धराली गाउँ ३४ सेकेन्डमै तहसनहस, चार जनाको शव भेटियो, भारतीय सेनाका १० सहित ५० बढी अझै बेपत्ता « Khabarhub

धराली गाउँ ३४ सेकेन्डमै तहसनहस, चार जनाको शव भेटियो, भारतीय सेनाका १० सहित ५० बढी अझै बेपत्ता


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

उत्तराखण्ड- उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धराली गाउँमा मंगलबार दिउँसो करिब आएको भीषण बाढीमा परेर हालसम्म ४ जनाको मृत्यु पुष्टि भएको छ।

बुधबार बिहान खोज तथा उद्धार कार्यका क्रममा थप एकजनाको शव फेला परेको छ । शवको पहिचान प्रक्रिया जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बाढीपछि ५० जना भन्दा बढी मानिस अझै बेपत्ता छन् । अहिलेसम्म १३० भन्दा बढीलाई उद्धार गरिएको छ। उद्धार कार्यमा एसडीआरएफ, एनडीआरएफ, आईटीबीपी र भारतीय सेनाको टोली खटिएको छ।

बुधबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीसँग टेलिफोन वार्ता गरे।

त्यसपछि मुख्यमन्त्री धामीले हेलिकप्टरबाट धराली र अन्य प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन् । उनले उद्धार कार्यबारे अधिकारीहरूसँग बैठक गरेका।

३४ सेकेन्डमै सम्पूर्ण बर्बादी

गंगोत्री तीर्थ मार्गमा पर्ने प्रमुख बस्ती धराली गाउँको बजार, होटल, घरखेत सबै पहिरोले बगाएको छ। खीरगंगा नदीमा पहाडबाट आएको भीषण लेदोसहितको बाढीले यो विनाश निम्त्याएको हो। यो बर्बादी केवल ३४ सेकेन्डमै भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। हर्षिल क्षेत्रमा खटिएका भारतीय सेनाका ८–१० जवानसमेत बेपत्ता छन्।

धराली : १० वर्षमा तेस्रो पटक विनाश

धराली गाउँ ४ हजार मिटरमाथिको ट्रान्स-हिमालय क्षेत्रमा पर्ने मेन सेन्ट्रल थ्रस्ट (मुख्य हिमालय र ट्रान्स हिमालयको जक्सन) मा अवस्थित छ। यो क्षेत्र भूकम्पका दृष्टिले अतिसंवेदनशील मानिन्छ।

यसअघि पनि सन् १८६४, सन् २०१३ र सन् २०१४ मा यही क्षेत्रमा भीषण बाढी आएको थियो । ती सबै घटनापछि भूगर्भ वैज्ञानिकहरूले धराली गाउँलाई सुरक्षित स्थानमा सार्न सुझाव दिएका थिए। वैज्ञानिकहरूका अनुसार धराली एउटा ‘टाइम बम’माथि बसेको गाउँ हो।

६ महिनाअघि पनि खीर नदीमा पहाडको एक भाग भासिएको थियो, जुन हालसम्म अड्किएको थियो। सम्भवतः यसपटक त्यही भाग खस्नाले यो बर्बादी निम्तिएको हो।

यस बिपद्मा धरालीस्थित १५०० वर्ष पुरानो कल्पकेदार महादेव मन्दिरसमेत पुरिएको छ। यो मन्दिर पञ्चकेदार परम्परासँग सम्बन्धित ऐतिहासिक र धार्मिक महत्वको केन्द्र थियो। भागीरथी नदी किनारमा अवस्थित यो मन्दिर स्थानीयहरूको गहिरो आस्थाको प्रतीक मानिन्थ्यो।

उत्तराखण्डको उत्तरकाशी जिल्लामा अवस्थित धराली गाउँ गंगोत्री धामबाट जम्मा १८ किमी टाढा रहेको एक प्रमुख तीर्थ यात्रु विश्राम स्थल हो।

भागीरथी नदी किनारमा, हर्षिल उपत्यकाको छेउमा रहेको यो सानो पहाडी गाउँ गंगोत्री तीर्थ यात्राको अन्तिम ठूलो बस्ती मानिन्छ । जहाँ यात्रुहरू उकालो लाग्नुअगाडि विश्राम, भोजन र आवासको व्यवस्था गर्छन्।

देहरादूनबाट २१८ किमी टाढा रहेको यो गाउँमा मंगलबार दिउँसो आएको भीषण बाढीको घटनाले सम्पूर्ण क्षेत्र तहस-नहस बनाएको छ। अहिले पनि त्यहाँ कति मानिस थिए भन्ने यकिन विवरण आइसकेको छैन। प्रशासनका अनुसार क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।

घटनाका थुप्रै भिडियोहरू सार्वजनिक भएका छन्, जसमा मानिसहरू ज्यान जोगाउन भाग्दै गरेको देखिन्छ। चारैतिर चिच्याहट र त्रासदीको अवस्था देखिएको छ। भिडियो खिचिरहेका मानिसहरूले टाढा रहेर पनि चिच्याउँदै अरूलाई सतर्क रहन आग्रह गरेका छन्।

घटनापछि धराली गाउँमा करिब ३० फिटसम्म लेदो जमेको पुष्टि भएको छ। बजारका धेरै पसल र घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १ : ०१ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन