पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन « Khabarhub

पोखरा-मुग्लिन सडक : पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा–मुुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । 

आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ भने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको उनले जानकारी दिए । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने प्रमुख कुँवरले बताए। 

आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमै बन्न नसकेको प्रमुख कुँवरले बताए। 

केबल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उनको भनाइ छ । 

आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा सिग्नेचर पुल बन्ने भएका हुन् ।  

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पश्चिम खण्डमा पोखराको सेती र पूर्वी खण्डतर्फ तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माण भइरहेको हो ।  

पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नति सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । 

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८६ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५५ दशमलव १० प्रतिशत पुगेको छ । कुल ४१ दशमलव ४५ किमी दूरीको पूर्वी खण्डमा कालोपत्रको काम सकिए पनि सडक मार्किङ, सौन्दर्यीकरणलगायत काम बाँकी रहेको जनाइएको छ । 

पूर्वी खण्डमा तेस्रोपटक थपिएको म्याद गत असार २९ मा सकिएपछि पुनःम्याद थपको प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यालयले जनाएको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३६ दशमलव ५ किमी एकतर्फी (दुई लेन) सडकमा पहिलो तहको कालोपत्र भइसकेको प्रमुख कुँवरले बताए ।

 ‘२६ दशमलव ३८ किमी दूरीमा दुईतर्फी (चार लेन) नै कालोपत्र भइसकेको छ’, उनले भने, ‘एक सय पाँच वटा कल्भर्टमध्ये १०३ वटा निर्माण भइसकेका छन् ।’

पश्चिम खण्डको ठेक्का म्याद आगामी पुस १६ गते सकिने प्रमुख कुँवरले बताए । 
 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ४२ बजे

इरानद्वारा पुनः हमला सुरु, अबुधाबीमा विस्फोटको आवाज सुनियो

काठमाडौं – सोमबार इरानले पुनः क्षेप्यास्त्र आक्रमण सुरु गरेको छ

जातीय विभेदविरुद्ध ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन

काठमाडौं – दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा

एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं – सर्वोच्च अदालतले एकल महिला (विधवा)ले अर्को विवाह गरेमा

कर्णाली प्रदेश सरकारले दश वर्षे कृषि रणनीति तयार पार्दै

सुर्खेत – कर्णाली प्रदेश सरकारले टुक्रे आयोजनाबाट प्रतिफल नआउने भएपछि

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल

काठमाडौं – नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,