चितवन– डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि एक लाख ९३ हजार ४१० बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादित बिरुवा आजदेखि वितरण गर्न थालिएको हो ।
कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वनपैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो ।
त्यसमा जडीबुटी बिरुवा, डालेघाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् । आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयकातर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उनले बताए ।
उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डाले घाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काएर वितरणका लागि तयारी गरिएको हो ।
यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ । बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछन् ।
सडकलाई हराभरा र सौन्दर्य राख्न यी बिरुवा प्रयोग हुने गरेको छ । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उनले भने, ‘आजदेखि बिरुवा वितरण सुरु गरिएको छ ।’
कार्यालयले अहिले २० भन्दा बढी प्रजातिका बिरुवा वितरण गर्न लागेको हो । त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, बडहर, टाँकी, कोइरालालगायत बिरुवा रहेको पौडेलले बताए । रासस
प्रतिक्रिया