अध्यात्म र इतिहाससँग जोडिएको वराहक्षेत्र मन्दिरको तामालुङ, अभौतिक सम्पदामा सूचीकृत गर्ने तयारी | Khabarhub Khabarhub

अध्यात्म र इतिहाससँग जोडिएको वराहक्षेत्र मन्दिरको तामालुङ, अभौतिक सम्पदामा सूचीकृत गर्ने तयारी



सुनसरी- वराहक्षेत्र मन्दिर परिसरमा दुई वटा तामाका ढुङ्गा थिए । वराह भगवानको पूजाअर्चना र दर्शन गर्न आउने भक्तजनहरू ती तामाका ढुङ्गा उचाल्थे । ढुङ्गा उचाल्दा रोगव्याधि, दुःख–कष्ट हरण हुने मान्यता थियो ।

ती दुई तामाका ढुङ्गामध्ये एउटा पुरुषले उचाल्ने र अर्को महिलाले उचाल्ने परम्परा रहिआएको थियो । कालान्तरमा दुई मध्ये एउटा ढुङ्गा जीर्ण अवस्थामा पुग्यो । वराह भगवानका सेवक पण्डित योगेश भण्डारीका अुनसार ती तामाका ढुङ्गा हिन्दू शास्त्रीय मान्यताअनुसार भगवान् विष्णुका द्वारपाल हुन् । ती ढुङ्गालाई जय र विजयका रूपमा पूजा गर्ने चलन रहिआएको थियो ।

तामाको ढुङ्गा भएकाले गह्रौँ र उचाल्दा कर नपर्ने किसिमका ढुङ्गा थिए । जो कोहीले ती ढुङ्गा उचाल्न सक्दैन थिए । ‘धर्मात्माहरूले मात्र ढुङ्गा उचाल्न सक्छन्’ भन्ने मान्यता थियो ।

एउटा जीर्ण भएपछि त्यतिकै थन्क्याइयो । एउटा रहेको तामाको ढुङ्गो कालान्तरमा चोरी भयो । वराहक्षेत्र मन्दिर परिसरबाटै उक्त ढुङ्गा चोरी हुन पुग्यो । तर चोरले त्यो ढुङ्गा वराहक्षेत्र पार गरेर लान सकेन ।

स्थानीयले चोरको खोजी गरे । ढुङ्गा चोर्ने चोरहरूलाई पक्राउ गरियो । तामाढुङ्गामा दैवी शक्ति रहेको विश्वास गर्ने मान्छेमा चोरको वयान सुनेपछि थप दृढविश्वास स्थापित भयो ।

रातको समय चोरले ढुङ्गा डोकोमा बोकेर वराहक्षेत्रबाट चतराघाटतर्फ लान लागे । ढुङ्गा बोकेर लाने क्रममा चतराघाट पुर्‍याउँदा अकस्मात् भालेहरू अनौठो गरी बास्न थाले । ढुङ्गा चोरी गरेको गाउँलेले थाहा पाउने भए भन्ने ठानेर ती चोरले तामाढुङ्गालाई पहरामा लुकाए ।

लुकाउँदै लुकाउँदै चतराघाट ल्याइपुर्‍याए । घण्टौँसम्म बोकेर ल्याउँदा पनि चतराघाट पार गर्न नसकेपछि चोरले घडी हेरे । रातको दुई बजेको रहेछ । ढुङ्गा अत्यन्तै भारी हुँदै गयो । ती चोरले तामाढुङ्गा बोक्न सकेनन् । जति बोकेर हिँडे पनि चतराघाट कटाउनै सकेनन् । चोर समातिएपछि स्थानीयलाई तिनीहरूले वयान दिए– ढुङ्गामा देउता रहेछ ।

तामाढुङ्गालाई पुनः गाउँलेले वराह मन्दिर परिसरमै स्थापित गरे । वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारी तामाढुङ्गामा अनौठो शक्ति रहेको बताउँछन् । तामाढुङ्गाको पूजाअर्चना गर्नाले र स्पर्शमात्रै गर्नाले धातुबाट लाग्ने रोगव्याधि नलाग्ने विश्वास रहिआएको छ । वैज्ञानिक दृष्टिले पनि तामाको स्पर्श उत्तम रहने पुजारी भण्डारी बताउँछन् ।

तामाढुङ्गा वराहक्षेत्रमा कसरी स्थापित हुन आयो भन्ने विषयमा आध्यात्मिक र ऐतिहासिक दुवै मत पाइन्छन् । ‘मेरा हजुरबा पनि पुजारी नै हुनुहुन्थ्यो । उहाँको भनाइअनुसार विजयपुरका राजाले चढाएको भन्ने सुन्दै आएको थिएँ ।’ पुजारी भण्डारी भन्छन् ।

यस्तो छ तामालुङको इतिहास

सुनसरीको वराहक्षेत्र मन्दिर परिसरमा रहेको करिब ५५ किलो तौलको एउटा अण्डाकार वस्तु सुरक्षित रूपमा राखिएको छ ।
केही वर्ष अघिसम्म मन्दिरको पछाडि पट्टि खाली चौरमा त्यतिकै लडिरहेको त्यो गह्रौं चिज पछिल्लो समय थिन्दोलुङ खो?याहाङ मिङ्श्रा (वंश) का मेन्याङ्बो, आङ्बुहाङ, खिम्दिङ, उसुक, फा?लेछुवा र खो?याहाङ लिम्बूहरूले एउटा सानो पूजास्थल बनाएर फलामको बारले बारेर राखेका छन् ।

यो तामाको ढुङ्गो (तामालुङ) लाई विशेष गरी थोदिङ ताकसाक सावारोहाङपछिका थिन्दोलुङ खो?याहाङका सन्तान मेन्याङ्बो, आङ्बुहाङ, फा?लेछुवा, खिम्दिङ, खो?याहाङ र उसुकहरूले आफ्नो याक्थुङ मुन्धुमी परम्पराअनुसार बर्सेनि पूजाअर्चना गर्दै आएका छन् । खाली चौरमा बाहिर फालिएको अवस्थामा उक्त तामालुङलाई उचाल्ने प्रयास गरिन्थ्यो । अहिले पनि तामालुङ उचालेर आफ्ना मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

तामालुङसँग जोडिएको इतिहासको आधारमा थिन्दोलुङ खो?याहाङ वंशज संघले हालै मात्र संस्कृति तथा पर्यटन मन्त्रालयमा अभौतिक सम्पदा सूचीमा दर्ताका लागि पहल गरिएको संघका अध्यक्ष दिपक मेन्याङ्बोले बताए ।

तामालुङ र थिन्दोलुङ खो?याहाङ वंशसँग जोडिएको इतिहास

थिन्दोलङु खो?याहाङ वंशका सन्ततिहरूले त्यस गह्रौ वस्तुलाई ‘तामालुङ’ भन्ने गरेका छन् । तामालुङ भनेको तामा–ढुङ्गा (तामा जस्तै ढुङ्गा) हो । अरुण–कोशी पूर्वको याक्थुङ लिम्बूको इतिहासको साक्षीको रूपमा त्यो तामालुङ रहेको छ ।

वराहक्षेत्र मन्दिर पछाडिको चौरमा करिब २५० वर्षसम्म खुल्लै लडिरहेको तामालुङसँग मोरङ विजयपुर, सेनकालको विजयपुरको इतिहाससँगै थिन्दोलुङ खो?याहाङ वंशका याक्थुङ लिम्बूको इतिहास जोडिएको छ ।

विभिन्न इतिहासकारहरूका अनुसार थोदिङ ताङ्साक सावारोहाङका वंश थिन्दोलुङ खो?याहाङ याङ्वरक थुमका एक प्रतापी शासक थिए । उनी शासक भएको समयबारे कतिपयले छैटौं–सातौं शताब्दी भनेका छन् त कतिले ११ औं र कतिले १६ औं शताब्दी भनेर दाबी गर्दै आएका छन् ।

थोदिङ ताङ्साक सावारोहाङ प्राचीन याक्थुङ लाजेमा येत्हाङ (आठ राजा) र थिबोङ याक्थुङहाङ (दश राजा) हरू मध्येका एक थिए । उनलाई अधिकांश इतिहासकारहरूले छैटौं शताब्दीका शासक मानेका छन् ।

इतिहासकार इमानसिं चेम्जोङका अनुसार थोदिङ ताङसाक सावारोहाङकै सन्तति थिन्दोलुङ खो?याहाङ वंशका राजा मुहाङ्केप (कतै कतै पुराना कागजपत्रमा युहाङकेत पनि भनिएको) थेचम्बुमा योङ्हाङ वंशका आपुङ्गी राजा ओजाहाङसँगको भिडन्तमा थेचम्बुमै मारिएपछि उनका दुई भाइ छोराहरू लाहाङ र नामहाङ (हाङ्साम) लाई विजयपुरकी रानी थाङ्सामाले आफ्नो बालक भदाहरूलाई आफ्नो दरबारमा ल्याएर पालन पोषण गरेर हुर्काएका थिए । त्यसबेला मोरङ विजयपुरमा कामदत्त सेनले शासन गरिरहेका थिए । आठराई थुमका राजा युहाङ्केपकी बहिनी थाङ्सामको विवाह कामदत्त सेनसँग भएको इतिहासकार चेम्जोङको भनाइ छ ।

मुहाङकेपका चेली राजकुमारी थाङसामा मोरङ विजयपुरका महाराजसँग विवाह भएको मेन्याङ्बो वंशावली, आङबुहाङ वंशावलीदेखि चेम्जोङको लेखोटमा पाइन्छ । मेन्याङ्बो वंशावलीअनुसार मुहाङ्केप थिन्दोलुङ खो?याहाङपछिका १२ औं पुस्तामा पर्छन् ।

तिनै लाहाङ र नामाहाङ राजकुमारहरूले विजयपुरको नजिकैको सर्दू खोला किनारमा खेल्न जाँदा त्यहाँ तामाको मूर्ति भेटे । विजयपुर दरबारमा आई तिनीहरूकी फुपू थाङ्सामालाई मूर्ति भेटेको कुरा सुनाउँदा महाराजधिराज कामदत्त सेनका सामुन्ने यो कुरा राख्न थाङ्सामा रानी पनि डराइन् । कारण महाराजधिराज कामदत्त सेन औधी घमण्डी मिजासका थिए । त्यसो भए तापनि एककान दुईकान हुँदै यो कुरो महाराजधिराज कामदत्त सेनको कानमा पुग्यो । (किरातकालीन विजयपुरको संक्षिप्त इतिहास, चेम्जोङ, पेज ६३)

लाहाङ र नामहाङ दाजुभाइले सर्दू खोला किनारामा तामालुङ भेटिएको बारे इमानसिं चेम्जोङ्ले पुस्तकमा स्रोत भने उल्लेख गरेका छैनन् ।

सर्दू खोलामा भेटिएको तामालुङ मूर्ति दरबारमा ल्याएपछि वराहक्षेत्रस्थित वराह मन्दिरमा राखी कामदत्त सेनले पूजा गरे । त्यसपछि दुवै राजकुमारहरूलाई पहाडी जिल्लाको आठराई थुमको हाङपाङबासीसँग सल्लाह गरी तिनीहरूका राजा तुल्याई त्यहाँ राखे । (किरातकालीन विजयपुरको संक्षिप्त इतिहास, चेम्जोङ, पेज ६३)

इमानसिं चेम्जोङले राजकुमार लाहाङ र नामहाङले सर्दू किनारमा तामालुङ भेटेको र आफ्नी फुपू रानी थाङ्सामालाई जानकारी दिएपछि महाराज कामदत्त सेनले वराहक्षेत्र मन्दिरमा राखेको उल्लेख गरे पनि थिन्दोलुङ खो?याहाङ वंशबाट उपथरीमा छुटिएका आङ्बुहाङ र मेन्याङ्बो वंशावलीको पुस्ता र काल गणना गर्दा मेल खाएको देखिँदैन । वंश पुस्तामा मेल खाएको नदेखिनुमा आजभन्दा १ सय ५० वर्षदेखि २ सय वर्षअघिदेखि मात्र नेपाली काइते अक्षरले नेपाली भाषामा हस्तलिखित वंशावलीहरूका लेखक संकलकहरू फरकफरक भएर त्यस्तो भएको हो भन्न सकिन्छ । ती हस्तलिखित वंशावलीहरू थिन्दोलुङ खो?याहाङकै सन्ततिले लेखे पनि त्यसबेला पूर्वका याक्थुङ समुदायमा नेपाली भाषामा लेख्य परम्परा नभएकाले श्रुति परम्पराको आधारमा पुर्खाको नाम याद गर्दै लेख्दा केही तलमाथि भएको हुनसक्छ । तर अधिकांश पुर्खाका नामहरू भने सिलसिलाबद्ध नै पाइएका छन् ।

हस्तलिखित पुराना वंशावलीहरूमा के लेखिएको छ !

इमानसिं चेम्जोङले लेखेका इतिहासका पुस्तकमा लाहाङ र नामहाङ नाम उल्लेख गरे पनि मेन्याङ्बो र आङ्बुहाङका कतिपय पुराना हस्तलिखित वंशावलीमा नामहाङको नाम थोरै हस्तलिखित वंशावलीमा मात्र उल्लेख पाइन्छ ।

विसं १९३७ साल वैशाख ११ गते बुधबारका दिन सुब्बा जगवीर लिम्बू (मेन्याङ्बो) ले तयार पारेको हस्तलिखित वंशावलीमा याङरुपको फावाखोला, साङ्मागु, थेचम्बुका जेठो सन्तानका वंशावली भनेर उतारिएको छ ।

त्यस वंशावलीमा पहिलो पुस्ताका पुर्खाका नामहरू लेख्दै……………हाङ्लाङ्गेको छोरा दुई भाइ एरोवाहाङ र मुहाङकेप भए । मुहाङ्केपको छोरा तीन भाइ मध्ये फुङहाङ (जसमत्र) आङबुहाङ भएको, जेठा लाहाङ मेन्याङ्बो ……….। (यहा एक भाइको विवरण लेख्न छुटाइएको छ ।)

विसं १९५० साल असारमा थेचम्बु बस्ने बज्रधोज लिम्बू मेन्याङबोले नै तयार पारेको हस्तलिखित वंशावलीमा लेखिएको छ, ‘हाङलाङ्गेको छोरा दुई भाइ मध्ये एक भाइ एरोवाहाङ फालेछुवा भएर चौबिसे (धनकुटा) गए भने एक भाइ मुहाङ्केप थेचम्बुमै बसे । मुहाङ्केपको छोरी थाङ्सामा विजयपुरको मोरोङ राजाले लग्यो । यो वंशावलीले मुहाङकेपको छोरी थाङसामा र विजयपुरको राजाबीच विवाह भएको भन्ने बुझिन्छ ।

विजयपुरको राजासँग थाङ्सामाको विवाह भएको बारे ती हस्तलिखित वंशावलीमा उल्लेख भए पनि विजयपुरको कुन राजासँग थाङ्सामाको विवाह भएको हो त्यो भने हालसम्म भेटिएका हस्तलिखित वंशावलीमा उल्लेख छैन ।

इतिहासकार चेम्जोङले कामदत्त सेनसँग विवाह भएको उल्लेख गरेका छन् । तर मेन्याङ्बो र आङबुहाङले भने पुस्ता र कालगणना गर्दा थाङ्सामाको समय विजयनारायण राय (विस १६४१–१६६६) सँग मेल खाने गरेको दाबी गर्दै आएका छन् ।

सोही वंशावलीमा ‘मुहाङ्केपको छोरा तोहाङ्वा र तोहाङ्वाको छोरा तीन जनामध्ये एक भाइ फुङहाङ आठराई आङबुहाङ भइगयो जसमत्रे पट्टि’ भनेर लेखिएको छ । जेठो लाहाङ (माइला छोराको बारे केही नाम खुलाएको पाइएको छैन ।) थेचम्बुस्थित पोखरी बस्ने बज्रधोज लिम्बू (मेन्याङ्बो) ले वि. सं १९६० चैत १४ गते शनिबार तयार पारेको हस्तलिखित मेन्याङ्बो वंशावलीमा हाङ्लाङ्गेको छोरा तोहाङ्वा, तोहाङ्वाको छोरा दुई भाइ भए ।

ती मध्ये जेठो एरोङ्वा र कान्छो मुहाङकेत (युहाङकेत) मेन्याङ्बो भए । मुहाङ्केतका दुई छोरामध्ये जेठो लाहाङ भए भने कान्छो हाङ्साम् पछि आङ्बुहाङ उपथरीमा परिणत भए ।

‘विस..४०’ सालमा लेखिएको राजवंशावली हो भनेर लेखिएको आङ्बुहाङतर्फको वंशावलीमा मुमुहाङको छोरा तेदेहाङ, तेदेहाङको छोरा जेठो एरोवाहाङ, कान्छा मुहाङ्केपा, मुहाङ्केपाको छोरा तीन भाइ, जेठा लाहाङ मेन्याङ्बो राजा, माइला नमहाङ अपुताली, कान्छा हाङ्सम ।

हाङ्समको छोरा जसमत्रे राई, जसमत्रे राईको छोरा दुइ भाइमा जेठा एङ्वेनहाङ (निङ्लेकुको जिजुबराजु), कान्छा लगेनाहाङ् उल्लेख छ ।

यस्तै मदन पुरस्कार विजेता इतिहासकार, सङ्कलक भगिराज इङ्नामले सङ्कलन गरेको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह (वि.सं १७३३–२०२५ सम्मका)’ मा विस १८७८ को चेतसिं आङ्बुहाङको अर्जिपत्रमा लेखिएको छ, ‘फेउदेन जग्गा जसमत राईले अघि पाउदाको विस्तार……………

‘मोरङका राजा विजयपुर आउँदा तही चाकरी ढोकामा गथ्र्यो । सर्दुखोलामा सिमतांवो पाउदा तेही सिमतांवो राजालाई चढाउदा तेसको सिरपाउ जग्गा दिन्या हो भन्दा उखरखावड जग्गा कहा छ भनि दश लिम्बु …लाई सोधनी हुँदा उखडवाखड जग्गा चाग्या फेउदेन भन्याको छ । त्यस जग्गाको किपोटिया जिमिदार लिमुषां भन्याको मर्‍याे । त्यो जग्गा अपुताली पर्‍याछ भनि मेवा, मैवा, तमरखोला, याङरुप, फेदापको ग्रैर्‍ह राई सुव्वाले राजालाई विन्ति गर्दा त्यो अपुताली पर्‍याकाे जग्गा चारकिल्ला गरी मोहर गरिदिया । सधियार भाईले साधवालाई दिया थ्या । जसमत राईले पाइ खाइ चर्ची व्यहोरी आयाको हो । तहा पछि मकवानी राजा, हिन्दुपती रजायाले मोहर गरि बक्स्या………’

यो अर्जिपत्रका अनुसार सर्दू खोलामा तामालुङ भेट्ने व्यक्ति लाहाङ, नामहाङ नभएर जसमत राय (वंशावलीमा जसमत्रे) भएको देखिन्छ । तर पछिल्लो समयमा आङबुहाङका अग्रज र वंशावलीबारे जानकारहरूले जसमत्रे नै नामहाङ र हाङ्सम भएको दाबी गर्दै आएका छन् ।

आङ्बुहाङ वंशावलीको तयारीमा जुटेका कुमार बाजे आङबुहाङ आफूहरूले आफ्ना बाजेबराजुदेखि नै नामहाङ र हाङसम नै जसमत्रे भनेर सुन्दै आएको बताउँछन् । आङ्बोहाङहरूले नामहाङ्ले सर्दू खोलामा सिंतावो फेला पारेर राजासँग जाहेर गर्दा जसमत्र नाम रहेको मिति नभएको पुरानो वंशावली देखाउँदै आएका छन् । तर चेम्जोङले भने दुई दाजुभाइ लाहाङ र नामहाङले तामालुङ भेटेपछि विजयपुरका राजा कामदत्त सेनले वराहक्षेत्र मन्दिरमा स्थापना गरेको उल्लेख गरेको लेखिदिएकाले थप खोजी गर्नुपर्ने भएको छ ।

सँगैले भेटेको विषयमा भाइलाई मात्र जसमत नाम पाउनु र जग्गा बक्सिस पाउनु तर दाजुले नाम पनि नपाउनु जग्गा पनि नपाउनु कसरी भयो ? यस विषयमा वंशावली बोल्दैन ।

विभिन्न कागज र वंशावली विश्लेषण गर्दा र माथिका लेखोटहरूअनुसार चेम्जोङ्ले भने जस्तो तामालुङ लाहाङ र नामहाङ दाजु भाइले फेला नपारेर जसमतले फेला पारेको भन्नु पर्ने हुन्छ ।

मेन्याङ्बो वंशावलीलगायत कतिपय हस्तलिखित वंशावलीमा थाङ्सामालाई युहाङकेपको छोरी भनिएको छ । यो पुस्ता गणना गर्दा लाहाङ, नामहाङ (जसमत्रे) चेम्जोङले भनेजस्तो थाङ्सामाको भदै नभएर दाजु वा भाइ र मुहाङ्केपको नाति नभएर छोराहरू ठहरिन पुग्छ । यहाँ कि त सुनेर लेख्ने र इतिहास सङ्कलन गर्ने चेम्जोङले गलत सुनेर र गलत लेख्न पुगे या त हस्तलिखित वंशावली गलत भन्नु पर्ने हुन्छ ।

वंशावली सम्बन्धी खोजिनीति गरिरहेका ताजुब फा?लेछुवा लिम्बू र चोत्लुङ मेन्याङ्बो लिम्बूको तर्क अलिक फरक छ । उनीहरूका अनुसार मेन्याङ्बो र आङबुहाङका हस्तलिखित वंशावलीको अध्ययनहरू गर्दा यदि मुहाङ्केपकी छोरी थाङ्सामालाई मान्दा र मुहाङकेपका छोरा तीन भाइ लाहाङ, नामहाङ र हाङ्साम मान्ने हो भने हाङ्समको छोरा जसमत (जसमत्रे–जसमत राई) हुँदा मात्र थाङ्सामाको भदै हुन आउँछ ।

तर कुमारबाजे आङ्बुहाङ यो तर्क मान्न तयार छैनन् । उनको तर्क छ, ‘आङबुहाङको जुजुबराजु पुर्खा नामहाङ नै हाङ्सम र जसमत्रे हुन् । हामीसँग पुराना डकुमेन्ट तिनै छन् ।’

वि.सं. १९५० मा बज्रधोज लिम्बूले तयार गरेको वंशावलीअनुसार मुहाङ्केपको छोरी थाङ्सामा, छोरा तोहाङ्वा, तोहाङ्वाको छोरा फुङहाङ आङ्बुहाङ जसमत्रे पट्टि भनेर उल्लेख छ । यसअनुसार फुङहाङको छोरा जसमत मान्दा थाङ्सामा र जसमतको साइनो बोजु नाति हुनपुग्छ ।

यो तर्कले विजयपुर दरबारमा बोजु थाङ्सामाले दुई नातिहरू लाहाङ र नाम्बाहाङ (हाङसम जसमत) लाई ल्याएको भन्ने हुन्छ । आङ्बुहाङतर्फको राजवंशावली ….४० अनुसार तेदेहाङको छोरा मुहाङ्केप, मुहाङकेपको तीन छोरा लाहाङ, नामहाङ र हाङ्सम उल्लेख छ ।

नामहाङ अपुताली भएको र हाङ्सामको छोरा जसमत्रे (जसमत राई) उल्लेख छ । यो लेखोटअनुसार मुहाङ्केपकी छोरी थाङ्सामा भएको आधारमा जसमत्र चाहिँ थाङ्सामाको भदै हुन पुग्छ ।

वि.सं. १९३७ को पुरानो हस्तलिखित वंशावलीमा हाङ्लाङ्गेको छोरा दुई भाइ एरोवाहाङ र मुहाङकेप । ‘मुहाङ्केपको छोरा तीन भाइमध्ये फुङहाङ आङबुहाङ भइगए जसमत्र पट्टि’ भन्ने लेखिनुले फुङहाङ वा हाङसमको छोरा जसमत्रे देखिन आउँछ ।

यस्तै कुनै हस्तलिखित वंशावलीमा तेदेहाङको छोरा युहाङ्केप लेखिएको छ भने कुनैमा युहाङ्केपको छोरा तेदेहाङ लेखिएको छ । यस सवालको जवाफ पनि खोज्नुपर्ने देखिएको छ ।

ताजुब फा?लेछुवाकाअनुसार सर्दू खोलामा तामालुङ फेला पार्ने सवालमा दाजु भाइ लाहाङ र नामहाङ (कतैकतै नाम्बहाङ) ले नै पाएको हुनुपर्छ । तर पछि विजयपुरका महाराजालाई जाहेर गर्दा नामहाङले मात्र जस लिएको हुन सक्छ । त्यसैले तिनको नाम जसमत राय (जसमत्रे) भएको हुनसक्छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ८ : ३४ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी