दा बढी सदस्यको बाँझो जग्गा उपयोग गरेर खेती विस्तार गरिएको छ । यस वर्ष मेकाडेनिया नटका एक हजार बिरुवा रोप्ने योजना छ ।

आयोजनाको ५० प्रतिशत अनुदानसहित झण्डै ४६ लाख लगानी गरेर खेती विस्तार गरिएको हो । यसका लागि पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले २३ लाख सहयोग गर्ने भएको छ । झाडी फडानी, सिँचाइ पोखरी निर्माण, मल तथा बिरुवा खरिद, बिरुवा रोपणलगायत कार्य गर्न उक्त रकम खर्च भएको छ ।

यस वर्ष लगाइएको मेकाडेनिया नटले चार वर्षदेखि फल दिन सुरु गर्नेछ । दुई वर्षमै सामान्य रूपमा फल लाग्न सुरु हुने भए पनि चार वर्षदेखि पूर्ण मात्रामा आम्दानी लिन सकिने गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार थोरै ठाउँबाट बढी आम्दानी, रोग तथा जङ्गली जनावरबाट कम नोक्सानी हुने फलफूलको खोजीमा रहेका किसानका लागि मेकाडामिया नट बढी उपयोगी हुने देखिएको छ ।

समुद्री सतहदेखि एक हजार ६०० मिटरसम्मको सुक्खा क्षेत्रमा यसको उत्पादन राम्रो हुने भएकाले अहिले ठूलीपोखरीमा विस्तार गरिएको खेतीबाट प्रशस्त फाइदा लिन सकिने सचिव रेग्मीले बताए । मेकाडेमिया नटलाई बदामजस्तै काँचै फुटाएर खान सकिने र यसबाट खानेतेल, चकलेट, बिस्कुट, आइसक्रिमलगायतमा प्रयोग गर्न सकिने उनको भनाइ छ । यसको बिरुवा जेठ र असारमा रोप्दा राम्रो हुने उनले बताए ।

उनले मेकाडेमिया नटको एउटा बोटमा प्रतिवर्ष ५० देखि ७० किलोसम्म फल लाग्ने बताए । बाँदरले खान नसक्ने भएकाले बढी बाँदर लाग्ने ठाउँमा यसको खेती गर्नुपर्ने उनको भनाइ छ । बढ्दो बाँदर आतङ्कले खेतबारी बाँझै रहने क्रम बर्सेनि बढेका बेला फलफूलखेती विस्तार गरे किसानको आम्दानी बढाउन सकिने सचिव रेग्मीले बताए ।

पर्वतमा पहिलोपटक विस्तार गर्न थालिएको मेकाडेमिया नटखेतीको गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले शनिबार वृक्षरोपण गरेर शुभारम्भ गरिन् । उक्त अवसरमा मन्त्री श्रेष्ठले बाँझो जमिन सदुपयोग गरेर प्रशस्त आम्दानी लिन सकिने भएकाले यसको खेती विस्तारका लागि आयोजना सञ्चालन गरिएको बताइन् ।

बढ्दो युवा पलायन, बाँदर आतङ्क, जनशक्तिको अभाव भएकाले एकपटक मेहनत र लगानी गरेर वर्षौँसम्म फाइदा हुने खालको खेतीबाली लगाउनतर्फ किसानलाई आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवरलगायतले जिल्लाका अन्य क्षेत्रमा पनि मेकाडेमिया नटखेतीसँगै भौगोलिक आधारमा उत्पादनको सम्भावना भएका फलफूल विस्तारमा जोड दिइने बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ७ : ४३ बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन