साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल | Khabarhub Khabarhub

रुपन्देही ३ मा उपनिर्वाचन

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले विभिन्न तहमा रिक्त भएका पदको पूर्तिका लागि उपनिर्वाचनको तयारी गरेको छ । आगामी कात्तिक दोस्रो साताका लागि आयोगले उपनिर्वाचन तयारी थालेको छ ।

आयोगले त्यसका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता नामवाली संकलन अभियान सुरू गरिसकेको छ । आयोगको यो तयारीसँगै मधेशवादी दलहरूको संघीय लोकतान्त्रिक मोर्चाले साझा उम्मेदवारी दिन छलफल थालेको छ ।

तराईं–मधेशकेन्द्रित सात दलहरूको मोर्चाले रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुन लागेको प्रतिनिधिसभ सदस्यको उपनिर्वाचनमा साझा उम्मेदवारी दिने तयारी गरेको हो । त्यसकै लागि मोर्चाको बैठक बसेको थियो ।

उपनिर्वाचनको तयारीस्वरूप आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिलाई नाम दर्ता गराउन आग्रह गरेको एक दिनपछि नै मोर्चामा आवद्ध दलहरूले यसबारे छलफल थालेका छन् ।

लाजिम्पाटस्थित होटल बाबामा बिहीबार मोर्चाले बैठक डाकेर रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनबारे अजेण्डा नै बनाएर छलफल गरेको थियो । मोर्चामा आवद्ध सातवटै तराई–मधेशकेन्द्रित दलहरू उपनिर्वाचनमा तालमेल गरेर साझा उम्मेदवार बनाउने मनस्थितिमा छन् ।

उक्त बैठककको अध्यक्षता गरेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले रुपन्देही ३ मा आफ्नो दाबेदारी पेश गरेका थिए । उनले बैठकमा रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई साझा बनाएर जानुपर्ने राय राखेका थिए ।

मोर्चाको घटक राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झा भन्छन्, ‘मोर्चाबाट एउटा साझा उम्मेदवार दिऊँ भन्ने माइन्ड सेट (मनस्थिति) सबैको देखिन्छ ।’ उनले रूपन्देही–३ मा हुने उपनिर्वाचनको एजेन्डामा आइतबार बस्ने अर्को बैठकबाट निर्णय गरिने पनि बताए ।

‘मोर्चा बनिसेकपछि साझा उम्मेदवार तोकेर जाँदा ठीक हुन्छ भन्ने कुरा भएको छ,’ नेता झाले खबरहबसँग भने, ‘त्यहीअनुसार सबै पार्टीलाई आ–आफ्नो वस्तुस्थिति के छ बुझ्न भनिएको छ । वस्तुस्थिति बुझेर आइसकेपछि आइतबार टुंग्याउने भनिएको छ ।’

प्रतिनिधिसभा निर्वाचन–०७९ मा रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दीपक बोहरा विजयी भएका थिए । सांसद बोहराको ०८१ चैत १९ मा काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । त्यसयता रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।

यहाँ नेकपा एमालेले राष्ट्रियसभाका पूर्वसदस्य खिमलाल भट्टराईलाई अघि सार्ने तयारी गरेको छ । उनको नाम सिफारिस हुन अझै समय बाँकी छ । तर भूगोलबाट उनको नाम सिफारिस हुने सम्भावना बलियो छ । उता कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे प्रारम्भिक छलफल थालिसकेका छैनन् ।

राप्रपाका नेता बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए ।

तत्कालीन समयमा यो क्षेत्रमा नेकपा एमालेले राप्रपालाई सघाएका थियो । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसलाई सघाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली ५ हजार ७६९ मतसहित तेस्रो भएका थिए ।

गत निर्वाचनको मत परिणामअनुसार रूपन्देही–३ मा साझा उम्मेदवारी दिने तयारीमा रहेको संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको मत ८ हजारभन्दा बढी देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन–०७९ मा मोर्चाआवद्ध मध्येका दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले रूपन्देही–३ बाट उम्मेदवारी दिएका थिए । उन्मुक्तिका उम्मेदवार तुल्सीप्रसाद थारुले ४ हजार ७५१ र जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत पाएका थिए ।

तराई–मधेश केन्द्रित विभिन्न सात दलहरूले गत असार १२ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै मोर्चाको घोषणा गरेका थिए ।

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) आवद्ध छन् ।

यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन् ।

उपनिर्वाचनको तयारी स्वरूप आयोगले असार ११ गते सूचना जारी गरेर मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिलाई नामावली दर्ता गराउन भनेको थियो ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेद्वारा हस्ताक्षरित सूचनामा उपनिर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र नाम दर्ता गराउनुपर्ने उल्लेख छ ।

रिक्त पद पूर्तिका लागि उपनिर्वाचन गर्ने विषयमा असार ६ गते कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए । छलफलका क्रममा प्रतिनिधिसभाअन्तर्गत रुपन्देही–३ र प्रदेशसभा मनाङ– १ (ख) मा रिक्त सदस्यका लागि आगामी कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको बताइएको छ ।

रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दिपक बोहराको निधन भएपछि पद रिक्त छ । यस्तै, मनाङ– १ (ख) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल चलान भएपछि पद रिक्त हुन पुगेको छ । स्थानीय तहअन्तर्गत वडाध्यक्षतर्फ एक दर्जनभन्दा बढी पदहरू रिक्त छन् ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ५ : १८ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा