चीन र भारतबीच च्यापिएको भुटान | Khabarhub Khabarhub

चीन र भारतबीच च्यापिएको भुटान

दोक्लाम विवादका कारण बफर जोन बन्दै दक्षिण एशियाको सानो देश



काठमाडौं– भुटान भन्नेबित्तिकै आम नेपालीको दिमागमा के आउला ? दक्षिण एशियाको सानो देश, नेपालजस्तै हिमाली भूबनोट, बौद्ध धर्म–संस्कृतिको केन्द्र, राजाको शासन, एक हदसम्म नेपाली भाषा बोल्ने–बुझ्ने जनता… यस्तै यस्तै ।

अझ अहिले त भुटानको परिचय आर्थिक समृद्धिभन्दा जनताको खुशीयालीमा विशेष जोड दिने मुलुकका रुपमासमेत जोडिएको छ ।

यतिमात्रै होइन, आफ्नो देशमा बस्ने नेपालीभाषीलाई लखेटेको घटनासँग पनि भुटानको नाम जोडिएको छ । त्यसबाहेक केही वर्षअघिमात्रै भारत र चिनियाँ सुरक्षाकर्मीबीच डोक्लम सीमा क्षेत्रमा भएको विवादका कारण समेत भुटानको नाम सञ्चार माध्यममा आएको थियो ।

भोट अर्थात् तिब्बत (सिजाङ) को अन्त्य भएको ठाउँलाई ‘भोटान्त’ भनिएको र त्यही भोटान्त पछि गएर भुटान हुन पुगेको जानकारहरु बताउँछन् ।

कतिपयले चाहिँ खस बस्ने ठाउँलाई खसान, तमु बस्ने ठाउँलाई तमुवान, लिम्बू बस्ने ठाउँलाई लिम्बुवान भनेजस्तै तिब्बती (भोटे) संस्कृतिसँग नजिक रहेका मान्छे बसेकाले भुटान देशको नाम रहन गएको समेत मत राख्छन् ।

‘चट्याङको देश’, ‘ड्रागनको भूमि’

भुटानले चाहिँ आफ्नो मुलुकलाई ‘ड्रुक यूल’ भन्ने गर्छ । यो नाम र यसको अर्थबारे थाहा पाउन भुटानको सँस्कृतिलाई बुझ्नु आवश्यक हुन्छ । भुटानको राजधर्म बज्रयान सम्प्रदायमा आधारित बौद्ध धर्म हो ।

विश्वका विभिन्न सँस्कृतिमा पनि बज्रलाई प्राकृतिक रुपमा वर्षाका बेला पर्ने चट्याङसँग जोडिन्छ । हिन्दू सँस्कृतिकै उदाहरण हेर्दा चट्याङलाई देवताका राजा ईन्द्रले बज्र हानेको रुपमा मान्ने गरिन्छ । प्राचीन युनानी धर्ममा चाहिँ ओलम्पस पहाडमा बस्ने जुस देवताले बज्र हानेर चट्याङ पार्ने विश्वास रहीआएको थियो ।

चट्याङ लागेका बेलामा सुनिने मेघ गर्जनलाई भुटानको स्थानीय भाषामा ‘ड्रुक’ भन्ने गरिन्छ । स्थानीय सँस्कृतिमा मेघ गर्जनलाई ड्रागन (सरिसृप र चराको गुण मिश्रित मिथकीय जनावर) ले निकाल्ने चर्को आवाजका रुपमा बुझ्ने गरिन्छ । यही ‘ड्रुक’ शब्दले मेघ गर्जनसँगै मेघ गर्जेका बेला चर्को आवाज निकाल्ने ड्रागनको पनि अर्थ दिन्छ ।

त्यसैले यो देशलाई ‘ड्रुक यूल’ अर्थात् चट्याङको देश वा ड्रागनको भूमि पनि भन्ने गरिएको छ । यही ड्रागनलाई भुटानले आफ्नो ध्वजामा अंकित गरेको छ । सोही अनुसार भुटानका नरेश आफ्नो देशमा ‘ड्रुक ज्याल्पो’ पुकारिन्छन् । भुटानी नागरिक ‘ड्रुक्पा’ कहलाउँछन् ।

भुटान र भोट

लामो समयदेखि भुटान र भोटबीच निकट सम्बन्ध रहिआएको थियो । भोटबाट विभिन्न कारणले आप्रवासन गरी आउने मानिसहरुको सुरक्षित बासस्थान रहिआएको थियो । सातौँ शताब्दीमा भोटका सम्राट श्रङचङगम्पोले भुटान र सिक्किमसम्म आफ्नो प्रभाव विस्तार गरेको बताइन्छ । सोहीअनुसार विस्तारै भुटानमा बौद्ध धर्म र भोटे सँस्कृतिको विस्तार हुन थाल्यो । भुटान र भोटबीच धार्मिक एवम् साँस्कृतिक आदान प्रदान, व्यापार, बिहेबारीजस्ता सम्बन्ध कायम हुन थाल्यो ।

तीन चौथाई एशिया र आधा युरोप कब्जा गरेको मंगोल साम्राज्यले १३ औँ शताब्दीमा भोटमा आक्रमण गर्‍यो । मंगोल आक्रमणपछि भागेर ठूलो सङ्ख्यामा तिब्बतीहरु भुटान प्रवेश गरे । त्यसपछि भुटानमा तिब्बती साँस्कृतिक प्रभाव थप मजबुत बन्न थाल्यो ।

भुटानको नाम ‘ड्रुक यूल’ किन रहन गयो भन्ने एउटा किंवदन्ती प्रचलित छ । किंवदन्ती अनुसार १२ औँ शताब्दीमा तिब्बतको उछाङ क्षेत्रमा साङ्पा ग्यारे नाम गरेका बौद्ध धर्मगुरु थिए । उनी शिष्यहरुसँग तीर्थयात्रामा निस्केका बेला ठूलो मेघ गर्जन भयो । सोही बेला साङ्पा ग्यारेले ड्रागन अर्थात् ‘ड्रुक’ देखे । त्यसपछि उनी र उनका शिष्यहरुलाई ‘ड्रुक्पा’ भन्न थालियो ।

‘दारी पाल्ने लामा’

सत्रौँ शताब्दीमा साङ्पा ग्यारेका उत्तराधिकारीका रुपमा ‘दारी पालेका लामा’ समेत भनेर चिनिने झाब्ड्रुङ ङावाङ नामग्याल रिम्पोछे थिए । तिब्बतमा धार्मिक दमन भएपछि उनको नेतृत्वमा रहेको ड्रुक्पाहरुको एउटा समूह भुटान प्रवेश गरेको बताइन्छ । उनै नामग्यालले ड्रुक्पा धार्मिक समूहको झण्डामुनि भुटानलाई एक राष्ट्रमा समाहित गरेको विश्वास गरिन्छ ।

‘दारी पालेका लामा’ समेत भनेर चिनिने झाब्ड्रुङ ङावाङ नामग्याल रिम्पोछेको प्रतिमा

त्यसबेला ड्रुक्पाहरुले ‘जोङ’ नामक धार्मिक संगठन विस्तार गरेका थिए । यसको शाब्दिक अर्थ गुम्बा वा किल्ला हुन आउँछ । जोङलाई धार्मिक मात्रै नभइ सैन्य र प्रशासनिक केन्द्रका रुपमा समेत विकास गरिएको थियो । ड्रुक्पाहरुले जोङमार्फत् आफ्नो धार्मिक प्रभाव भुटानभर विस्तार गरेका थिए । यही जोङमा बोलिने भाषालाई जोङ्खा भनिन्छ, जुन भुटानको राजभाषा हो ।

उनै नामग्यालले गोरखाका तत्कालीन नरेश राम शाहसँग सम्झौता गरेर केही नेपालीलाई भुटान समेत लगेको बताइन्छ । सोही कालखण्डबाट भुटानमा नेपालीभाषीको बसोबास शुरु भएको झापामा निर्वासित जीवन बिताइरहेका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालको दाबी छ ।

नामग्यालको निधन सन् १६५१ मा भएको थियो । तर, उनको निधन भएको घटनालाई ५४ वर्षसम्म गोप्य राखियो । पछि सन् १७०५ मा मात्रै नामग्यालको निधन भएको खबर सार्वजनिक गरिएको थियो ।

ड्रुक्पाले धार्मिक मामिलामा विशेष चासो दिएपनि अन्य गैरधार्मिक गतिविधि सञ्चालनको अधिकार भने ड्रुक डेसी भनिने गैरधार्मिक शासकको हातमा थियो । अहिले पनि भुटानमा द्रात्साङ ल्हेन्सोग नामक शक्तिशाली बौद्ध संगठनले धार्मिक मामिला हेर्दै आएको छ । सोही द्रात्साङ ल्हेन्सोगका प्रमुख धर्मगुरु जे खेन्पोलाई ड्रुक्पाको सर्वोच्च नेता मानिन्छ ।

चोसिद न्यिदेन

लामो समयसम्म भुटानमा ड्रुक्पा समूह र गैरधार्मिक शासकहरुले केन्द्रमा एक किसिमको द्वैध शासन (चोसिद न्यिदेन) चलाए । अहिले पनि भुटानी संविधानले नै चोसिद न्यिदेनलाई औपचारिक मान्यता दिएको छ ।

बौद्ध भिक्षुसँग ड्रुक ज्याल्पो जिग्मे खेसर नामग्याल वाङ्चुक

नामग्यालको समयमा केन्द्रमुनि सामन्ती शैलीका स्थानीय शासकहरु पनि अस्तित्वमा थिए । उनीहरुलाई पेन्लोप र जोङपोन भन्ने गरिन्थ्यो । कालान्तरमा ड्रुक डेसी कमजोर हुँदै गए भने स्थानीय सामन्ती शासकहरु शक्तिशाली हुँदै गए । ती स्थानीय शासकबीच बारम्बार युद्ध र झैँझगडा भइरहन्थ्यो ।

सोही कारणले गर्दा ड्रुक डेसीको शासन भुटानभर पूर्ण रुपमा लागू हुन पाएन । स्थानीय शासकहरु ड्रुक डेसीको शासनलाई बेवास्ता गर्दै आफ्नो मातहतमा रहेको भूभागमा आ–आफ्नै स्वार्थ र हितअनुरुप सैन्य, प्रशासनिक र नागरिक शासन चलाउँथे ।

यस्तो अवस्थामा स्थानीय शासकले आफ्नो भूभाग विस्तार गर्न भुटानका स्थानीय शासकमात्रै नभएर नजिकका आसाम, सिक्किम, तिब्बत, डुवर्स क्षेत्रमा सैन्य अभियान सञ्चालन गर्दै आएका थिए । उनीहरुमाथि ड्रुक डेसीको पूर्ण नियन्त्रण थिएन ।

दक्षिण एशियामा बेलायतको अतिक्रमण र भुटान

विस्तारै बेलायती इस्ट इण्डिया कम्पनीले दक्षिण एशियामा आफ्नो प्रभाव विस्तार गरिरहेको थियो । सन् १७७४ मा भारतमा इस्ट इण्डिया कम्पनीका प्रशासक वारेन हेस्टिङ्ग्सले भुटानसँग व्यापार गर्नका लागि एउटा सन्धिमा हस्ताक्षर गरेका थिए ।

त्यतिबेला भुटान, सिक्किम, डुवर्स, कुच बिहार, आसाम र आसपास एक किसिमको अस्थिरता थियो । सबै राज्यहरु आ–आफ्नो राज्य विस्तार गर्न वा राज्यको रक्षा गर्न सैन्य शक्ति मजबुत बनाउँदै लगेका थिए ।

यसै मौकाको फाइदा उठाउँदै भुटानका शासकले आसाममा शासन गरिरहेको अहोम अधिराज्यबाट डुवर्स क्षेत्र आफ्नो शासन मातहत ल्याउन सफल भएका थिए । १९ औँ शताब्दीको पूर्वाद्र्धमा कम्पनीले आसाम कब्जा गर्‍यो । अब कम्पनी सरकारको सीमाना भुटानसँग जोडिन आइपुग्यो ।

खासगरी, डुवर्सको विषयलाई लिएर कम्पनी सरकार र भुटानबीच विवाद उत्पन्न भयो । सन् १८३४ र ३५ मा बेलायतले भुटानी भूमिमा आक्रमण गरी केही जमिन कब्जा गर्‍यो । त्यसपछि कम्पनी सरकारले भुटानको स्वामित्वमा रहेको आसाम डुवर्स पनि कब्जा गर्‍यो ।

यसबापत कम्पनी सरकारले भुटानलाई हरेक वर्ष १० हजार रुपैयाँ प्रदान गर्ने सहमति भयो ।

तर, सो क्षेत्रमा शान्ति भने कायम हुन सकेन । स्थानीय शासक वा स–साना समूहबाट हुने सीमापार आक्रमण–प्रत्याक्रमण जारी नै रह्यो । स्थानीय शासकहरुले कम्पनी सरकारको मातहतमा रहेको भूभागमा पनि बेलाबेला आक्रमणहरु गरिरहन्थे ।

शान्ति कायम हुन नसकेका कारण अस्थिरता बढिरहेको अवस्थामा कम्पनी सरकारसँग वार्ता गर्न भुटानले सन् १८५२ मा एउटा प्रतिनिधिमण्डल कोलकाता पठाएको थियो । उक्त वार्ता सफल हुन सकेन । विवाद कायमै रह्यो ।

युद्ध र सन्धि

सन् १८५० को दशकको मध्यतिर कम्पनी सरकारले सो क्षेत्रमा सैनिक तैनाथी बढायो । तर, सन् १८५७ मा भारतमा कम्पनी सरकारविरुद्ध सैन्य विद्रोह शुरु भयो । बेलायतीले गोर्खाली र शिख फौजको सहयोगमा सैन्य विद्रोह दबाएपछि भारतमा कम्पनी सरकार पतन भयो ।

अब भारत कम्पनी सरकारको नभई बेलायती साम्राज्यको प्रत्यक्ष शासन मातहत आयो । तर, भुटानसँगको विवाद भने अझै साम्य भएको थिएन । भुटानी फौजले सन् १८६२ मा सिक्किम र कुच बिहारमा आक्रमण गर्‍यो । त्यसपछि सन् १८६३ मा बेलायतले एश्ले इडनको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल भुटान पठायो ।

भुटानमा इडनलाई अपमान गरिएको इतिहासकारहरु बताउँछन् ।

भुटानमा एश्ले इडनको अपमान

त्यहाँ उनले एउटा सम्झौतामा हस्ताक्षर गरेर दार्जेलिङ फर्किए । इडनले भुटानसँग गरेको सम्झौतालाई भारतमा बेलायतका गभर्नर जनरल सर जोन लरेन्सलाई पटक्कै मन परेन ।

उनले आसाम डुवर्स बेलायतलाई दिएबापत भुटानले पाउँदै गरेको रकम समेत बन्द गरिदिए ।

अब बेलायत भुटानसँग युद्ध गर्ने मनस्थितिमा पुगिसकेको थियो । यसैअनुसार डुवर्समा देखिएको समस्याको दीर्घकालिन समाधान गर्न सन् १८६४ नोभेम्बर १२ मा बेलायतले भुटानविरुद्ध युद्धको घोषणा गर्‍यो । डुवर्स युद्ध समेत भनिने यो युद्धमा भुटान पराजित भयो ।

युद्धपछि सन् १८६५ नोभेम्बर ११ का दिन बेलायत र भुटानबीच सिन्चुला सन्धिमा हस्ताक्षर भयो ।

यस सन्धि अनुसार भुटानले आसाम र बंगाल डुवर्सका सबै भूभाग बेलायतलाई बुझाउनुपर्‍यो । टिस्टा नदीको पश्चिमी तटमा रहेको भूमि पनि भुटानले गुमायो । यसबापत बेलायतले भुटानलाई वार्षिक ५० हजार रुपैयाँ दिने सहमति भयो ।

गृहयुद्ध र वाङ्चुक वंश

बेलायतसँग पराजित भएपछि भुटान लामो समयसम्म आन्तरिक अस्थिरतामा फस्न पुग्यो । भुटानमा गृहयुद्धको अवस्था सिर्जना भयो । पेन्लोप र जोङपोनहरु आपसमा झगडा गरिरहन्थे । यो अवस्था सन् १९०७ सम्म कायम रह्यो । यतिबेलासम्म तिब्बत र भुटानको भूराजनीतिक अवस्थामा परिवर्तन आइसकेको थियो ।

यसअघि सन् १९०३ मा फ्रान्सिस योङहस्बेन्डको नेतृत्वमा बेलायतले तिब्बतमा आक्रमण गरेको थियो । तिब्बतसँग १९०४ मा सम्झौता गरेपछि बेलायत फिर्ता भएको थियो ।

बेलायत र तिब्बतबीच सम्झौता गराउन भुटानको ट्रोङ्साका पेनलोप उग्येन वाङ्चुकले मध्यस्थता गरेका थिए । भुटानमा पनि उनको प्रभाव बढिरहेको थियो । सन् १९०७ मा भुटानका धर्मगुरु, प्रभावशाली परिवारका वरिष्ठ सदस्य, स्थानीय शासकहरु मिलेर उनै वाङ्चुकलाई राजा घोषित गरे ।

प्रथम ड्रुक ज्याल्पो उग्येन वाङ्चुक र उनको परिवार

सैन्य बल र कूटनीतिक पहलका भरमा उग्येन वाङ्चुक पहिलो ड्रुक ज्याल्पोका रुपमा राजगद्दीमा आसिन हुन सफल भएका थिए । उनकै सन्ततिले हालसम्म वाङ्चुक वंशको शासन सञ्चालन गरिरहेका छन् ।

भुटानको पहिलो राजा भएपछि उग्येनले बेलायतसँगको सन्धिलाई परिमार्जित गरे । पुनाखा जोङमा हस्ताक्षर भएको नयाँ सन्धिमा बेलायतले भुटानको आन्तरिक मामिलामा कुनै दखल नदिने तर, भुटानको परराष्ट्र मामिला बेलायतको मातहत रहने उल्लेख गरिएको छ । यस सन्धिले भुटानलाई दक्षिण एशियामा एउटा स्वतन्त्र मुलुकको मान्यता त दियो तर, उसको परराष्ट्र मामिला भने बेलायतको अधिनमा रहन पुग्यो ।

भारतीय सैन्य उपस्थिति

२० औँ शताब्दीको बीचमा भुटानको छिमेकमा ठूलो उथलपुथल देखियो । सन् १९४७ मा भारत औपचारिकरुपमा बेलायतको शासनबाट स्वतन्त्र भयो भने चीनमा पनि सन् १९४९ मा कम्युनिष्ट पार्टीको नेतृत्वमा साम्यवादी क्रान्ति सफल भयो ।

भारतले स्वतन्त्रता हासिल गरेलगत्तै भुटानसँग सन् १९४९ मा मैत्री तथा सहकार्य सन्धि गर्‍यो । यो सन्धि पनि पुनाखाको सन्धिकै शैलीमा तयार गरिएको थियो । यो सन्धि बमोजिम भुटान र भारत एकले अर्काको मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर, भुटानको परराष्ट्र नीति ‘भारतीय मार्गदर्शनमा’ सञ्चालन हुने उल्लेख गरिएको छ ।

त्यसबाहेक सन्धिमा भुटानले आफ्नो रक्षा मामिला पनि भारतसँग समन्वय गरी सञ्चालन गर्ने उल्लेख गरिएको छ । सन् १९४९ मा मैत्री सन्धि गरेपनि भारत र भुटानबीच धेरैपछि अर्थात् सन् १९६८ मा आएर बल्ल औपचारिक रुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

भुटान र भारतबीच सन्धि भएका बेला तिब्बतको राजधानी ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टीको सत्ता स्थापित भयो । यससँगै भुटान र कम्युनिष्ट पार्टी नेतृत्वको चीनबीच प्रत्यक्ष सीमा कायम हुन पुग्यो । तर, यो सीमा अझै पनि स्पष्ट छैन ।

दुबै मुलुकले दुई मुलुकको सीमाबारे आ–आफ्नै तर्क प्रस्तुत गर्दै आएका छन् । पछि सन् १९५९ मा तिब्बतमा विद्रोह शुरु भयो । तिब्बती धर्मगुरु दलाई लामा भागेर भारत पुगे । यसपछि भुटानमा पनि तिब्बती शरणार्थी आउन थाले ।

भारत र चीनबीच सीमा विवाद बढ्दै जाँदा सन् १९६२ मा युद्ध भयो । युद्धमा भारतको पराजय भयो । यसपछि भारतले भुटानमा आफ्नो सैनिक उपस्थितीलाई विस्तार गर्न थाल्यो ।

भारतले भुटानी सेनालाई तालिम प्रदान गर्न भन्दै भुटानमा इण्डियन मिलिट्री ट्रेनिङ टिम नामक दस्ता परिचालन गर्‍यो । भारतीय सेनाको यस दस्ता अझै पनि भुटानमा सक्रिय रहँदै आएको छ ।

भुटानको उपल्लो पारो क्षेत्रमा भारतीय सैन्य शिविर

भुटानको आफ्नै रक्षा मन्त्रालय छैन । यसै दस्ताले भुटानी सेनालाई तालिम दिनेमात्रै नभइ भुटानी राजालाई सैन्य मामिलाबारे सल्लाह दिने र आवश्यक परेको बेला सैन्य निर्णय लिने अख्तियारी पनि पाएको छ ।

ल्होत्साम्पा

सन् १९७२ मा आएर जिग्मे सिङ्गे वाङ्चुक १७ वर्षकै उमेरमा भुटानको चौथो राजा भए । उनको शासनकाललाई भुटानको समकालीन इतिहासकै सबैभन्दा महत्वपूर्ण र प्रभावशाली मानिएको छ । कुल राष्ट्रिय खुशीयालीको अवधारणा ल्याउने राजा पनि यिनै जिग्मे सिङ्गे वाङ्चुक नै हुन् । उनलाई स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार र उद्योगको विकास, ग्रामीण विकास, पर्यटन, वातावरण संरक्षणजस्ता क्षेत्रमा काम गरेको जस दिइन्छ ।

माथि कतै भनिएजस्तो भुटानमा नेपालीभाषीको बसोबास झाब्ड्रुङ ङावाङ नामग्याल रिम्पोछेकै पालादेखि नै शुरु भएको थियो ।

भारतीय उपमहाद्विपमा बेलायती शासनकालमा युद्ध लड्न, मजदुरी गर्न र चियाबगानमा काम गर्न कैयौँ नेपालीभाषीहरु सिक्किम, दार्जिलिङ, आसाम र भुटान पुगेका थिए ।

२० औँ शताब्दीको उत्तराद्र्धतिर भुटानको दक्षिणी भेगमा पनि ठूलो सङ्ख्यामा नेपालीभाषीको बसोबास थियो । दक्षिण भुटानमा ठ्याक्कै कति सङ्ख्यामा नेपालीभाषीको बसोबास थियो भन्ने स्पष्ट छैन । यद्यपि त्यसबेला भुटानको एक चौथाइ जनसङ्ख्या नेपालीभाषी रहेको हुनसक्ने अनुमान गरिन्छ ।

उनीहरु नेपाली भाषा बोल्दथे । दौरा सुरुवाल सारी चालो लगाउँथे । दसैँ तिहार मनाउँथे । देवी देवताको पूजा गर्दथे ।

भारतसँगको सीमामा बस्ने र औपचारिक शिक्षाको पहुँचका कारण तुलनात्मक रुपमा उनीहरु सामाजिक रुपमा आम भुटानीभन्दा केही प्रगतिशील नै थिए । जिग्मे सिङ्गे वाङ्चुकले यी नेपालीभाषीबाट आफ्नो शासनमै खतरा देखे । यी नेपालीभाषीलाई राजनीतिक अधिकार दिए भुटानी राजसंस्थामै जोखिम हुने उनको मत थियो ।

त्यसैले भुटानमा पुस्तौँपुस्तादेखि बसिरहेका नेपालीभाषीप्रति जिग्मे सिङ्गे वाङ्चुक अनुदार थिए । उनी बज्रयानी बौद्ध परम्परामा आधारित भुटानी सँस्कृतिको रक्षा हुनुपर्ने मत राख्दथे । सोही अनुसार उनले जोङ अर्थात् गुम्बा वा किल्लामा बोलिने भाषालाई राजभाषा कायम गरेका थिए । भुटानमा नेपाली भाषामाथि बन्देज लगाइयो । दौरा सुरुवाल बन्द गरी भुटानी पहिरनलाई अनिवार्य गरियो ।

उनकै शासनकालमा ८० को दशकपछि भुटानको दक्षिणी भेगमा बस्ने एक लाखभन्दा धेरै नेपालीभाषी लखेटिए ।

बेलडाँगी शिविरमा भुटानी राहदानी देखाउँदै शरणार्थी

भुटानबाट लखेटिएका नेपालीभाषीहरु नेपालको झापा र मोरङमा शरणार्थी शिविरमा बस्न बाध्य भए । हाल कतिपय शरणार्थीहरु तेस्रो देश पुनर्वास भइसकेका छन् भने कतिपय शरणार्थीहरु अझै पनि नेपालमै बसिरहेका छन् ।

कूटनीतिक विस्तार

जिग्मे सिङ्गे वाङ्चुक राजा हुनुभन्दा अघि नै सन् १९७१ मा भारतीय सहयोगमा भुटानले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरिसकेको थियो । तर, आफ्नो शासनकालमा उनले भुटानको कूटनीतिक सम्बन्धलाई पनि थप विस्तार गर्न सफल भएका थिए । उनले दुई तहको परराष्ट्र नीति लागू गरेका थिए । एउटा भारतसँगको सम्बन्ध र अर्को चाहिँ भारतबाहेक विश्वका अरु मुलुकसँग सम्बन्ध विस्तार ।

सन् १९७३ मा भुटानले हालै अस्तित्वमा आएको बंगलादेशसँग सम्बन्ध स्थापना गरेको थियो । सोही वर्ष भुटान असंलग्न राष्ट्रहरुको संगठनमा पनि सामेल भयो । त्यसपछि भुटानले कुवेत, नेपाल, मालदिभ्स, स्विट्जरल्याण्ड र नर्वेजस्ता युरोपेली देश, जापानलगायतका मुलुकसँग पनि सम्बन्ध विस्तार गर्‍यो ।

सन् १९८१ मा भुटान अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको सदस्यता प्राप्त गर्‍यो भने त्यसको एक वर्षपछि युनेस्कोको सदस्यता पायो । सन् १९८५ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क स्थापना हुँदा पनि जिग्मे सिङ्गे वाङ्चुक नै भुटानका राजा थिए ।

यसका बावजुद भुटानको कूटनीतिक सम्बन्ध अझै पनि सीमित छ । भुटानले सीमित केही दर्जन देशसँग मात्रै औपचारिक कूटनीतिक स्थापना गरेको छ ।

भुटानले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका कुनै पनि स्थायी सदस्य मुलुकसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरेको छैन । यसअनुसार उत्तरी छिमेकी चीनसँग पनि भुटानको कूटनीतिक सम्बन्ध कायम छैन । माथि कतै भनिएजस्तै भुटान र चीनबीचको सीमा पनि स्पष्ट छैन ।

सीमा विवाद समाधान गर्न जिग्मे सिङ्गे वाङ्चुककै शासनकालमा सन् १९८४ मा भुटान र चीनबीच द्विपक्षीय वार्ताको क्रम शुरु भयो । यद्यपि सन् १९८८ मा आएर चिनियाँ जनमुक्ति सेना सीमा क्षेत्रको डोक्लम नामक स्थानमा प्रवेश गर्‍यो ।

डोक्लम क्षेत्र अझै पनि भुटान र चीनबीच सार्वभौमिकताको विवादमा रहेको छ । यद्यपि सन् १९९८ मा सीमा वार्ताको १२ औँ चरणमा भुटान र चीन सरकारबीच सीमा क्षेत्रमा शान्ति कायम राख्ने सम्झौता भएको थियो ।

२१ औँ शताब्दीको भुटान

राजाको प्रत्यक्ष शासन रहेको भुटान २१ औँ शताब्दीको सुरुवातसँगै विस्तारै लोकतान्त्रीकरणको प्रक्रियामा अघि बढ्न थाल्यो । सन् २००६ मा जिग्मे सिङ्गे वाङ्चुकले गद्दी त्याग गरी आफ्ना छोरा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई नयाँ राजा बनाइदिए ।

जिग्मे खेसर नामग्याल वाङ्चुक राजा भएपछि सन् २००७ मा भुटानले भारतसँग सन् १९४९ मा गरेको मैत्री तथा सहकार्य सन्धिलाई पुनः परिमार्जित गर्‍यो । नयाँ सन्धिसँगै भुटानको परराष्ट्र नीति ‘भारतीय मार्गदर्शनमा’ सञ्चालन हुने प्रावधानलाई संशोधन गरी ‘एक अर्काको राष्ट्रिय सुरक्षालाई हानी हुनेगरी आफ्नो भूमि प्रयोग हुन नदिने’ प्रावधान स्थापित गरियो । तैपनि भुटानको परराष्ट्र र सैन्य मामिलामा भारतीय प्रभाव अझै पनि मजबुत रहेको ठानिन्छ ।

सन् २००८ मा आएर बल्ल भुटानमा पहिलो पटक लोकतान्त्रिक चुनाव भयो । यस चुनावमा केबल दुई वटा पार्टी सहभागी थिए । चुनावमा भुटान शान्ति तथा समृद्धि पार्टीले जनलोकतन्त्र पार्टीलाई पराजित गर्‍यो । चुनावपछि जिग्मे थिन्ले भुटानको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए ।

२१ औँ शताब्दीको दोस्रो दशकमा भुटानको छिमेकमा अर्को ठूलो परिवर्तन देखा पर्‍यो । भुटानको दुबै छिमेकमा शक्तिशाली नेता सत्तामा आए । चीनमा सन् २०१३ मा राष्ट्रपति भए भने सन् २०१४ मा भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री निर्वाचित भए । परम्परागत रुपमा प्रतिस्पर्धी मुलुकको रुपमा रहँदै आएका दुबै मुलुक दक्षिण एशियामा आफ्नो प्रभाव तीव्र गतिमा विस्तारमा लागेका थिए ।

भुटान पनि यसैको फन्दामा पर्‍यो । सन् २०१७ मा भुटान र चीनबीच विवादमा रहेको दोक्लाम भूभागमा भारतीय र चिनियाँ सैनिकबीच हात हालाहालको अवस्था सिर्जना भयो । यसले दक्षिण एशियामात्रै नभएर पूरै विश्वमा हलचल पैदा भयो । २ महिनाको तनावपछि दुबै मुलुकका सरक्षाकर्मी पछि हट्न सहमत भए ।

बेलाबेला चीनले नयाँ नक्सा जारी गर्दै भुटानका केही भूभागमाथि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । सन् २०१९ मा मात्रै चीनले भुटानको ६ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको साक्तेङ वन्यजन्तु आरक्षमा आफ्नो दाबी प्रस्तुत गर्दै नयाँ नक्सा जारी गरेको थियो । भुटानले यसको विरोध गरेको थियो ।

पछि सन् २०२१ मा आएर भुटान र चीनबीच सीमा विवाद तीन चरणमा समाधान गर्ने सहमति भयो । यद्यपि दुई मुलुकबीचको सीमा अझै पनि स्पष्ट छैन ।

वर्तमान परिस्थिति

अहिले भुटान पनि बाहिरी संसारसँगको सम्पर्क विस्तार गर्ने प्रयासमा छ । व्यापार, विकास साझेदारी, पूर्वाधार निर्माणजस्ता क्षेत्रमा भुटानले भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लगेको छ ।

भुटानले भारतमा ठूलो परिमाणमा जलविद्युत् निर्यात गर्दै आएको छ । एउटा अनुमान अनुसार भुटानले आफ्नो मुलुकमा उत्पादन हुने ७० प्रतिशत जलविद्युत् भारत निर्यात गर्छ । पछिल्लो समय भुटानले तेस्रो देशका पर्यटकलाई पनि आकर्षित गर्न थालेको छ ।

सानो भूगोल र कम जनसङ्ख्या अनि बाहिरी मुलुकसँग खासै चासो नराख्ने एकलकाँटे प्रवृत्तिका कारण भुटानमा अहिले के कस्तो अवस्था छ भनेर व्याख्या गर्नु कठिन नै हुन्छ । तैपनि अहिले भुटानको अवस्था ठूलो विडम्बनापूर्ण छ । अहिले हजारौँ युवाहरुले भुटान छाडिरहेका छन् ।

विडम्बना यो छ कि कुनै समय भुटानले आफ्नो मुलुकबाट लाखौँ मानिसहरुलाई जबरजस्ती देश निकाला गरेको थियो । अहिले भुटानी युवाहरु आफ्नै मनखुशीले भुटान छाडिरहेका छन् । पछिल्ला केही वर्षयता हजारौँ भुटानी युवाहरु गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् ।

नेपालीजस्तै भुटानीहरु पनि अहिले अस्ट्रेलिया, युरोप, अमेरिकाजस्ता मुलुक जान थालेका छन् । एउटा तथ्यांकअनुसार ६६ हजार जना भुटानी अहिले विदेशमा बसोबास गर्छन् । यो भनेको त्यहाँको कुल जनसङ्ख्याको ८.५ प्रतिशत हुन आउँछ ।

भुटान सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको खण्डमा आगामी केही वर्षमा यो सङ्ख्या अझै बढेर जाने निश्चित छ । यसो भएको खण्डमा भुटानमा काम गर्ने जनशक्ति नै नपाउने अवस्था समेत बन्न सक्छ ।

यसैगरी पलायन बढ्दै गए कालान्तरमा भुटान सरकारलाई कुनै समय आफ्नो देशको जनसङ्ख्यालाई जबरजस्ती देश निकाला गरेर गल्ती पो गरेँछु भन्ने पछुतो लाग्ने दिन पनि आउन सक्छ ।

यो पनि–

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ११ : २१ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा