एक बिघामा १५ लाखको केरा उत्पादन « Khabarhub

एक बिघामा १५ लाखको केरा उत्पादन


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन् । धामीले गत वर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाखको केरा बिक्री गरे ।

 ‘समयमै उत्पादन हुँदा ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘मैले राम्रो उत्पादन भएका बेला एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’

धामीले १९ बिघामा केराखेती गरेका छन् । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् ।

१४ वर्षदेखि केराखेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ । 

‘आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ’, उनले भने, ‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्नका लागि किनिदिने गरेको छ ।’

केराखेतीमा राम्रो आम्दानी देखेपछि स्वदेशमै भविष्य बनाउन र रोजगारीका अवसर सिर्जना गरिरहेका धामीलाई यो पेसाबाट सन्तुष्टि मिलेको छ ।

 ‘आफ्नो जमिन सदुपयोग र बाँकी जमिन लिजमा लिएर खेती गरिरहेको छु’, उनले भने, ‘मल, पोषक तत्त्व सहजै पाउन भने कठिन हुने गरेको छ । लागतअनुसार बजार नपाउँदा कहिलेकाहीँ समस्या हुन्छ ।’

किसानले असारमा केरा रोप्ने गर्दछन् । बर्खाको सिजनमा केराको अभाव हुन्छ । केरा किसान धामी मूल्य राम्रो पाउनका लागि किसानको सोचमा पनि परिवर्तन आउनुपर्ने बताउँछन् ।

 ‘हरेक किसानले असारमा केरा रोप्ने चलन छ । यस पटक मैले मङ्सिरमा केरा रोपे, यो केरा साउनमा फुट्छ, तर यसले मल नपाएर समस्या छ’, उनले भने , ‘वैशाखमा रोपेको केरा अहिले बजारमा गइरहेको छ ।’

धामीले केरा खेतीमा बहुबाली खेती गरिरहेका छन् ।

 ‘केराभित्र तोरीखेती गरेर २४ कुण्टल फल्यो, अहिले केराबारीमा सुर्खानी लटरम्म फलेको छ’, उनले भने, ‘कामदार अभावमा टिप्न सकेको छैन । केरासँगै अन्य बाली लगाएर फाइदा लिन सकिन्छ ।’

धामीसँग नियमित १२ जना कामदारले रोजगार पाएका छन् । त्यसबाहेक सिजनमा ज्यलादारीमा कामदार लगाउने गरिएको छ ।

 ‘प्राकृतिक प्रकोपबाट बच्ने र बजार ग्यारेन्टी भएमा केरा जति आम्दानी अरु बालीमा छैन’, उनले भने, ‘बाली बिमामा समस्या छ । तोकिएका कम्पनी बिमा गर्न मान्दैनन् । बिमा गरेका किसानले क्षतिपूर्ति नपाएको अवस्था छ । अहिले मैले चाहेर ५० लाखको मात्र बिमा गरेको छु । निकै अनुरोध गरेपछि थोरै बालीको बिमा भएको छ । बाली बिमामा किसानलाई सहज वातावरण बनाइदिनुपर्छ ।’

अहिले कैलालीका किसानले बारीमा ४० देखि ४५ मा केरा बिक्री गरिरहेका छन् तर बजारमा ८० बढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् । मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ । 

नेपालमै केराखेतीको उर्बर भूमिका रुपमा चिनिने टीकापुरमा केराखेती गर्न चाहने किसानले यसवर्ष भने नेपालका ल्यावमा बेर्ना उत्पादन नहुँदा समयमै बेर्ना पाएनन् ।

आयोजनाका कृषि अधिकृत आकृति ठाकुर आयोजनाले केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न थोपा सिँचाइ प्रविधि जडानमा सहयोग, बेर्नामा ५० प्रतिशत, शुक्ष्मपोषक तत्वमा ७५ प्रतिशत र प्रविधिमा सघाउने गरेको बताउँछन्। 

‘आयोजनाले कृषिका अन्यबाली जस्तै केरा किसानलाई सघाइरहेको छ । बजारीकरणका लागि आवश्यक क्यारेट लगायतका सामग्री उपलब्ध गराउने गरेको छ’, कृषि अधिकृत ठाकुरले भने, ‘आयोजनाको दोस्रो चरणमा दुई सय ५० हेक्टर जमिनमा केराखेती गर्न सघाएको छ । जसमा सय हेक्टर जमिनमा थोपा सिँचाइ प्रविधि जडानमा सघाएको छ ।’ 

आयोजनाले आयोजना क्षेत्रका छ सय ८७ किसानलाई केराखेतीका लागि सघाएको छ । आयोजनाले पहिलो चरणमा किसानलाई केराखेतीमा सघाएको थियो । 

आयोजनाको सहयोगपछि कैलालीको टीकापुर र जानकी क्षेत्रका सयौँ किसान केराखेतीमा आकर्षित भएका छन् । आयोजनाका प्रमुख भरत कँडेल सरकारको युवालाई कृषिमा संलग्न गराउने नीतिअनुसार आयोजनाले पनि युवा किसानलाई प्रोत्साहन गरिरहेको बताउँछन् ।

 ‘टेकेन्द्र जी जस्तो युवा कृषिमा लाग्नु राम्रो पक्ष हो । किसानहरु केरामा आत्मनिर्भतातर्फ गएको देखिन्छ’, आयोजना प्रमुख कँडेलले भने, ‘खाद्यान्नभन्दा फलफूल त्यसमा केरामा राम्रो आम्दानी लिन सकिन्छ । केराका लागि कैलालीको माटो र हावापानी राम्रो छ ।’

आयोजनाको तेस्रो चरणका कार्यक्रम पनि सुरु भएका छन् । तेस्रो चरणमा  केरा किसानलाई सघाउने कार्यक्रम रहेका र बजार विस्तारका लागि सहजीकरण गर्ने गरेका उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १ : ३९ बजे

रञ्जु दर्शना अस्पताल भर्ना, भोट माग्दै कार्यकर्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना