कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ « Khabarhub

कर्ण थापाले भने- म ओली विरोधी होइन्, पार्टीभित्र खुला र स्वस्थ बहस आवश्यक छ


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी – नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले समाज सही विचारले मात्रै रूपान्तरण हुने बताएका छन् । समाज रूपान्तरणका लागि बल नभएर सही विचार र सिद्धान्तको आवश्यकता पर्ने भन्दै थापाले जनताको बहुदलीय जनवादलाई नेपाली शैलीको उच्चतम् विचारको रुपमा व्याख्या गरेका छन् । 

कैलालीको सुखडमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘जनतासँग जबजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार केन्द्रित नेतृत्व आवश्यक रहेको बताएका हुन्। 

‘पार्टीभित्र बहस र मतमतान्तर स्वाभाविक हो,’ थापाले भने, ‘तर, गुट, पद र व्यक्ति केन्द्रित राजनीतिले होइन, विचार, सिद्धान्त र निष्ठाले नेतृत्व बन्नुपर्छ ।’

थापाले आफूलाई केपी शर्मा ओलीविरुद्धको खेमामा देखाउने प्रयासप्रति आपत्ति जनाए । उनले भने, ‘उहाँ एक्लै हुँदा पनि म उहाँसँग थिएँ । उहाँ मेरो अध्यक्ष हुनुहुन्छ ।’ 

पार्टीभित्र विचारका आधारमा वामदेव गौतम, माधवकुमार नेपाल र प्रदीप नेपालसँग बहस भएको स्मरण गर्दै अनावश्यक विवादले पार्टी कमजोर बन्न नहुने स्पष्ट पारे ।

पछिल्लो समय थापालाई ओलीको विरुद्धमा अभियान नै चलाएको आरोप लाग्ने गरेको छ । विद्या भण्डारीलाई नेतृत्वमा ल्याउनु पर्ने बहसको वकालत गरेको आरोप थापा माथि छ । ७० वर्षको उमेरहदबन्दी कायम हुनु पर्ने र दुई कार्यकालको अवधि मात्रै नेतृत्वमा बस्नु पर्ने बहसलाई विरोधीका रुपमा दिन नहुने संकेत थापाको छ ।

थापाले वर्तमान सन्दर्भमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेर एमाले नेतृत्वमा राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पुनः बलियो बनाउनु आजको आवश्यकता रहेको बताए । ‘मदन भण्डारीको दर्शन नेपालको मात्र नभई विश्व कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने क्षमता राख्दछ,’ उनको निष्कर्ष छ ।  

थापाले पार्टीभित्र बढ्दो गुटबन्दी, भय र पद लालसाले कम्युनिष्ट आन्दोलन दिशाहीन बन्दै गएको टिप्पणी गरे । 

‘आज सामूहिक प्रणाली कमजोर हुँदैछ,’ उनले भने, ‘सही कुरा बोले टिकट खोसिन्छ कि भन्ने त्रास छ। पार्टी विचारले होइन, डर र लोभले चलिरहेको छ ।’

उनले मदन भण्डारीको राजनीतिक जीवनशैलीको चर्चा गर्दै विचार र निष्ठामा आधारित नेतृत्व आवश्यक रहेको बताए । 

‘उहाँ कुनै शक्तिको भरमा राजनीतिमा आउनुभएन,’ थापाले भने, ‘उहाँको अन्तिम भरोसा जनता र विचार थियो, त्यसैले उहाँ जननेता बन्नुभयो ।’

थापाले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) सामान्य विचार नभई दूरदृष्टियुक्त राजनीतिक दर्शन भएको बताए ।

‘जबज नेपाली राजनीति मात्र होइन, विश्व राजनीति र शान्तिमा समेत प्रभाव पार्ने सामथ्र्य राख्छ,’ उनले भने, ‘यसले दीर्घकालीन मानव कल्याण र समृद्धिको आधार दिन सक्छ ।’

थापाले पार्टीमा उमेर हद (७० वर्ष) र दुई कार्यकालको सीमासम्बन्धी प्रस्तावबारे पनि धारणा राखे ।

‘यो प्रस्ताव यत्तिकै लेखिएको होइन,’ उनले भने, ‘पदमा पुगेपछि नछोड्ने प्रवृत्तिलाई रोक्न यस्तो व्यवस्था गरिएको हो । यसमा गम्भीर बहस आवश्यक छ ।’

 चुनावी क्षेत्र सिमन–०८४ को सन्दर्भ उठाउँदै थापाले चुनाव जित्ने आधार विचार, क्षमता र लोकप्रियता हुनुपर्ने बताए । 

‘परिवारका सदस्यलाई सिधै पार्टीको अध्यक्ष बनाएर संसदीय उम्मेदवार बनाउने प्रवृत्ति गलत हो,’ उनले भने ।

थापाले सांसद एकनाथ ढकालप्रति तीव्र आलोचना गर्दै भने, ‘उहाँ कम्युनिष्ट विचारधाराविपरीत सोच राख्ने व्यक्ति हुनुहुन्छ । अन्य शक्तिको निर्देशनमा चल्ने व्यक्तिलाई एमालेको समानुपातिक कोटाबाट सांसद बनाउनु दुःखद हो ।’

उनले यस्ता निर्णयले पार्टीको अनुशासन, छवि र मूल विचारधारामा गम्भीर क्षति पुर्‍याउने चेतावनीसमेत दिए । कार्यक्रममा एमाले सचिव लेखराज भट्ट सहीतका नेताहरु सहभागि रहेको फाउण्डेशनका कैलाली अध्यक्ष रामचन्द्र जैशीले बताएका छन् ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ५४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान