कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाई, हितेन्द्रदेव भन्छन्- दशैंसम्म बनिसक्छ  | Khabarhub Khabarhub

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाई, हितेन्द्रदेव भन्छन्- दशैंसम्म बनिसक्छ 


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– लामो समयदेखि प्रतिक्षामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम चाडै शुरु हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

२०७६ सालबाट प्रसारण लाइनको कामको थालनी भएको भए पनि जग्गा विवाद र बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको रुख कटानका कारणले ढिला भएको आयोजनाको काम दशैंसम्म सकिने शाक्यले बताएका हुन् ।  

२०७६ मा शुरु भएको काम साढे तीन वर्ष अघि अर्थात् २३ असार २०७८ मै सम्पन्न भइसक्नु पर्ने आयोजना रुख कटान र स्थानीय अवरोधका कारण अपेक्षित गतिमा अघि बढ्न सकेको थिएन । निकुञ्जको रुख कटानको अनुमति पाएका कारणले काम शुरु भएको छ ।

तर, बाँकेस्थित बैजनाथ गाउँपालिका–१ बानियाँभारमा हाइटेन्सन टावर निर्माणका लागि स्थानीयले जग्गा नदिएपछि काम अलपत्र परेको छ । त्यसका लागि विगत लामो समयदेखि जग्गा मुआब्जा विवाद समस्या हुँदा काम शुरु भएको छैन । 

लामो समयदेखि अवरोध रहेको कोहलपुर–सुर्खेत प्रसारण लाइनको कामका विषयमा चासो राख्दै निर्देशक शाक्य आफैँ आयोजनास्थलको निरीक्षण गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आयोजनाको काम छिटोमा समस्या समाधान गर्न भनेका कार्यकारी निर्देशक शाक्यले कोहलपुर सुर्खेतको १३२ केभी प्रसारण लाइन छिटो सक्न आयोजनाका प्रमुखलाई काम चाँडो सक्न निर्देशन दिएका हुन् । 

कर्णाली प्रदेशमा नियमित विद्युत् अवरोध हुने समस्या रहेको यसको समाधानका लागि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन रहेको र स्थानीयका समस्या बुझेर काम गर्न निर्देशन दिएका छन् ।

‘स्थानीयका समस्या के छन् । त्यसको समाधान गर्ने र कर्णालीमा नियमित विद्युत् पुर्‍याउनु छ,’ उनले भने,‘स्थानीयका समस्याका कारणले कर्णालीको विद्युत् त अवरोध हुनु भएन । त्यसको कसरी हुन्छ समस्या निकाल्न भनिएको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी, स्थानीय राजनीतिक दलका नेतृत्वहरूलाई अनुरोध गरिएको उनले बताए । ‘मन्त्रालयका सचिवज्यू पनि आउनु भएको थियो  । बानियाँभार बाहेक एक दुई ठाउँमा समस्या रहेको छ,’ उनले भने,‘त्यो पनि समस्या समाधान गर्नका लागि निर्देशन दिएका छौँ ।’ 

दशैंसम्म कर्णालीको बत्ती नियमित हुने र पुरै कर्णालीलाई पनि विश्वसनिय विद्युत् पुर्‍याउन सकिने उनको भनाई छ । ‘सुर्खेतबाट दैलेख–कालिकोट हुँदै जुम्लासम्म छिटो विद्युत् पुर्‍याउँछु भन्ने लागेको छ,’ उनले भने,‘२०६७ सालमा मैले यहाँ काम गरेर गएको थिए । मुगुको गमगढीमा उज्यालो पुर्‍याएको थिए । ग्रिडकै बिजुली गमगढी पुर्‍याउँछु भन्नेमा छु ।’ 

कुनै पनि काम विस्तारै हुँदै जाने र एउटाले बाटो छिचोल्नुपर्ने उनले बताए । ‘जगदुल्लाले रिम्ना–छिन्चु हुँदै लमहीमा जोडिन्छ । त्यो केही समय लाग्ला,’ उनले भने,‘त्यसभन्दा पहिला हामी यताबाट लैजान्छौँ ।’ 

एउटा हाइड्रो पावर बन्नका लागि ६, ७ वर्ष लाग्ने र त्यतिबेला त झिलिमिलि कर्णालीमा भइहाल्ने उनले बताए । ‘त्यो भन्दा पहिला कोहलपुर–सुर्खेत १३२ केभी लाइन निर्माणको क्रममा नै रहेको छौँ,’ उनले भने,‘पहिलो प्राथमिकता रहेको छ ।’

के हो बाँकेको समस्या 

बानियाँभारका स्थानीयले विभिन्न विकल्प हुँदाहुँदै गाउँको बीचबाट प्रसारण लाइन लैजाँदा आफूहरूको उठिबास लाग्ने बताउँदै आएका छन् । कर्णाली प्रदेश सरकारले भने लुम्बिनी प्रदेश सरकार र स्थानीय प्रशासनसँग समन्वय गरी काम सुचारु विगतमा प्रयास गरेको थियो । तर, त्यो अस्थायी रूपमा मात्रै काम हुँदै आएको छ । 

स्थानीयले सरकारले तोकेभन्दा बढी मुआब्जाको माग गर्दै काममा अवरोध गर्दै आएका छन् । आयोजनाअन्तर्गत एक सय ६२ वटा टावरहरुमध्ये एक सय ५३ वटा टावर निर्माण भइसकेका छन् । अब नौ वटा टावर निर्माण सकिएपछि आयोजनाले पूर्णता पाउनेछ ।

बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्मको लाइन विस्तार गर्ने गरी २०७७ असारमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्का लिएको छ । उसले सुरुमा २४ महिनाको लागि ७० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ४ पटक म्याद थपिसकेको छ । अन्य खण्डमा काम नियमित भए पनि उक्त खण्डमा काममा समस्या भएको थियो ।

बाँकेको कोहलपुरबाट सुरु भएर सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सवस्टेसनसम्मको प्रसारण लाइनको दुरी ५२ किलोमिटर छ । बाँकेको दुई क्षेत्र र सुब्बाकुनामा मात्रै विवाद देखिएको छ । आयोजनाको मुख्य सवस्टेशन बन्ने क्षेत्र सुर्खेतको सुब्बाकुनाका केही नागरिकले काममा अवरोध गर्दै आएका छन् । 

स्व. राजा वीरेन्द्रको ठाडो आदेशमा २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा विद्युत् लाइन विस्तार गरेका थिए । ३७ वर्ष पहिला निर्माण गरेको पुरानै विद्युतका संरचनाले सुर्खेत मात्रै होइन विद्युत् विस्तार भएका जिल्लाका नागरिकहरूले लो भोल्टेजसँगै अघोषित लोडसेडिङको मार खेप्नु परिरहेको छ । 

सुर्खेतबाट नै कर्णालीका दैलेख, कालिकोट, जुम्ला र मुगुको विद्युत् प्राधिकरणको ३३ केभी केन्द्रीय प्रसारण लाइन जोडिएको छ । ३३ केभी प्रसारण लाइनका कारणले अहिले यी जिल्लाका बासिन्दाहरूले नियमित विद्युत्को समस्या झेल्नु परेको छ । 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ३० बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक