काठमाडौं – एक्शन सुपरस्टार ज्याकी च्यानले आधुनिक हलिउड फिल्मको गुणस्तरमा गिरावट आएको बताएका छन्।
स्विट्जरल्याण्डमा सम्पन्न लोकार्नो फिल्म फेस्टिभलको ७८ औं संस्करणमा क्यारियर लेपर्ड अवार्ड प्राप्त गर्दै उनले यो विषयमा आफ्नो विचार राखेका थिए।
ज्याकीले भने, “पुराना फिल्महरू आजका भन्दा राम्रो थिए। अहिले ठूला स्टुडियोहरू फिल्म बनाउने भन्दा बढी पैसा कमाउने कुरामा ध्यान दिन्छन्। उनीहरूले करोडौं लगानी गरेर कसरी फिर्ता पाउने भन्ने सोचमा हुन्छन्। यसले सिर्जनात्मकतालाई असर पुर्याएको छ र राम्रो फिल्म बनाउनु चुनौतीपूर्ण बनेको छ।”
ज्याकी च्यानको करियर ७० को दशकमा हङकङबाट सुरु भएको थियो। उनी पहिले पृष्ठभूमि कलाकार थिए र पछि मुख्य कलाकार बने। ८० को दशकमा उनी चिनियाँ सिनेमा क्षेत्रमा एक्शन कमेडी विधाका चर्चित कलाकार बने। त्यसपछि उनले हलिउडमा ‘रम्बल इन द ब्रोंक्स’, ‘रश आवर’, र ‘शाङ्घाई नून’ जस्ता सफल फिल्म दिएका छन्।
उनका फिल्महरूले विश्वभर करिब ६ अर्ब डलरभन्दा बढी आम्दानी गरेका छन्। उनले धेरै जोखिमपूर्ण स्टन्ट आफैं गरेका छन्, जसले उनलाई विश्वकै एक चर्चित मार्शल आर्टिस्ट र कलाकार बनाएको छ।
ज्याकी च्यानले आफ्नो अनुभवसहित नयाँ पुस्तालाई पनि उद्योगमा सिर्जनशीलता र जोखिम लिन प्रोत्साहित गरेका छन्। उनको यो अभिव्यक्तिले फिल्म उद्योगमा व्यवसाय र कला बीचको सन्तुलन आवश्यक रहेको विषयलाई पुनः उजागर गरेको छ।
प्रतिक्रिया