काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई सन्देशमार्फत् मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका हुन् ।
कांग्रेसका एकजना सांसदले मंगलबार संसद्मा पेश हुन गइरहेको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न पार्टीले ‘ह्वीप’ लगाएको जानकारी दिए ।
‘भोलि १० गते बस्ने संसद् बैठकमा आ.व. ८२-८३को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न यो ‘ह्वीप’ जारी गरिन्छ,’ कांग्रेस प्रमुख सचेतक घिमिरेले सांसदहरूलाई पठाएको सन्देशमा भनिएको छ ।
सरकारद्वारा गत जेठ १५ गते संघीय संसद्मा पेश भएको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक, २०८२ मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
यसअघि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि विनियोजन विधेयकको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको थियो ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको थियो ।
प्रतिक्रिया