जोमसोम– लोमान्थाङ गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने परिवारलाई विद्युतीय ‘इन्डक्सन’ चुल्हो वितरण अभियान सुरु भएको छ । गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारणको पहुँच पुगेसँगै यहाँका विद्युतीय चुल्हो वितरण अभियान सुरु भएको हो ।
पहिलो चरणमा आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता र ज्येष्ठ नागरिकलाई लक्षित गरी २१० जनालाई चुल्हो उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष टसीन्हर्वु गुरुङले जानकारी दिए ।
स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आइरहेका दाउरा र पछिल्ला वर्षमा प्रयोग हुँदै आएका ग्यास सिलिन्डर मुक्त बनाउने अभियानअन्तर्गत इन्डक्सन चुल्हो वितरण गरिएको उनले बताए ।
गाउँपालिका अध्यक्ष गुरुङका अनुसार गत आवमा २१० परिवारमा चुल्हो वितरण गरिएकामा चालु आव २०८२/८३ को साउनभित्रै थप २६० जनालाई वितरण गर्ने योजना छ ।
उनले भने, ‘इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिबारे पनि जानकारी गराएका छौँ, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्न सुरु भएको छ । यो अभियान जारी रहने छ ।’
लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै नियमित रूपमा दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ । स्थानीय पेम्बा गुरुङका अनुसार गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट सबै मुक्त भएका छन् ।
गाउँपालिका उपाध्यक्ष छयुमी बिष्ट गुरुङले राम्रोसँग उपयोग गर्न सके करिब ५ वर्षसम्म चुल्हो टिकाउ हुने र कुनै समस्या आए मर्मतका लागि पनि पहल गरिने बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन यस अभियानमा सहयोग पुग्ने बताइन् ।
प्रतिक्रिया