वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने छ : मन्त्री भण्डारी | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने छ : मन्त्री भण्डारी


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पाटन– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कानुनी छिद्र प्रयोग गरेर वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका छन् । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले अहिले पनि वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा रहेकाले ऐन संशोधन गरेर मुद्दा फर्छ्यौटलाई सहज बनाउने बताए । 

‘अहिलेकै कानुनअनुसार हुने हो भने सबै मुद्दा टुङ्गोमा पुग्न २५ वर्ष लाग्छ, त्यसकारण ऐन संशोधन गर्ने पक्षमा छौँ, वैदेशिक रोजगार न्यायाधिकरणको पक्षमा छौँ, जिल्ला जिल्लामा उजुरी लिएर जिल्ला अदालतमा मुद्दा चल्ने अवस्थाका लागि व्यवस्थापन गर्दैछौँ, जिल्ला प्रशासन  कार्यालयमै उजुरी दिने व्यवस्था गर्नु आवश्यक छ,’ उनले भने ।

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारीको विकल्प आन्तरिक रोजगारको विकास र प्रवर्द्धन रहेको उल्लेख गर्दै सुरक्षित वैदेशिक रोजगारसँगसँगै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि पनि जोड दिइएको बताए।

‘पहिला मन्त्रालयको ध्यान वैदेशिक रोजगारमा मात्रै थियो, अहिले आन्तरिक रोजगारलाई ध्यानमा दिएर सीप विकास प्रतिष्ठानमार्फत कार्यक्रमलाई अगाडि बढाएका छौँ, अब नेपालीलाई वैदेशिक रोजगारबाट फर्काएर मुलुकको आर्थिक विकास र समृद्धिको हितमा काम गर्न सामीमार्फत नै अभियान अगाडि बढाउन जोड दिन्छौँ, अबको अवस्थामा हामीले यही रोजगारी र अर्थतन्त्रको सृजना गर्नुपर्छ,’ उनले भने।

सामी परियोजनाले कार्यक्रमको औचित्यता प्रमाणित गरेको उल्लेख गर्दै मन्त्री भण्डारीले सुरक्षित आप्रवासनको सेवालाई ७५३ वटै पालिकामा पु¥याउन चाहेको बताए।

‘अहिले हामीले राष्ट्रिय आप्रवासन नीतिका लागि ध्यान दिएका छौँ, सरकारले मनोसामाजिक परामर्श गर्ने कुरालाई पनि जोड दिएको छ, वैदेशिक रोजगारका सन्दर्भमा दुई पक्षीय सम्झौताका आधारमा न्यूनतम तलब तोकेर श्रमिकका हितमा काम गरेका छौँ, आतेजाते खर्चमा रोजगारदाताले व्यवस्थापन गर्नुपर्ने गरी व्यवस्था गराउन जोड दिएका छौँ, यो विषयमा अहिले छलफल गरिरहेका छौँ, मेनपावर व्यवसायीले रोजगारीमा जानेसँग बढी पैसा लिएर कामको प्रमाण दिने काम पनि भएको छ, यसलाई पनि ध्यान दिएका छौँ, प्रत्येक नागरिकको हातमा श्रमसंसारको सेवा पुग्नुपर्छ, अहिलेको अवस्थामा प्रविधिको उपयोगलाई ध्यान दिएका छौँ, सबै खालका सेवा प्रवाह स्थानीय तहमा पु¥याउन खोजेका छौँ,’ मन्त्री भण्डारीले भने ।

वैदेशिक रोजगारका कारण मुलुक खाली भयो भन्ने भाष्य सृजना गरिएको जिकिर गर्दै उनले पाँच वर्षमा ६० लाख नागरिक वैदेशिक रोजगारीमा गएपनि ५० लाख नागरिक स्वदेश फर्किएको तथ्यांक रहेको बताए।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले सामी परियोजनालाई राम्रोसँग कार्यान्वयन गराउन सरकारले सधैँ सकारात्मक भूमिका निर्वाह गर्ने बताए । यहाँस्थित स्विस दूतावासका कर्मचारी एन्टोनिया फ्लफलेले सामी परियोजना महत्वपूर्ण सिकाइ भएको उल्लेख गर्दै यसमा धेरै व्यक्तिलाई सहभागी गराएर सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्दै उपलब्धि हासिल गरेकामा  सबैलाई धन्यवाद दिए। 

‘हेल्भेटास नेपाल’का सामी परियोजना हेर्ने प्रतिनिधि टङ्क अर्यालले यो सेवा नेपालका सबै तह र क्षेत्रमा आवश्यक रहेको भन्दै सात प्रदेशका सबै स्थानीय तहमा पुग्नेगरी श्रम र आप्रवासनसम्बन्धी समन्वय तथा सहकार्य गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।

मधेश प्रदेशका सचिव युवराज अधिकारीले सामी परियोजनाले गर्ने कार्यक्रम निश्चित समयको हुने भन्दै यसलाई तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेर नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनकुमारी लामा, सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी, सुनसरीको इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारी, सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी, कैलालीको जानकी गाउँपालिका कैलालीका अध्यक्ष गणेश चौधरीलगायतले  सामी परियोजनाले सुरुआत गरेका कार्यक्रमबारे आ–आफ्नो धारणा राखेका थिए । 

मन्त्रालयका सहसचिव निश्चलराज पाण्डेले तीनै तहको लागत साझेदारीमा सञ्चालन हुने सामी परियोजना आगामी आर्थिक वर्षदेखि ५७५ तहमा विस्तार हुने बताए। 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ३ : १२ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा