काठमाडौं– चिनियाँ युवाहरुमा हृदयरोगको समस्या बढ्दै गएको पाइएको छ । पछिल्लो समय चीनमा हृदयरोगका कारण २०, ३० र ४० वर्ष उमेर समूहका युवाको मृत्युदर बढिरहेको हो ।
हङकङ पोस्टका अनुसार विशेषगरी वृद्धवृद्धामा देखिने हृदयरोगका कारण युवाहरु नै पीडित हुन थालेपछि चिकित्सकहरु पनि चिन्तित बनेका छन् । गत अप्रिल महिनामा शिजियाझुवा ट्युमर अस्पतालमा कार्यरत हृदयरोग विशेषज्ञले पछिल्लो समय हृदयघात र मष्तिष्कघातका बिरामी बढ्दै गएको र त्यसमा पनि धेरै जना युवा रहेको खुलासा गरेका थिए ।
चिनियाँ भिडियो शेयरिङ साइट डोउयिनमा पोस्ट गर्दै उनले यस्तो बताएका थिए । हङकङ पोस्टका अनुसार अन्त्येष्टि सेवा प्रदायकहरु पनि युवाहरुको निधनबाट आश्चर्यमा परेका छन् ।
उनीहरुले प्रायः ८० र ९० को दशकमा जन्मेका व्यक्तिहरुको हृदयघातका कारण मृत्युदर बढ्दै गएको बताएका छन् । युवाहरुको मृत्युदर बढ्दै जाँदा त्यसले आर्थिक उत्पादकत्वमा नकारात्मक असर पार्नुका साथै जनसाङ्ख्यिकीय अस्थीरता पनि उत्पन्न गराउने चिन्ता बढेको छ ।
प्रतिक्रिया