काठमाडौं– विदेशी जेलमा १८ हजारभन्दा धेरै पाकिस्तानी नागरिक बन्धक रहेको खुलेको छ । पाकिस्तानको माथिल्लो सदन सिनेट अन्तर्गत विदेशमा रहेका पाकिस्तानी एवम् मानव स्रोत विकास समितिको बैठकमा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
सिनेटर जिशन खानजादाको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न मुलुकका जेलमा १८ हजार पाकिस्तानी नागरिक बन्धक रहेकोबारे औपचारिक जानकारी गराइएको थियो । बिजनेस रेकर्डरका अनुसार हाल चीनमा ४ सय १७ जना, ग्रिसमा ५ सय ९८ जना, मलेशियामा ४ सय ६३, भारतमा ७ सय ३८, ओमनमा ५ सय ७८, कतारमा ४ सय २२, यूएईमा ५ हजार २ सय ९७ जना र साउदी अरबमा १० हजार ४ सय ३२ जना पाकिस्तानी नागरिक जेलमा छन् ।
विदेशी जेलमा आफ्ना नागरिक रहेपनि सरकारले कुनै सहयोग नगरेको उक्त बैठकमा सहभागीहरुले गुनासो गरेका थिए ।
सरकारी पक्षले भने पछिल्लो समय विदेश मन्त्रालयले विभिन्न ११ मुलुकसँग बन्धक सुपुर्दगी गर्ने विषयमा छलफल अन्तिम चरणमा रहेको जनाएको थियो । त्यसबाहेक अरु १५ मुलुकसँग यस्तो सम्झौताबारे छलफल जारी रहेको बैठकमा जानकारी दिइएको थियो ।
प्रतिक्रिया