धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र | Khabarhub Khabarhub

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने आफ्नो चाहना भएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री कार्यालयमा धरानबाट आएका सर्वदलीय टोलीसंग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सरकारले “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” जारी गर्दै धरानस्थित वीपी प्रतिष्ठान सहित देशका विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा समेट्नखोजेपछि धरानका राजनैतिक दलहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने उनीहरुको माग छ ।

उक्त टोलीसँग आधा घण्टा छलफल गरेका प्रधानमन्त्री ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने आफ्नो पनि चाहना रहेको बताएको एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राईले जानकारी गराए ।

टोलीले प्रधानमन्त्रीसंगै शिक्षा, विज्ञान तथा प्रविधि पन्त्री रघुजी पन्तसँग समेत भेटभाट भएको थियो । सर्वदलीय टोलीमा नेकपा (एमाले) कोशी प्रदेश सदस्यहरु भीमज्वाला राई र मैसम राई, नेपाली कांग्रेसका धरान सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू रहेका थिए । टोलीमा नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा नेपाली काग्रेसका युवा नेता तथा यातायात व्यवसायी नेता सरोज सिटौला धरान उपमहानगर १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज)लगायत सहभागी भएको थिए ।

टोलीले यस अघि पूर्व प्रधानमन्त्री प्रचण्ड, पूर्व स्वास्थ्य मन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग भेटघाट गरिसकेको टोलीमा सहभागी नेपाली काग्रेस धरानका सभापति श्याम पोखरेलले जानकारी गराए । भेटघाट र छलफल फलदायी भएको पोखरेलले बताए ।

त्यस्तै धरान नगरका प्रवक्ता तथा धरान १७ नम्बर वडा अध्यक्ष मनोज भट्टराईले सरकारका प्रतिनिधि र दलका नेताहरुको रेस्पोन्स सकारात्मक रहेको र यो लविइङ निरन्तर रहनु पर्ने बताए ।

टोलीले अब नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग पुनः भेटघाट र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसंग समेत पुनः भेटघाट गर्ने माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्बूले बताए ।

धरान फर्किदा परिणाम सहित फर्किने तयारीमा रहेको जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बूको भनाई छ । ।

यस्तो छ प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र

सम्माननीय प्रधानमन्त्री
केपी शर्मा ओली ज्यु
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार काठमाण्डौ ।

विषय: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाइदिनुहुन ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” अन्तर्गत छाता ऐनमा लाने प्रस्तावप्रति धराने जनताको गम्भिर ध्यानाकर्षण भएको छ ।

दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा स्थापित वीपी प्रतिष्ठानले मधेश प्रदेशदेखि पुर्वका सम्पूर्ण भूभाग र भारतका सीमावर्ती जिल्लाका नागरिकलाई समेत विशेषज्ञ चिकित्सकहरुको उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । देश तथा विदेशमा सेवा गरिरहेका विशेषज्ञ चिकित्सकहरु उत्पादनमा समेत वीपी प्रतिष्ठानकै योगदान रहेको छ । छिमेकी राष्ट्र भारतमा रहेको एम्स अस्पतालको मोडेलमा परिकल्पना गरिएको वीपी प्रतिष्ठानलाई सोही अनुरुप विकास गर्दै लैजानु आजको आवश्यक्ता हो ।
एमबीबीएस, बीडीएस, एमएस, डीएम, एमएच लगायत दर्जनौँ कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको वीपी प्रतिष्ठान, स्वास्थ्य सेवा र शिक्षण उदेश्यमा आधारित नेपालको पहिलो प्रतिष्ठान हो ।

पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्तिको उपलब्धता, पठनपाठनका लागि सौहार्द वातावरण प्रचुर संरचनाहरु र ठुलोसंख्यामा रहेका सेवाग्राहीहरुको केन्द्र वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय निर्माण गर्न पर्याप्त आधारहरु हुन् । दक्ष चिकित्सक उत्पादन र गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने वीपी प्रतिष्ठानलाई “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन”को सामान्य इकाईका रुपमा राखिनु अदूरदर्शी कदम र धराने जनतामाथिको अपमान हो ।

सम्माननीय प्रधानमन्त्री ज्युकै अघिल्लो कार्यकालमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने पहल कदमीले धरानवासीलाई हर्षित बनाएको थियो । परिणामस्वरुप उप प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकै अध्यक्षतामा २०८० साल चैत ३० गते सम्पन्न वीपी प्रतिष्ठानको ४५ औँ सञ्चालक परिषद् ९सिनेट० बैठकले वीपी कोइराला चिकित्सा विज्ञान विश्वविद्यालय मस्यौदा ऐन पारित गरेपछि तदनुरुप प्रकृयागत कामहरु समेत अघि बढिसकेको थियो । तर, त्यसपछिका सरकारले निर्णय कार्यान्वयनलाई निरन्तरता नदिनु धराने जनताका लागि दूर्भाग्य सावित भएकोछ ।

सम्माननीय प्रधानमन्त्री ज्युकै प्रकृया अघि बढेको वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने विषयमा सम्मानीय प्रधानमन्त्री ज्यू प्रतिवद्ध हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ । वीपी प्रतिष्ठानको सेवा र उत्पादन वृद्धिमा सुधार जरुरी छ । तर सुधारको बहानामा ऐतिहासिक महत्व बोकेको स्वास्थ्य संस्थालाई केन्द्रिकृत ढाचामा समेट्नु गम्भिर त्रुटी हुनेछ । वीपी प्रतिष्ठान राष्ट्रले गौरव गर्नुपर्ने स्वास्थ्य संस्था हो, यसलाई छाता ऐनमा समेटेर खुम्च्याउन खोज्नु सबैका लागि दुर्भाग्य हुनेछ ।

सम्माननीय प्रधानमन्त्री ज्यु,
वीपी प्रतिष्ठानलाई छाता ऐनमा लाने त्रुटीपूर्ण प्रस्तावलाई सच्याउँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
हार्दिक धन्यवाद सहित ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : १९ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा