चिनोबानो हराएको ढुङ्गे रेल ! | Khabarhub Khabarhub

चिनोबानो हराएको ढुङ्गे रेल !

२०१६ सालदेखि झण्डै ३० वर्ष चलेको रेल धरान-चतरा-चक्रघट्टी हुँदै भीमनगरसम्म पुग्थ्यो


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

चतरा (सुनसरी) – ओहोरदोहोर गर्नेहरूकै स्मृतिमा पनि धुमिल हुँदैछ त्यो ढुङ्गे रेल ! वि.सं. ०४५ पछि जन्मेकाहरूका लागि त दन्ते कथा नै भइसकेको छ ।

०५०/५२ सालतिर चतरादेखि भीमनगरसम्म ठाउँ-ठाउँमा त्यही ढुङ्गे रेलका अवशेष देखिन्थे । त्यसपछि त न रेलका लिक देखिए, न रेलका डब्बा देखिए, न ढुङ्गे रेल कुदेका बाटा नै !

रेलका फलाम बेचिए, रेलको बाटो अतिक्रमणमा पर्‍यो, अनि कथा बन्यो – ढुङ्गे रेल !

‘२०१२ सालमा रेल चल्छ अरे भन्ने हल्ला चल्यो, त्यसैताका लिक लगाउन सुरु गरियो’, बराहक्षेत्र-२ का ८४ वर्षीय आनन्दप्रसाद गौतम भन्छन्, ‘रेल चलाउँदा मान्छेको भोग दिइन्छ अरे भन्ने हल्ला व्यापक भयो । यताका मान्छे त्राहि त्राहि भए । केटाकेटी बचाउन लागे । मान्छेको भोग नदिइ रेल चल्दैन रे भनियो ।’

गौतमको स्मरण अनुसार; चक्रघट्टीबाट बीचपानी, १३ आरडी हुँदै पटनाली खोला, करम खोला हुँदै रेल आइपुग्यो । ७० वर्षभित्रै त्यही रेलको चिनोबानो पनि हराइसकेको छ ।

ढुङ्गे रेल चल्दाताका धरानको सर्दूखोलामा लगाइएको पुलको भग्नावशेष ।

रेलका अवशेष कहाँ थियो भन्ने कुरा ४० सालअघिका मान्छेलाई मात्र थाहा होला । अहिले अवशेषका रूपमा पटनाली खोलाको जीर्ण पुलमात्र देख्न सकिन्छ । त्यतिबेलाको इँटाको प्रयोग गरेर वाल उठाएको थियो ।

२०५० पछि त रेलका बट्टा र लिक पनि चोरी भए । ठुटेपीपल पर रमेश पण्डितको घर छेऊ हुँदै बाघखोला आउँथ्यो । त्यहाँ फलामका धेरै लिक ओछ्याइएका थिए । घरको बलो हाले जसरी फलामका लिक हालिएका थिए । तलबाट नटबोल्ट ठोकिएका थिए । त्यसमाथिबाट रेलको डिब्बा गुड्थ्यो ।

रेलमा डिब्बा ढुङ्गाले भरिएको हुन्थ्यो । त्यो रेल भीमनगर हुँदै चक्रघट्टीबाट रित्तै आउँथ्यो । यताबाट ढुङ्गा लिएर उता जान्थ्यो । घुम्तीमा विस्तारै गुड्थ्यो ।

भीमनगरसम्म जान पाइन्थ्यो । रेलको स्टेसन एउटा चक्रघट्टी, बाङ्गे, चतरा, राजावास, मधुवन, कुशाहामा थियो । धरानको घोपामा पनि थियो । मधुवनबाट भान्टाबारी पुगिन्थ्यो ।

रेल चढ्न स्वाद हुन्थ्यो र बिहानै हिंडिन्थ्यो । पढ्न हिंडेको मान्छे स्कुल होइन भीमनगरतिर गइन्थ्यो । रेल चाहिँ पत्थर कोइलाले चल्थ्यो ।

असम एक्सप्रेस रेल चढेका गौतम ढुङ्गे रेलसँग तुलना गर्दै भन्छन्, ‘यहाँ त ढुङ्गे रेल चल्थ्यो, इण्डियाको रेल निकै लामो हुन्थ्यो । अगाडि कहाँ छ, पछाडि कहाँ छ देखिँदैनथ्यो ।’

ढुङ्गे रेलका अवशेष पनि नयाँ पुस्ताले देख्न नपाउँदा गौतम खिन्न मन गर्छन् । उनी भन्छन्, ‘ढुङ्गे रेलका डिब्बामात्रै राख्न दिएको भए पनि हुन्थ्यो । अहिलेका मान्छेले हेर्ने थिए, तर राखेनन् ।’

अहिलेको बयरवन बजारबाट तल सखुवागाछीसम्म रेलका लिकैलिक थिए । त्यो ठाउँको नाम नै पछिसम्म ‘स्टेशन’ भनिन्थ्यो । रेल उभ्याउने, साइड गरेर राख्ने गरिन्थ्यो ।

रेल्वेमा बनेका घर, बराहक्षेत्र-६ चक्रघट्टी

रेलका लेबर उतैका थिए, मल्दैयाहरू । तिनीहरू राति ९/१० बजेसम्म ढुङ्गा हाल्थे । ढुङ्गा बाघ खोलाबाट ओसार्थे । बाघ खोला बर्खामा फुत्रुक्क उफ्रेर तरिन्थ्यो । त्यहाँ वरपर तित्री फूलबारी गुठीको जग्गा थियो । अहिले घेराबेरा गरेको देख्छु । त्यो कसैको नम्बरी जग्गा होइन । गुठी संस्थानको जग्गा हो । त्यहाँ २५ बिघा जग्गा थियो । गोपाल बरालका बुवाले पनि दुई वर्ष जति ठेक्का लिएर खेत गरेका थिए । धान अचाक्ली फल्थ्यो । त्यहाँबाट ढुङ्गा निकालियो । अहिले बाघखोला प्रलय भएर आउँछ ।

चक्रघट्टी बाङ्गे हुँदै अहिलेको नडाहा त्यतिबेला कालिन्जे चौरी भनिन्थ्यो, त्यहाँबाट रेल सर्दू पुग्थ्यो । सर्दूमा रेल कुद्ने पुल हालिएको थियो । त्यहाँका सबै बेचेर खाए । ढुङ्गे रेल सर्दूबाट धरानको रेल्वे पुग्थ्यो । रेल्वेबाट रिटिङ हल पुग्थ्यो । इण्डियाले बनाएको संरचना थियो त्यहाँ । सर्दूमाथि पहाडको शीर खानीबाट ढुङ्गा निकालिन्थ्यो । ढुङ्गा झार्ने घिर्लिङ थियो । त्यहाँ स्टकिङ गर्ने ठूलो चौरी थियो । अहिले सुकुम्बासी बस्ती भएको छ । डाँडा घोपाको पर सिमेन्ट लगाएर पहाड थामिएको थियो । र, घिर्लिङमा ढुङ्गा हालिन्थ्यो ।

बराहक्षेत्र-२ स्थित सुन्दर गुन्दर झर्ने बाटैमा बसेक वयोवृद्ध गौतम रेलको अनुभव सुनाउँदै भन्छन्, ‘म पनि थुप्रै पटक चढें रेल । धरान जानुपर्‍यो भने चक्रघट्टी जानुपर्थ्यो । चतरा जाने रेल चाहिँ यताबाट आउँथ्यो । अहिले बाङ्गेको बाटो भएर चक्रघट्टी जाने सडक नै रेलको बाटो हो । मान्छे हिंड्ने बाटो साइडबाट मात्रै थियो ।’

गौतम भन्छ्न्, ‘ढुङ्गे रेल हाम्रो विकासका लागि चलेको थिएन । बरु विनासका लागि चलेको रहेछ । हाम्रा कोही पनि मान्छेले त्यो रेलमा जागिर पाएनन् । एकादुईले जागिर पाएका थिए, झण्डा हल्लाउँथे । सबै मान्छे उतै इण्डियाका थिए । यहाँका रैथाने जागिर गर्ने भन्दा गाईबस्तु पाल्ने, खेतीपाती गर्नमै ध्यान दिन्थे । पछि बाहिरबाट आएका कोहीकोही मान्छे जागिरमा लागे ।

युवराज भट्टराई ।

युवराज भट्टराई बराहक्षेत्र रेल्वे लाइनका स्थायी वासिन्दा हुन् । उनी त्यहीँ जन्मिए । गाडी देख्नुभन्दा अघि उनले रेल देखे र रेल नै चढे । घर अघिबाटै ढुङ्गे रेल चल्थ्यो ।

उनी भन्छन् ‘रेल भन्ने बित्तिकै मलाई ढुङ्गे रेलको सम्झना आउँछ । जुनबेला हामी साना थियौँ, ठूलो आवाज गरेर रेल आउँथ्यो । घरै अगाडि रेलका लिक थिए । खाली डब्बाका रेल चक्रघट्टीतिरबाट आउँथ्यो । चतराबाट डब्बामा ढुङ्गा भरेर भीमनगर जान्थ्यो । त्यसैमाथि मानिस चढ्थे । चुरे पर्वत र तराई मधेसको जनजीवनलाई जोड्ने एउटा कडी थियो ढुङ्गे रेल ।’

रेलसँगको धेरै रोचक अनुभव रहेको भट्टराई बताउँछन् । ढुङ्गे रेलले तराई मधेस र भारतसँग पहाडी क्षेत्रका मानिसलाई जोडे पनि यहाँको भौगोलिक सम्पदालाई क्षति पुर्‍यायो ।

चतराका बाघखोला र पटनाली खोलाबाट ढुङ्गा निकालिँदा बराहक्षेत्रको प्राचीन सम्पदा सूर्यकुण्डको विनास गर्‍यो । ५र७ बिघामा रहेको सूर्यकुण्ड सुक्न पुग्यो । ढुङ्गा निकालेकै कारण कुण्ड सुक्यो । खोलाका संरचना खलबल्याइदियो ।

ढुङ्गे रेलको प्रवेशले बराहक्षेत्र र धरानमा नयाँ प्रविधि र सुविधासमेत भित्र्याएको थियो । रेलसँगै यहाँ पहिलो पटक सञ्चारको विकास भएको थियो । टेलिफोन अर्थात् तारयुक्त कर्लेक्स फोन भित्रिएको थियो ।

ढुङ्गे रेलका कर्मचारी रेल आउने-जाने सूचना दिन्थे । उनीहरूको कुरा सुनेर स्थानीयले पनि रेल आउँदै छ रे भन्ने जानकारी पाउँथे ।

००

बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतम २०४२र४३ सालताका विद्यार्थी हुँदा ढुङ्गे रेल चढेको अनुभव सुनाउँछन् । स्थानीय आदर्श माविमा अध्ययन गरेका उनी स्कुल आउँदाजाँदा ढुङ्गे रेल चढ्ने गरेको बताउँछन् ।

‘पहिले विद्यालय आउँदाजाँदा साइकल चढ्ने चलन भर्खर आउँदै थियो, कोशी कटानमा परेका हामीसँग साइकल थिएन, त्यतिबेला ढुङ्गे रेल चल्थ्यो, अहिले सखुवागाछी भन्ने ठाउँ छ, त्यसलाई स्टेसन भनिन्थ्यो । त्यहाँ रेल रोकिन्थ्यो र हामी ओर्लेर विद्यालय जान्थ्यौं’, वडाध्यक्ष गौतम भन्छन्, ‘४ बजे स्कुल छुट्टी भएपछि फेरि स्टेशनमा आउँथ्यौँ, रेल ढकढकढकढक गरेर चल्थ्यो, बाटामा स्पिड चल्थ्यो, बीचपानी भन्ने ठाउँमा आएपछि स्लो हुन्थ्यो, त्यहाँ ओर्लिएर घरतिर आउथ्यौँ ।’

आनन्दप्रसाद गौतम ।

२०११ सालमा नेपाल भारतबीच कोशी सम्झौता भयो । २०१३ सालदेखि भारतले कोशी आयोजनाको काम सुरु गर्‍यो । २०१६ सालदेखि धरान र चतराबाट ढुङ्गा ओसार्न रेल सञ्चालनमा आएको थियो । भीमनगर-चक्रघट्टी हुँदै धरान र भीमनगरदेखि-चक्रघट्टी हुँदै चतरा ४७ किलोमिटरको दूरीमा रेल चलेको थियो ।

१९९ वर्षका लागि नेपालसँग कोशी सम्झौता गरेको भारत सरकारले कोशी ब्यारेजसँगै नेपालका थुप्रै ठाउँलाई सम्झौताको अधीनमा राख्यो ।

चक्रघट्टीदेखि धरानसम्म रेलवे बनाउन १० माइल लामो र ६६ फुट फराकिलो जमिन प्रयोग गरियो । सप्तकोशी नदी पूर्व कोलनीहरू बनाउनका लागि ५० बिगाहा उर्वर भूमि मासियो।

धरानस्थित फुस्रेबाट घिर्लिङ्ग (रोपवे) को सहायताले ल्याइएका ढुङ्गा रेलवे चोकमा थुपारिन्थ्यो । त्यहाँबाट रेलका कामदारले ढुङ्गा लोड गर्थे । ढुङ्गा कोशी ब्यारेजस्थित पुल बनाउन भीमनगर पुर्‍याइन्थ्यो ।

चिनोबानो हराएको रेल

ढुङ्गे रेल धरानमा २०४० सम्म र चतराबाट २०४५ सालसम्म चल्यो । माओवादी द्वन्द्व अगाडिसम्म रेलका डब्बाहरू र इञ्जिन लिकमै थिए । राजनीतिक अस्थिरताका कारण रेलका बचेखुचेका फलाम चोरी भए ।

अहिलेका पुस्ताले रेल कहाँ चल्थ्यो भनेर अनुमान गर्न सक्ने अवस्था छैन । त्यतिबेलाका गीत हराएजस्तै हराएको छ ढुङ्गे रेल :

ढकढकढकढक स्टेशन चतरा हो
ढुङ्गा बोक्ने ढुङ्गे रेल खतरा हो ।

रेलै आयो कोशीको बगर
स्कुल छुट्यो चलो भीमनगर ।

छुकछुक छुकछुक रेल आयो घोपामा
सिन्की अचार बासीभात खोपामा ।

रेल चल्ने सम्भावना बाँकी नै, जिम्मा सरकारको

धार्मिक पर्यटकीय तीर्थ बराहक्षेत्रमा फेरि रेल चलाउन सके पर्यटन र स्थानीय विकास हुन सक्ने बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतम बताउँछन् ।

‘केपी बाले रेलका कुरा गर्नुहुन्थ्यो, हाम्रो ठाउँमा रेल उहिल्यै चलेको थियो । त्यतिबेला ढुङ्गे रेल थियो’, वडाध्यक्ष गौतम भन्छन्, ‘अब मान्छे चढ्ने रेल चलाउन सके हुन्थ्यो ।’

वडाध्यक्ष गौतमको जस्तै मत छ युवराज भट्टराईको । हरेक दृष्टिले गाडीभन्दा बढी महत्त्व रेलको रहेको उनी बताउँछन् । मान्छे बोक्न पनि र वस्तु ढुवानीका लागि पनि रेल बहुउपयोगी रहेको उनको भनाइ छ ।

बराहक्षेत्र पर्यटकीय स्थल रहेकाले बहुआयामिक रूपमा यहाँको विकास गर्न आवश्यक रहेको भट्टराई बताउँछन् ।

‘देशको समृद्धिको नारा अनुसार पानी जहाज पनि यहीँ चल्यो, हावाबाट बिजुली पनि यही क्षेत्रबाट निकालिएको थियो । ढुङ्गे रेल पनि यहीँ चलिसकेको थियो’, भट्टराई भन्छन्, ‘राज्यले मात्र यसको पुनर्संरचना गर्न आवश्यक छ । रेल चलेको जमिन यथावत् छन् ।’

यो पनि :

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ३ : १६ बजे

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा

४४५ गाउँपालिकाले समयमै ल्याए बजेट, १५ वटा चुके

पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का