म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार | Khabarhub Khabarhub

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका विभिन्न ठाउँमा ८ सय ७४ उपभोक्ता थपिएको जनाएको छ । केन्द्रका प्रमुख सत्यनारायण गामीले एक वर्षयता मालिका गाउँपालिका–३ पात्ले, लुप्सीपार, घ्याङलेपानी, वडा नम्बर ४ को चिउरीबोट, धवलागिरि गाउँपालिकाको बुल र मलम्पारमा विद्युतीकरण भएको जानकारी दिए ।

उनका अनुसार धवलागिरि गाउँपालिका– २ लुलाङ, लमसुङ, खोरिया, मरेनी, वडा नम्बर ५ को मल्कवाङ, मालिका गाउँपालिका–४ को महभिर, ५ को पन्थोक र जुग्जामा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ ।

पोल गाड्ने, तार तान्ने र ट्रान्सफर्मर जडान भइसकेका ठाउँका उपभोक्ताले मिटर जडान गरेपछि विद्युतीकरणले पूर्णता पाउने उनको भनाइ छ ।

गत वर्ष अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा विद्युतीकरण र घोडेपानीको वितरण लाइनको सुधार भएको थियो । एक सय ३२ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र रातोढुङ्गा सबस्टेशनबाट मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा गत वर्षदेखि विद्युत् आपूर्ति गराउन थालिएको छ ।

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयवासीमा बिजुली बलेपछि खुसीयाली छाएको धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए । घरायसी काम, विद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम व्यवसाय सञ्चालन गर्ने अवसर सृजना भएको छ ।

यस वर्ष थपिएका सहित म्याग्दी वितरण केन्द्रअन्तर्गत २३ हजार ८६९ विद्युतका ग्राहक पुगेको केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए । आव २०८०–८१ मा एक हजार ४३८, २०७९–०८० मा एक हजार २३८, २०७८–०७९ मा सात सय ७० घरमा नयाँ लाइन जडान भएको प्राधिकरणको तथ्याङ्क छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी वितरण केन्द्रअन्तर्गतको मिलनचोक सबस्टेशनमार्फत विद्युत् वितरण हुँदै आएको छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आव २०८०–०८१ देखि २२ करोड रुपैयाँ बजेटको योजना सञ्चालन गरेको छ ।

गत आवमा म्याग्दी वितरण केन्द्रमार्फत एक करोड ७३ लाख ९५ हजार ७९७ दशमलव ७१ युनिट विद्युत् खपत हुँदा २० करोड ३३ लाख ६३ हजार ३८१ महसुल सङ्कलन भएको छ । समयमा महसुल नबुझाउने एक सय ४५ जना ग्राहकको लाइन काटेर १३ लाख ४५ हजार ४०७ बक्यौता असुल गरिएको छ ।

साठी दिनसम्म महसुल नतिर्नेको लाइन काट्ने र ६ महिनासम्म महसुल नबुझाउनेलाई कालोसूचीमा राखिने प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका एक जनाबाट ७७ हजार रुपैयाँ महसुल उठाएको र थप ११ जनाबाट दुई लाख ७८ हजार ९०४ उठाउन बाँकी रहेको वितरण केन्द्रका लेखा प्रमुख श्याम रानाले बताए । (रासस)

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ९ : ४३ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण