काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीचको पछिल्लो संघर्षका दौरान पाँचवटा लडाकु विमान खसालिएको दाबी गरेका छन् । शुक्रबार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको कुराकानीका क्रममा उक्त दाबी गरेका हुन् ।
तर, ट्रम्पले कुन देशका कति लडाकु विमानमा क्षति पुग्यो भन्ने बारे विस्तृत केही नखुलाएको बीबीसीले जनाएको छ । यसअघि पाकिस्तानलेसमेत भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो ।
भारतले भने पाकिस्तानको उक्त दाबीलाई खारेज गरेको थियो । गत मे महिनाको अन्तिमतिर भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले पाकिस्तानका तर्फबाट विमानमाथि पुर्याइएको भनिएको क्षतिको दाबीलाई अस्वीकार गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानलाई व्यापार रोक्ने चेतावनी दिएपछि दुबै देश संघषविराम गर्न तयार भएका पनि बताएको बीबीसीले जनाएको छ । मे महिनाको सुरुवातमा भारत–पाकिस्तानबीच सैन्य संघर्ष चलिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए ।
अमेरिकाले सोही कुराकानीलाई संघर्षविरामका लागि गरिएको प्रयासका रुपमा चित्रण गरेको थियो । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा सङ्घर्षविरामको घोषणा गरेका थिए ।
चालु जुलाई महिनाको सुरुवातमा भारतीय विदेशमन्त्री एस जयशंकरले एक अन्तर्वार्तामा पाकिस्तानसँगको सङ्घर्षविराम पूर्णतया द्विपक्षीय भएको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया