सरकारसँग असन्तुष्ट शेखरको दौडधूप, प्रचण्डपछि पूर्वराष्ट्रपति भण्डारीसँग मन्त्रणा | Khabarhub Khabarhub

सरकारसँग असन्तुष्ट शेखरको दौडधूप, प्रचण्डपछि पूर्वराष्ट्रपति भण्डारीसँग मन्त्रणा


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्तमान गठबन्धन सरकारसँग तीव्र असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले इत्तर पक्षसँग छलफल तीव्र बनाएका छन् ।

बिहीबार मात्रै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास खुमलटार पुगेर दुई घण्टा लामो वार्ता गरेका शेखरको दौडधूप शुक्रबार पनि जारी छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारको दलदलमा फसेको, जनअपेक्षा पूरा गर्न नसकेको र विकासलाई पनि गति दिन नसकेकोसहितका निष्कर्ष बोकेर आलोचनामा उत्रिरहेका उनले शुक्रबार बिहान एमालेमा फर्किन शक्ति संघर्ष चलाइरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई बिहीबार खुमलटार पुगेर भेटेजस्तै शेखरले पूर्वराष्ट्रपति भण्डारीलाई उनकै निवास बूढानीलकण्ठ नगरपालिकास्थित भंगाल पुगेर वार्ता गरेकी हुन् ।

दुईजनाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ। तर पूर्वराष्ट्रपति र शेखर दुवैका सचिवालय सदस्यहरूले संवादको विस्तृत विवरण खुलाउन चाहेका छैनन् ।

उक्त वार्ताका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली, उपलब्धि र जनस्तरको असन्तुष्टिबारे लामो कुराकानी भएको बुझिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरिसकेकाले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । उनको त्यस घोषणापछि एमालेभित्र तरंग पैदा भइरहेका बेला बिहीबार बसेको सचिवालय बैठकले भदौमा हुने विधान महाधिवेशनमा सहभागी नगराउने निर्णय गरेको छ। उनी चितवनमा भएको दशौँ महाधिवेशन प्रतिनिधि नभएकाले एमालेले विधान महाधिवेशनमा उनलाई छेक्ने कोसिस गरेको हो ।

शुक्रबार प्रचण्डसँगको भेटका क्रममा पनि नेता कोइरालाले यो सरकार ठीक ढंगले चल्न नसकेको, जनआक्रोश सम्बोधन गर्न चुकेकोसहितका कुरा भएको थियो ।

त्यस्तै मन्त्रीहरू घुस काण्ड र भ्रष्टाचारमा मुछिएको, सरकारले सुशासन प्रत्याभूति गराउन चुकेको र अर्थतन्त्र पनि अपेक्षित सुधार हुन नसकेको कुरा दुई नेताबीच भएको थियो । बिहीबार मात्रै प्रचण्डले यो सरकारले बाटो बिराएकाले अब आन्दोलनको आँधीहुरी ल्याएर ढाल्ने चेतावनी दिएका थिए ।

शेखरले यसअघि पनि सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्दै आएका छन् । दुईतिहाइ नजिकको सरकार भए पनि जनताका अपेक्षा पूरा गर्न नसकेको भन्दै शेखर विकल्पको खोजीमा लागेका छन् ।

सरकार एक वर्षे कार्यकालको समीक्षामा लागिरहेका बेला शेखरले प्रचण्ड र एमालेमा फर्किन संघर्षरत भण्डारीसँग गरेको संवादलाई अर्थपूर्ण मानिएको छ।

कुनै बेला उनै शेखर यो कांग्रेस-एमाले मिल्नुपर्ने पक्षमा थिए । त्यही लबिइङ अनुसार उनले कांग्रेस एमाले मिलाएर कोशीमा आफूनिकट केदार कार्कीलाई मुख्यमन्त्री पनि बनाएका थिए । तर अहिले आएर उनै शेखर आफूले चाहेअनुसारको गठबन्धनसँग पनि असन्तुष्ट देखिएका हुन् ।

उता प्रचण्डले आफूलाई हटाएर सात दलीय गठबन्धन सरकार बनेदेखि भ्रष्टाचार बढेको, हरेक क्षेत्रमा बेथिति देखिएको पनि बताउँदै आएका छन् । सरकारले हिनामिना र अनियमिततामा मुछिएका आफूनिकटलाई जोगाएर प्रतिपक्षी र अन्यलाई मात्रै डाम्ने गरेको आरोप लगाएको सन्दर्भमा सरकार इत्तरको संवाद तीव्र भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  १ : १४ बजे

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश